arrow

क्रिसमस पर्व, धन्यवाद दिवस र अमेरिकी–नेपाली हिन्दूहरुमा यसको प्रभाव

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ पुष १० आइतबार
rajendra-panthi-article-60.jpg

आज क्रिश्चियन धर्मको महान् पर्व क्रिसमस भव्य रुपमा मनाइँदै छ । क्रिश्चियन धर्मका प्रणेता येशु खृष्टको जन्मदिनको उपलक्ष्यमा क्रिसमस पर्व मनाइन्छ । संसारका हरेक देशमा आ–आफ्नै संस्कार,परम्परा र संस्कृति छन् । संस्कार र संस्कृति भनेका कुनै पनि देश वा धर्मका मौलिक पहिचान हुन् । यस्ता पहिचानहरु स्वतः महत्त्वपूर्ण हुन्छन् । मौलिकता भनेका हाम्रा राम्रा तर अर्कोका नराम्रा भन्ने हुँदैनन् । 

आफूलाई राम्रो लाग्छ भने आफ्नो परम्परामा बिचलित नभई अनुशरण गर्न पनि सकिन्छ । मन लागेन भने घृणा चाहिँ गर्नु हुँदैन । किनकि सबैका संस्कारका आ–आफ्नै महत्त्व छन् । नेपालमा कार्तिक मंसिरमा जे जसरी ठूला पर्व दशैँ र तिहार मनाइन्छ त्यस्तै अमेरिकामा पनि नोभेम्बर र डिसेम्बरमा ठूल्ठूला पर्वहरु मनाउँछन् । यही क्रममा अमेरिकामा नोभेम्बर महिनाको चौथो बिहीवार धन्यवाद दिवस र डिसेम्बर २५ मा क्रिसमस पर्व भव्य रुपमा मनाइन्छ ।

अमेरिकामा अत्यधिक प्रचलित शब्दहरु Hello, Hi, How are you,Thank you हुन् । अमेरिकामा बाटोघाटो, पसल, कार्यालय जहाँ पनि चिने नचिनेको मानिसलाई देख्दा बित्तिकै अनिवार्य रुपमा हेल्लो अथवा हाइ भन्नु पर्ने संस्कार रहेको छ । यदि बोलिएन भने असभ्य मानिन्छ । यसैमा Thank you अर्थात् धन्यवाद हरेक क्षण प्रयोगमा आउँछ । धन्यवाद शब्दको अर्थ कसैले आफूलाई कुनै उपकार, सहयोग गर्दा प्रकट गरिने कृतज्ञता हो । 

अमेरिकामा धन्यवादलाई धन्यवाद दिवसको रुपमा भव्य रुपमा मनाउने प्रचलन छ । यस दिनलाई सन् १८६३ देखि राष्ट्रिय बिदा दिने चलन छ । यो पर्वको शुरुआत कसरी भयो भन्ने बारेमा विभिन्न किम्बदन्ती रहेका छन् । खासगरी बाली भित्र्याउने विशेष दिनको रुपमा यसलाई मानिन्छ । 

मानिसको मुख्य खानेकुरा कृषिबाली प्रकृतिले दिएको हुनाले प्रकृतिलाई आभार र कृतज्ञता प्रकट गर्दै पूजा गरी धन्यवाद दिने प्रचलनबाट धन्यवाद दिनको शुरुआत भएको मानिन्छ । त्यस्तै यही दिन सन् १६२१ मा युरोपबाट समुद्री माध्यमबाट महिनौं लगाएर अमेरिका आएका आप्रवासीहरु प्लेमाउथ कोलोनिष्ट र अमेरिकाका आदिवासीको तर्फ वाम्पानोएग जातिहरु दुई पक्षका करिब १४३ जना अमेरिकाको म्यासाचुसेटमा एक बाली भित्र्याउने दिनकै दिन आप्रवासीलाई स्वागत गरी विभिन्न परिकारहरु बनाई खान दिएपछि उनीहरुलाई जाडोबाट बच्ने उपायसमेत बताइदिएर अत्यन्तै खुशी भई कृतज्ञता र आभार सहित आप्रवासीले धन्यवाद दिएका रहेछन् । त्यसै दिनदेखि हरेक वर्ष धन्यवाद दिवस मनाउन थालिएको पाइन्छ ।

बाली भित्र्याउने विशेष दिन र आदिवासीले आप्रवासीलाई स्वागत गरी मिठोमिठो परिकार खान दिएको दिनको रुपमा यस धन्यवाद दिवसलाई अहिले भव्य रुपमा मनाइन्छ । यस दिन खासगरी सबै परिवार, आफन्त, साथीभाइहरु जमघट भई घरमा वा रेस्टुराँमा टर्कीको मासु, उसिनेको हरियो सिमी, आलु, स्याउ र फर्सीका विभिन्न परिकार र अन्य फलफूल खाने र रमाइलो गर्ने अनि एक अर्कोमा धन्यवाद साटासाट गरिन्छ ।

अमेरिकामा धन्यवाद दिवसको अर्को दिन कालो शुक्रबारको रुपमा लिइन्छ । यस दिनलाई व्यावसायिक र व्यापारिक पर्वसँग जोडिएको छ । यस दिन अमेरिकामा अत्यधिक किनबेच हुने दिनको रुपमा चिनिन्छ । यस दिन ठूलाठूला कम्पनी अमेजन, मेसी, वालमार्ट, टार्गेट आदिले थुप्रै अफर र छुट दिएका हुन्छन् । 

बिहीबार, शुक्रबार, शनिबार र आइतबार लगातार चार दिन लामो सरकारी बिदा हुने हुनाले अमेरिकाका कृश्चियनको महान् पर्व डिसेम्बर २५ तारिखमा मनाइने क्रिसमस पूर्व आफूलाई र घरमा चाहिने आवश्यक सामग्री जुटाउने गरिन्छ ।

क्रिसमस क्रिश्चियन धर्मको सबैभन्दा ठूलो र महान् पर्व हो । क्रिश्चियन धर्म प्रवर्तक जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा मनाइने यो पर्व धूमधामसँग मनाइन्छ । जिससलाई येशु क्रिष्ट पनि भनिन्छ । येशुको जन्म इसाको चौथो शताब्दीमा भएको मानिन्छ । डिसेम्बर २५ मा मनाइने यस पर्वमा घर सजाउने, उपहार आदानप्रदान गर्ने, गीत गाउने, रमाइलो गर्ने, विशेष परिकारहरु बनाएर खाने, चर्चमा प्राथना गर्नु, घरको आँगनमा क्रिसमसको रुख लगाउने जस्ता कार्य गरिन्छ । 

विश्वको जनसंख्याको करिब २.५४ बिलियनले क्रिश्चियन धर्म मान्छन् भने अमेरिकामा करिब ७० प्रतिशत क्रिश्चियन छन् । अमेरिकामा डिसेम्बर २५ मा धुमधामका साथ मनाउने यस पर्वमा अमेरिकी–हिन्दू–नेपालीहरु पनि स्वभाविक रुपमा प्रभावित हुन्छन् ।

अमेरिका आप्रवासी मुलुक हुनाले यहाँ संसारका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ । यहाँ क्रिश्चियन, मुस्लिम, बुद्धिष्ट, हिन्दू आदि धर्म मान्ने समुदायहरु छन् । यस्तो विविध जात, धर्म, परम्परा भएको मुलुकमा एउटा धर्मको प्रभाव अर्कोमा पर्नु स्वभाविक नै हो । ७० प्रतिशतले क्रिष्चियन धर्म मान्ने मुलुकमा सबैभन्दा ठूलो पर्व मनाउँदा अन्य धर्म मान्नेलाई पनि प्रभाव परेको देखिन्छ । क्रिष्चियनले जस्तै घर सजाउने, उपहार साटासाटा गर्ने, आफन्त, इष्टमित्र र साथीभाइलाई निमन्त्रणा गर्ने र विभिन्न परिकार बनाएर खान दिने चलन हिन्दूहरुमा पनि पाइन्छ । यस पर्वमा सार्वजनिक बिदा हुने हुनाले घुमफिर गर्ने गरेको पाइन्छ ।

यस्तो परम्परा हिन्दूहरुले क्रिश्चियनको अनुशरण गरेको भन्दा कतै हिन्दूहरु नै क्रिश्चियन भए कि भन्ने लाग्न सक्छ । तर त्यस्तो होइन । एउटै समाजमा विभिन्न धर्म मान्ने मानिस बसेपछि एउटा धर्मका विशेषता अर्कोलाई प्रभाव पर्नुलाई अन्यथा मान्नु पर्दैन जस्तो लाग्छ । चर्चमा जाने, प्राथना गर्ने, येशुको जन्म मनाउने आदि कार्यहरु हिन्दूहरु गर्दैनन् । 

विद्यालयमा साना साना बालबच्चालाई भने क्रिश्चियन धर्मको बारेमा जानकारी गराएको पाइन्छ । उनीहरुलाई खासगरी क्रिश्चियन सेन्टाक्लसको दन्त्यकथामा रहेका क्रियाकलाप बताइन्छ । यसरी स्कुले बालबच्चाले क्रिसमस रुख, गिफ्ट आदिसँग सम्बन्धित घटना राम्रोसँग जानकारी गरेका हुन्छन् ।

हिन्दू र क्रिश्चियन धर्मका केही समानता हुनाले क्रिसमस मान्दा हिन्दूलाई क्रिश्चियन नै हुनुपर्ने अवस्था पर्दैन । अदृश्य परमेश्वर, गरिब, दीनदुःखीलाई दान दिने चलन, गीतहरु गाउने, नाच्ने, आफन्त बोलाउने, विशेष परिकार बनाउने, खाने र रमाइलो गरिने अवस्थालाई क्रिश्चियन बन्नुपर्ने होइन । नेपालीहरुमा हिन्दू धर्मप्रति आस्था राख्दा राख्दै पनि केही सामान्य प्रभाव परेको देखिन्छ । 

जे होस् अमेरिकी–नेपाली हिन्दूहरुमा क्रिसमसको पक्षमा अन्धभक्त र अन्धानुकरण देखिँदैन । (लेखक अमेरिकाको भर्जिनियामा कर्मरत छन्)
 



नयाँ