arrow

भूराजनीति र दक्षिण एसियामा बीआरआई: यसो भन्छन् दुई पूर्व परराष्ट्रमन्त्री [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
pradeep-gyawali-prakash-sharan-mahat-bri-geopolitics-bri-nepal.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीनसँग बेल्ट एण्ड रोज इनिसिएटिभ (बीआरआई) अन्तर्गत खुला व्यापार सम्झौता अथवा फ्री ट्रेड एग्रिमेन्ट गर्न नसकिने बताएका छन् । नेपालले डा. महत नै परराष्ट्र मन्त्री रहँदा सन् २०१७ को मे १२ मा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो ।

डा. महतले आफ्नै नेतृत्वमा त्यतिबेला बीरआरआई सम्झौतामा हस्ताक्षर भएको स्मरण गराउँदै यसमा धेरै सोचविचार गरेर हस्ताक्षर गरेको बताए । उनले भने, 'यो बीआरआई वास्तवमा म नै विदेशमन्त्री हुँदाखेरी एमओयू साइन भाको हो । त्यतिबेला यसलाई किन तत्कालै हस्ताक्षर नगर्ने भनेर प्रश्न उठेको थियो ।'

गत शुक्रबार काठमाडौंमा सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ) ले 'जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया' शीर्षकमा आयोजना गरेको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै उनले यस्तो भनेका हुन् ।

उनले बीआरआईमा तत्कालै हस्ताक्षर नगरेकोमा आफूमाथि प्रश्न उठेकोसमेत बताएका छन् । डा. महतले अघि भने, 'त्यसमा के विषय छ, के प्रस्ताव आएको छ, त्यो नै नबुझिकन किन हत्तनपत्त सही नगरेको विदेशमन्त्रीले खल्तीमा हालेर बसेको छ भनेर आरोप लागे । मैले के भनेँ भने यसमा त तपाईले बोल्नु पर्ने कुनै पनि चाहे त्यो अमेरिकाको होस्, भारतको होस्, त्यसमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर गरिरहनु भएको छ या छैन, यो प्रश्न चाहिँ तपाईहरुले गर्नुपर्छ ।'

डा. महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीका कयौं बुँदाहरुमा नेपालको हितलाई सुनिश्चित गरेर मात्रै हस्ताक्षर गरेको बताएका छन् । चिनियाँ मुद्राको प्रयोगलगायतका धेरै कुराहरुमा छलफल गरेर नेपालको हितमा सुनिश्चित गरेर मात्रै हस्ताक्षर गरेको उनले बताए ।

राजनीतिक रुपमा सहमति भए पनि व्यवहारिक रुपमा लागु गर्ने धेरै अध्ययन, छलफलको पाटो अघि बढ्नु पर्ने र यसमा यथेष्ट काम हुन नसकेको उनले बताए । जुनसुकै योजना भए पनि त्यो प्रस्ताव हाम्रो हितमा छ कि छैन भनेर हामीले आफैँले निक्र्यौल गर्ने र सो अनुसार अघि बढाउनु पर्ने उनले बताए ।

बीआरआई अघि नबढेको यस विषयमा अझै धेरै छलफल, अध्ययन गरी नेपालको हितलाई ध्यानमा राख्नु पर्ने डा. महतको भनाइ छ।

यस्तै सेमिनारमा नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वका कयौं अल्पविकसित देशहरु अहिले ग्लोबलाइजेसनको ढाँचामा पछि परेको बताएका छन् । उनले यस्तो अवस्थामा कुनै इनिसिएटिभहरुले त्यसको खाँचो ल्याउँछन् भने यसलाई स्वीकार्नु पर्ने बताएका छन् ।

यस्तै उनले विश्वको अर्थतन्त्रहरुसँग जोडिएरै मात्र कुनै पनि देशले विकास गर्न सक्ने बताएका छन् । 'अहिलेको समयमा कुनै पनि देशले आफूलाई विश्व अर्थतन्त्रको डाइनामिजमसँग वहावसँग आफूलाई जोड्न सकेन भने आइसोलेसनमा उसले विकास गर्न सक्दैन ।'

'स्वभाविक रुपमा त्यसरी जोडिँदा चुनौतीहरु आउँछन्, ती चुनौतीहरुलाई चाहिँ कसरी सामना गर्ने भन्ने कुरा देशका नीति निमार्ताहरुको क्षमतामा भर पर्छ । तर विश्वअर्थतन्त्रसँग जोडिएरै कुनै पनि देशले आफूलाई अगाडि बढाउन सक्छ । त्यसअर्थमा बीआरआईले नयाँ परिदृष्य दिन्छ,' पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

ज्ञवालीले नेपाल भुपरिवेष्ठित राष्ट्र भएका कारण नेपालले कुनै पनि समानका लागि अन्य देश भन्दा २० प्रतिशत बढी मूल्य चुकाउने गरेको बताएका छन् ।

'कुनै पनि समान नेपालले बनाएर विश्वबजारमा लैजाने हो भने श्रीलंका या बंगलादेशले उत्पादन गरे भन्दा २० प्रतिशत महँगो पर्न जान्छ,' भन्दै उनले त्यसैले यस्ता कनेक्टिभिटिमा नजोडिए आइसोलेसनमा विकास गर्न नसकिने बताए ।

बीआरआई भित्रका योजनाहरुमा अझै थप अध्ययन र छलफल भएर मात्रै अघि बढाउनु पर्ने पूर्व परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

हेर्नुहोस् बाँकी भिडियोमा:

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ