arrow

सभामुखको आरोपले सिंगो पत्रकारिता मर्माहित, आत्मसम्मानमा गम्भीर चोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
devraj-ghimire-speaker-agreesion.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ । 

शुक्रबार संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रम लिएर गएको महासंघको टोलीलाई घिमिरेले आरोप लगाएर पठाएका थिए । 

प्रेस विज्ञप्ति जारी गर्दै महासंघले गम्भीर आपत्ति प्रकट गरेको हो । महासंघले ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादा विपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ’ भनेको छ । 

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुख सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको जनाएको छ । तर सचिवालयबाट सामान्य प्रष्टीकरण बाहेक उनको आधिकारिक धारणा आउन नसकेको जनाएको छ । 

महासंघले समामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनी लगायतका अन्य दवाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने पनि जनाएको छ ।  

सभामुखले लगाएको आरोपछि सिंगो सञ्चार जगत नै मर्माहित भएको छ । विभिन्न सञ्चारका संघ, संस्थाहरुले सभामुखको भनाइको चर्को विरोध गरेका छन् । 

नेपाल प्रेस युनियनलेसमेत गम्भीर आपत्ति जनाएको छ । 

उनले महासंघको टोलीलाई भनेका थिए, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो अन्यथा नलिनु होला है महासंघ हो त्यो खालको छैन । पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो तरिकाले छ जे जति कारणले भए पनि । तिनीहरु प्रभावित छन् । अझ अर्को भन्ने हो भनेदेखि त बिक्रीमा छन् पत्रकारहरु । अब पत्रकारहरु बिक्रीमा छन्, संघ बिक्रीमा छ भनेर भन्यो सभामुखले भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र त्यो भन्नु पनि हुँदैन तपाईहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुराहरु हो नि । त्यसको प्रभाव चाहिँ कुनै न कुनै रुपबाट परिरहेको छ । बिग हाउसेसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढङ्गबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध बनाएर लाने हो । चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् । चाहे कार्यान्वयन गर्दा यहाँहरुले भन्नुभो बिनियमहरु बनाउने अथवा नियमावलीहरु बनाउने, नियमावलीलाई तल कार्यान्वयन गर्ने सन्दर्भमा यी जस्ता समस्याहरुलाई कसरी हल गर्ने यो चाहिँ अलि समस्या हो । यो समस्याको समाधान तपाई हाम्रो कर्तव्य हो जस्तो मलाई लाग्छ । र, यल्लाई हामीले हल गरेर गयौं भने मैले अलि बढी देखेर अलि पूर्वाग्रही भएर मैले तपाईहरुलाई अभिव्यक्ति गरिरहेको रहेछु भने म करेक्सन हुनु जरुरी छ । होइन अब त्यस्तो छ भने पत्रकारहरुले पनि आफूलाई त्यो ढङ्गबाट कसरी अगाडि लाने त ? यो प्रभावबाट हामी कसरी मुक्त हुने त ? अथवा यो के हो त अन्तरविरोध भन्न जरुरी छ भन्ने मलाई लाग्छ । यी मैले भनेँ हाम्रा समस्याहरु हुन् । तर अब राज्यले कुनै पनि ऐन कानूनहरु ल्याउँदा खेरी त्यो लुकेर, छिपेर पास गरेर एकैचोटी लिएर आउनु पर्ने त हैन नि ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ