- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको राजनीतिमा कहिले नाटक मञ्चन हुन्छन्, कहिले नौटङ्की प्रदर्शन हुन्छन् भने कहिले गाईजात्रा देखाइन्छ । यी प्रदर्शन प्रायः शीर्षस्थ भनिने नेताहरुबाट नै भएको हुन्छ । यी राजनीतिका नाटक र नौटङ्कीका प्रहसन र प्रदर्शनीहरू भनेका देशलाई लुट्ने र जनतालाई भ्रममा पारी सत्ता कब्जा गर्ने खेलका रुपमा देखा परेका छन् ।
नेपाली राजनीतिमा नाटक भन्दा पनि नौटङ्की र गाईजात्रा नै ज्यादा देखाइन्छ । नेपालको राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा सत्य सावित गराइएको छ, देशको चरम राजनीतिक विकृतिलाई अब कतै लुकाएर लुक्नेवाला नै छैन । अबको विकल्प भनेकै विकृत राजनीतिलाई मिल्काउने नै हो ।
आज देश कहाँ छ र के भइरहेको छ भन्ने कुरा यहाँका जिम्मेवार राजनीतिक दल र नेतालाई कुनै चासो नै छैन । उनीहरू वर्षौंदेखि सत्ताको लुछाचुँडी र सत्ता कब्जाको खेलमा नै रमाएका छन् । देशलाई लुछेर र बिल्ला लगाएर संघ, प्रदेश र स्थानीयका नाममा टुक्राटुक्रा पारेका छन् । र भुरे टाकुरे राज्यका राजा जस्तै बनेका छन् ।
आज देशको विकास र समृद्धि भन्ने कुरा कुन चरीको नाम हो भन्ने भैसक्यो । देशमा के भएको छ भन्नु भन्दा पनि अब त के भएको छैन र भन्ने अवस्थामा पुगेको छ । आज देश अगाडि जाला भन्दा झन् पछाडि धकेलिएर पूर्व राजाहरूको समूह जाग्दै छ ।
बैंकको आफ्नो अर्बौंको ऋण तिर्न नपरे हुँदो हो भनेर सोझा नागरिक उचालेर मेडिकल व्यवसायी दुर्गा प्रसाईं जस्तो ठग प्रवृत्ति आक्रोशात्मक शैलीमा सडकमा आएको छ । संसदमा र मन्त्रीपरिषदमा समेत अब राजासहितको प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनिरहँदा आफूलाई गणतन्त्रका नायक भनाउँदाहरू लाचार भएर खिसिट्युरि गर्दै बसेका छन् ।
आज यो देश किन यस अवस्थामा पुग्यो भनेर कुनै बहस र आत्मसमीक्षा नै भएको छैन । देशका जिम्मेवार नेतृत्व भनिने शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डहरू पूर्ण असफल सावित भएका छन् । उनीहरू देशलाई थप असफलता र अस्थिरतातिर नै धकेल्ने प्रयास गर्दै छन् ।
यी र यस्ता लाचार असफल नेतृत्व र राजनीतिक पार्टीबाट जनताहरू वाक्कदिक्क र निराश भएर राजनीतिक विकल्प खोजिरहेका पनि छन् तर उपयुक्त विकल्प पाउन सकेका छैनन् । नेपाली जनताको न समात्ने डालो छ त न टेक्ने हाँगो । यसैले आज राजनीतिमा देखिएका दुर्गा प्रसाईंजस्ता ठग प्रवृत्तिका पात्रहरू कतै विकल्प पो हुन सक्छन् कि भन्नु स्वभाविकै पनि हो । यदि उनको विचार र कार्यमा स्वच्छता छ भने जनताको साथ नपाउलान् भन्न पनि सकिन्न । उनी सफल हुन पनि सक्छन् ।
तर दुर्गा प्रसाईं प्रवृत्ति हावी भयो भने नेपालको गणतन्त्र पनि असफल भयो भनेर भन्दा फरक पर्दैन । विधिको शासन मृत्यु शैयामा जाँदैछ भन्दा फरक पर्दैन । उनको ठगी दुनियाँलाई थाहा छ । तर जो साँच्चिकै बैंकिङ क्षेत्रबाट पीडित छन् उनीहरुलाई साथमा लिएर प्रसाईं हावी हुन खोजिरहेका छन् । पीडितको पीडाको नसामा समातेर उनले राजनीीत गरिरहेका छन् । त्यो बाहिरी सडकमा हेर्दा दमदार देखिन्छ ।
देशमा बहुदलीय प्रजातन्त्रको पुनः बहाली भएपछि त केही त होला भन्दाभन्दै एउटा युग नै सकिन थाल्यो । अहिलेको नवपुस्ता अब यो देशमा केही हुन्न भन्ने निचोडमा पुगेर धमाधम दूधेओठमै विदेश पलायन हुँदैछन् । केही वर्ष पहिले स्नातक गरेर विदेश जानेको लाइन थियोे भने अहिले हाइस्कुल अर्थात् कक्षा १२ उत्तीर्ण गर्दा साथै बाहिर जानेको घुइँचो छ ।
अहिले त विद्यार्थीहरू कक्षा दशमा पढ्दादेखि नै बाहिर जाने सोच बनाएर बसेका देखिन्छन् । सबैको मुखबाट एउटै बोली आएको हुन्छ यस्तो देशमा बसेर के गर्ने ? बरु विदेश गए त दुई छाक राम्रोसँग खान पाइएला । आज बैंक र वित्तीय संस्थाको मनपरि र एकाधिकारले गर्दा बैंक मोटाउने सर्वसाधारण सकिने अवस्थामा पुगेको देखिन्छ ।
तर बैंकलाई यो स्थितिमा पुर्याउने पनि यही दुर्गा प्रसाईं प्रवृत्ति नै हो । बैंकले व्यवस्थित गरेर कम्तीमा ब्याज दिएको छ । बैंक तथा वित्तीय संस्था नहुँदा हिजोका दिनमा सयकडा ३६ का दरले ब्याज तिरेर वैदेशिक रोजगारी वा वैदेशिक शिक्षाका लागि युवाहरु गएकै हुन् ।
तर आजको धरासाायी अर्थतन्त्रले गर्दा सर्वसाधारणदेखि उद्योगी र व्यापारीहरू रुँदै र चिच्याउँदै हिड्नु पर्ने अवस्था देखिएको छ । देशको नियामक निकाय नेपाल राष्ट्र बैंक चुप लागेर बसेको छ । भन्नेहरु भन्छन् – राष्ट्र बैंकको नेतृत्वले हरियो झण्डा नदेखाएसम्म कुनै पनि बैंकले बदमासी गर्न सक्दैनन् । देशको आर्थिक अवस्था दर्दनाक र दयनीय छ भनेर धेरै सूचकांकले भनेकै छन् । विकल्प केहो त खै ? अनि दुर्गा प्रसाईं जस्ता अवसरवादीहरु पीडितको नाडी समातेर आगाको ज्वाला लिएर निस्कनु स्वाभाविकै होइन र ?
हिजोका दिनमा अर्थात् ०७ सालमा कांग्रेस, ०४६ सालमा कांग्रेस–माले तथा ०५२ सालमा जसरी माओवादीले पीडितको पीडित नाडी समातेर राजनीति गरे अहिले तिनै प्रसाईंजस्ता अवसरवादीहरु सल्बलाइरहेका छन् । देशभित्र आशा लाग्दो ठाउँ कहीँ पनि छैन । न उद्योग खोलिएलान् भन्ने छ, न कृषिमा आधुनिकीकरण होला भन्ने नै छ ।
आशाको दियो कतै पनि देखिँदैन । न देशको अर्थतन्त्र बलियो छ न जनताको खर्चतन्त्रको व्यवस्थापनको कुनै विकल्प नै छ । राजनीतिक व्यवस्थाको परिवर्तनका नाममा केही सीमित व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न देशलाई चौपट्टै पारे । बहुदलीय प्रजातन्त्र वा दश वर्षे जनयुद्ध वा गणतन्त्र आएपछि नेपाली जनताले पाएको भनेको झन्पछि झन् गरिबी र बेरोजगारी नै हो ।
यस्तो अवस्था हुँदा कतै दुर्गा प्रसाईंरुपी प्रवृत्ति पो अबको सहारा बन्न सक्छन् कि भन्ने नेपाली जनतामा लागेको देखिन्छ । व्यवस्था परिवर्तनको जतिसुकै भजन गाए पनि जनताको वास्तविक अवस्थामा परिवर्तन हुनै सकेन । विगत ३३ वर्षको समयमा परिवर्तन भएको भनेको नेताको व्यक्तिगत जीवनमा नै हो ।
नेपाली जनताको अवस्थामा परिवर्तन यसले गर्छ कि वा त्यसले गर्छ भन्दाभन्दै र पर्खदापर्खदै जहिले पनि हात लाग्यो शून्य भइरहेको छ । गरिबी र अभावले मान्छेहरू संसद भवन अगाडि नै पुगेर आत्मदाह गरेको अवस्था छ । तर आफूलाई राज्य संचालकका महाठेकेदार भनाउँदाहरू देशलाई बाबुको बिर्ता जस्तो सम्झी पालो गरी गरी बिला लगाउँदै यो तेरो भाग र यो मेरो भाग भन्दै बाँड्दै गिद्धले सिनो लुछेजस्तै देशलाई लुछिरहेका छन् ।
राजनीतिमा जे पनि सम्भव हुन्छ भन्दै नाङ्गै भएर देशलाई अस्तव्यस्त पारेका छन् । अहिलेका यी नेताहरूमा नैतिकता के हो भन्ने नै थाहा छैन । एक अर्कोलाई जे बोले र जे भने पनि भएको छ । उतिखेरै लुसुक्क र ठुसुक्क अनि उतिखेरै सुटुक्क र मुसुक्क हुन्छन् ।
लाज सबै पचाएर बोल्दै हिँडेका छन् । देश र जनताप्रति कुनै किसिमको जवाफदेहिता र उत्तरदायित्व नै छैन । नेपालका कुनै राजनीतिक दल र कुनै पनि नेताहरूबीच एक अर्कोमा केही फरकपन नै छैन । राजनीतिक दलमा न सिद्धान्त छ न विचार नै छ ।
सबैको एउटै उद्देश्य भनेको जसरी पनि सत्ता कब्जा गर्ने नै भन्ने देखिन्छ । अब पनि यो दल भन्दै असफल दलको पछाडि लाग्नु भनेको देशलाई थप दलदलमा फसाउनु र देशलाई सकाउनु नै हो ।
आजको यो अवस्था यिनीहरूले ल्याउँछन् भन्ने नै भएर गत निर्वाचनमा शीर्ष नेतृत्वका विरुद्धमा ‘नो नट अगेन’ भन्ने अभियान चलाइएको थियोे । त्यो पूर्ण सफल हुन नसक्दा देशले यिनीहरूबाटै आज थप हविगत भोग्नु परेको छ ।
हिजो विभिन्न नामधारी गठबन्धन गरेका ठगबन्धनहरूले जनतालाई नराम्ररी झुक्याए । नेपाली जनता यस्ता ठगबाट धेरै पटक झुक्किए । अब त विकल्प पनि केही नभएको अवस्था देखिन्छ । किनकि देशलाई उठ्न नै नसक्ने अवस्थामा पुर्याएको देखिन्छ ।
देशको अर्थतन्त्र यस्तो बन्दैछ अब त देशको ढुकुटीबाट कर्मचारीलाई तलब खुवाउन पनि मुस्किल हुँदैछ । त्यसैले पनि राष्ट्र बैंक कर्मचारीलाई तलब खुवाउन ट्रेजरी बिल जारी गर्दै आइरहेको छ । अझैपनि एकथरिले राष्ट्रिय सहमतिको नौटंकी गरिरहेका छन् भने अर्कोथरि कम्युनिष्ट नामको बखान गर्दै पनि छन् । नेपाली जनता ढुक्क भए हुन्छ अहिलेको यही अवस्थामा नेपालमा कुनै पनि सच्चा विचार वा वाद बोकेको राजनीतिक दल छैनन् । यही अवस्थामा यिनीहरूबाट कुनै निकास निस्कने सम्भावना नै छैन ।
यसैले पनि नेपालको राजनीतिक बेइमानी र खराब अर्थतन्त्रको बारेमा व्यवसायी दुर्गा प्रसाईंले बोलेका धेरै कुराहरू सत्य हुन पुगेका हुन र उनले केहीको साथ पाएका पनि छन् ।
अर्को, दुर्गा प्रसाईंलाई सामान्य मान्छे भनेर नबुझ्दा हुन्छ । आज नेपालका चल्दाफुर्दा मिडियामा दुर्गा प्रसाईंले राम्रै स्थान पाएका छन् । कुनै बेला नेकपा एमाले र नेकपा माओवादीलाई एउटै पार्टी बनाउँदा दुर्गा प्रसाईंको अहम् भूमिका रहेको थियोे ।
उनी मार्सी भातको उपनामले प्रख्यात भएका नै थिए । दुर्गा प्रसाईं नेपालका दुई शक्तिशाली नेता र दुई शक्तिशाली पार्टीलाई मिलाउने व्यक्ति हुन् । उनले बोलेका कतिपय कुराहरू विवादास्पद भए पनि नेताका नजिकका पात्र चाहिँ थिए । त्यसैले पनि आफ्नै हजुरबुवा अथवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाडी राम्रै समातेर अहिले आक्रोश र विरोधमा उत्रिएका छन् ।
उनी अब यो देशको प्रधानमन्त्री म हुनुपर्छ भन्दै केही सपना बाँड्दै पनि छन् । हामी नेपालीले अब दुर्गा प्रसाईंलाई किन पो प्रधानमन्त्री भएको नदेख्नु परेको छ र ? उनी यो देशको नागरिक हुन् । नेतामा हुने सबै गुण छन् । बैंक ठग्ने लाइनमा यी पनि उभिएकै छन् ।
भलै उनले सबैभन्दा बढी ब्याज तिर्ने आफू नै भएको बताउँदै पनि आएका छन् । तर अहिलेका घिनलाग्दा नेताका फोहरी राजनीति खेलको रमिता हेर्नु भन्दा त दुर्गा प्रसाईंको नयाँ खेल हेर्नु ठीक होला भनेर नागरिकको एक समूह लागेको छ । गाईजात्राको लाइनमा फेरि अर्को गाईजात्राको नायक दुर्गा प्रसाईं आएका छन् । के नेपाल विधिको शासनमा चल्नु पर्दैन ?
प्रसाईं सही छन् भने उनले आरोप लगाएका सबैलाई अनुसन्धानको घेरामा ल्याएर कारबाही गर्नुपर्छ । हैन उनलाई कारबाही गरेर विधिको शासनमा मुलुक डोहोर्याउनु पर्छ । नेपाली राजनीतिमा नाटक भन्दा बढी नौटङ्की र गाईजात्रा भइसकेको छ । यसलाई बन्द नगरे मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।