arrow

विश्वकपको १३ औँ संस्करण

फाइनलमा भारत निरीह, अष्ट्रेलियालाई विश्वकपको छैटौँ उपाधि

कीर्तिमान जति भारतीय खेलाडीहरूको, उपाधि अष्ट्रेलियाको

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
travis-head-marnus-2023-11-.jpg

काठमाडौँ । भारतमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करणको उपाधि अष्ट्रेलियाले जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो । 

योसँगै विश्वकपको सर्वाधिक सफल अष्ट्रेलियाले विश्वकपमा छैटौँ उपाधि जितेको छ । भारत भने घरेलु मैदानमा फाइनलमा निरीह देखिँदै पराजित भएको हो । भारत फाइनलअघिका सबै खेल जितेर अपराजित रहेको थियो । 

फाइनलमा २४१ रनको मध्यम चुनौती अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियालाई ट्राभिस हेड र मार्नस लाबुस्चांगेले चौथो विकेटका लागि गरेको १९२ रनको उत्कृष्ट साझेदारीले जित दिलाएको हो । 

हेडले शानदार शतक तथा लाबुस्चांगेले अर्धशतक बनाए । हेड विश्वकपको फाइनलमा शतक बनाउने तेस्रो अष्ट्रेलियाली खेलाडी हुन् । यसअघि रिक्की पोन्टिङ र एडम गिलक्रिष्टले शतक बनाएका थिए । हेडले १२० बलमा १३७ रन बनाए । त्यस्तै लाबुस्चांगेले अविजित रहँदै ५८ रन बनाए । 

यसअघि डेभिड वार्नर ७, मिचेल मार्श १५ तथा स्टेभेन स्मिथ ४ रन बनाएर आउट भएका थिए । 

जसप्रित बुमराहले २ तथा मोहम्मद शमी र मोहम्मद सिराजले १–१ विकेट लिए । शमीले यो  विश्वकपमा २४ विकेट लिएर कीर्तिमान रचेको भए पनि टिमलाई उपाधि भने जिताउन सकेनन् । लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । 

यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । 

त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक यो विश्वकपमा अलआउट भएको हो । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको थियो । भारतले भने खराव फिल्डिङ गरेको थियो । 

दुई पटकको च्याम्पियन भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

उपाधि अष्ट्रेलियाले जितेको भए पनि कीर्तिमान भने भारतीय खेलाडीहरुको नाममा रहेको छ ।

कोहलीको कीर्तिमानः
फाइनलमा कोहलीले ६३ बलमा ५४ रन बनाए । कोहलीले एकै संस्करणमा नौ पटक ५० भन्दा बढी रन बनाएर कीर्तिमान रचेका छन् । अहिलेसम्म यो सफलता विश्वकपमा कसैले हासिल गरेका छैनन् । 

त्यस्तै उनले विश्वकपको एकै संस्करणमा अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएका छन् । उनले ७६५ रन बनाएका छन् । 

उनले सन् २००३ को विश्वकपमा भारतीय खेलाडी सचिन तेन्दुलकरले बनाएको कीर्तिमान तोडेका हुन् । सचिनले ६७३ रन बनाएका थिए । 

त्यस्तै सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै कोहलीले एक दिवसीयमा शतकको संख्या ५० पुर्याउँदै सचिन तेन्दुलकरको कीर्तिमान पनि तोडेका छन् ।

काेहली प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

रोहित शर्माको रेकर्डः
भारतीय क्रिकेट कप्तान रोहित शर्मा (उपनाम – हिटम्यान) ले विश्वकप एक दिवसीय क्रिकेटमा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

रोहितले विश्वकपको एकै सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । अष्ट्रेलिया विरुद्धको फाइनलमा ३ छक्का प्रहार गरेसँगै रोहितले विश्वकपमा ३१ छक्काको रेकर्ड बनाएका छन् । 

उनले वेष्ट इन्डिजका खेलाडी क्रिस गेलको कीर्तिमान तोडेका हुन् । गेलले सन् २०१५ को विश्वकपमा २६ छक्काको कीर्तिमान बनाएका थिए । रोहितले विश्वकपमा मात्रै ५४ छक्का हानिसकेका छन् । रोहितले कूल छक्कामा पनि गेलको कीर्तिमान तोडेका हुन् । गेलले ४९ छक्का बनाएका थिए । 

रोहितले २०१५, २०१९ र २०२३ को विश्वकपमात्र खेलेका छन् । रोहित पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी पनि बनेका छन् । उनले पावर प्लेमा २२ छक्का हानेका छन् । उनले न्यूजिल्याण्डका कप्तान ब्रेन्डन म्याकमुलमको १७ छक्काको कीर्तिमान तोडेका हुन् । 

रोहित कप्तानको रुपमा विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी ५९७ रन बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म कुनै पनि कप्तानले एकै संस्करणमा यति धेरै रन बनाएका थिएनन् । 
यो विश्वकपमा रोहितको दोस्रो ठूलो रन हो । उनीभन्दा अगाडि विराट कोहलीमात्र रहे । 

रोहितको नाममा विश्वकपमा सात शतकको कीर्तिमान रहेको छ । उनले सात शतक प्रहार गरेका छन् । त्यस्तै ६ अर्धशतक बनाएका छन् । उनी लगातार दोस्रो पटक विश्वकपमा पाँच सय भन्दा बढी रन बनाउने पहिलो खेलाडी हुन् । 

उनले सन् २०१९ मा ६४८ रन बनाएका थिए । त्यस्तै एकै संस्करणमा पाँच शतक बनाउने उनी पहिलो खेलाडी हुन् । उनले सन् २०१९ मा यो कीर्तिमान बनाएका थिए । 

मोहम्मद शमीको रेकर्डः 
भारतका लागि मोहम्मद शमीले सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध सर्वाधिक ७ विकेट लिए । 
शमीले यो विश्वकपमा तेस्रो पटक ५ देखिमाथि विकेट लिए । उनी विश्वकपमा मात्र हैन एक दिवसीयको एकै खेलमा ७ विकेट लिने पहिलो भारतीय खेलाडी हुन् । यसअघि आशिष नेहराले ६ विकेट लिएका थिए । 

शमी विश्वकपमा छिटो ५० विकेट लिने खेलाडी पनि बनेका छन् । उनले १७ खेलमा ५० विकेट लिएका हुन् । यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कका नाममा १९ खेलमा ५० विकेट लिएको यो कीर्तिमान थियो । 

शमी विश्वकपमा चौथो पटक पाँचदेखि माथि विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । १३ औँ संस्करणमा उनले सर्वाधिक २४ विकेट लिए । यो संख्या अहिलेसम्म कुनै पनि भारतीयले छुन सकेका थिएनन् । 

उनले विश्वकपको एकै खेलमा ४ वा त्यो भन्दा बढी विकेट ८ पटक लिइसकेका छन् । यो कीर्तिमान बनाउने उनी एक्लो हुन् । अष्ट्रेलियाका मिचेल स्टार्कले ६ पटकमात्र यो आँकडा छोएका छन् । 

पहिलो पटक विश्वकपमा सात उपाधि विजेता आमने सामने 
एक दिवसीय विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक सात उपाधि जितेकाहरु आठौँ उपाधिका लागि आमने सामने भएका थिए । यो उपाधि जित्नुअघि अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको विजेता हो । 

अहिलेसम्म चार उपाधि विजेतालेमात्र फाइनलमा उपाधि भिडन्त गरेका थिए । यसअघि सन् २००७ मा अष्ट्रेलिया र श्रीलंकाबीच फाइनल भिडन्त भएको थियो । त्यतिबेला अष्ट्रेलिया ३ तथा श्रीलंका एक पटकको विजेता थियो । 

सन् २०१५ मा पनि चार उपाधि विजेता फाइनलमा भिडेका थिए । त्यतिबेला अष्ट्रेलियामात्र चार उपाधि विजेता थियो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

पछिल्लो विश्वकपमा भने पहिलो पटक उपाधि विजेताविहीनहरुले फाइनल खेलेका थिए । जसमा न्यूजिल्याण्डमाथि इङ्गल्याण्डले बाजी मारेको थियो । 

सन् १९८७ र सन् १९९२ को फाइनलमा पनि यस्तै भएको थियो । जहाँ १९८७ मा अष्ट्रेलिया र इङ्गल्याण्ड तथा सन् १९९२ मा पाकिस्तान र इङ्गल्याण्ड फाइनलमा भिडेका थिए । दुवै संस्करणका फाइनलिष्टहरु उपाधिविहीन थिए । 

विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले ६, भारत र वेष्ट इन्डिजले २–२ तथा पाकिस्तान, श्रीलंका र इङ्गल्याण्डले १–१ पटक उपाधि जितेका छन् । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ