arrow

अपाङ्गता भएकाहरुमाथि प्रहरीको डन्डा, केही घाइते, डेढ दर्जन पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
disabled-rally-81-1-30-(15).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रहरीले अपांगता भएकाहरुमाथि डंडा चलाएको छ । सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलित अपांगता भएका व्यक्तिहरूमाथि प्रहरीले डंडा चलाएको हो । 

बुधबार निकालिएको र्यालीमा प्रहरीले धरपकड गरेको हो । सो क्रममा राष्ट्रिय लोकतान्त्रिक अपांग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठसहित केही घाइते भएका छन् ।

प्रहरीले आन्दोलित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्रकारसमेत रहेका छन् । 

पक्राउ पर्नेहरुमा आन्दोलन संयोजक विकास थापा, सदस्यहरु सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, विरुकेयल श्रेष्ठ, बासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गंगा राई, दानबहादुर थिङ रहेका छन् ।

त्यस्तै पत्रकार शर्मिला विश्वकर्मा, रमेश खड्का, भभिभावकहरु लक्ष्मी बस्नेत, राजेन्द्र महर्जन, बेग लामा, लक्ष्मण मगर, बिनिता रेग्मी र शरण श्रेष्ठ रहेका छन् ।  

उनीहरुलाई पक्राउ गरी अनामनगर चौकीमा राखिएको छ । अपांगता भएका व्यक्तिसँग भएको सम्झौता कार्यान्वयन गराउन अनसनरत दीपक भण्डारीको जीवन रक्षाको लागि संयुक्त रुपमा रत्नपार्कदेखि भृकुटीमण्डपसम्म निकालिएको शान्तिपूण प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो । 

यसअघि गत आइतबार उनीहरुले काठमाडौँमा ४५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्‍याली निकालेका थिए । 

शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका थिए । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा १६ दिनदेखि अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका थिए । 

चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो । 

यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि अनसन थालेका हुन् । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठका अनुसार आइतबारको कार्यक्रमबाट पनि सुनुवाइ नभएपछि बुधबार त्यो भन्दा ठूलो र्याली निकालिएको बताए । 

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ, बौद्धिक अपांगता अभिभावक महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ लगायतको ऐक्यवद्धता रहेको छ । 

अनसनरत दीपक भण्डारीको जीवनरक्षाको माग राखेरसमेत आन्दोलन गरिएको श्रेष्ठले बताए । उनले आगामी जेठ ८–९ गतेसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ