arrow

पचास अंकले बढेको बजारमा मौद्रिक नीति समीक्षाको झड्का, के होला आउँदो साता ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यो साता शेयर बजार ५० अंक भन्दा धेरैले बढेको छ । अघिल्लो साता १९६६.२३ अंकमा रोकिएको बजार यो हप्ता २ हजारभन्दा माथि पुगेको हो ।

बिहीबारको अन्तिम कारोबार हुँदा बजार परिसूचक २०१८.७६ बिन्दुमा पुगेको छ । योसँगै बजार पूँजीकरण झण्डै ८४ अर्ब रुपैयाँले बढेर ३२ खर्ब रुपैयाँ टेकेको छ । 

बजारमा यो साता १७ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । यो अघिल्लो साताको भन्दा उच्च हो । नयाँ कमिसन दर लागु भएपछिका तीनै दिन शेयर कारोबारमा उत्साह देखिएको छ ।

पहिलो दिन ४ अर्ब १ बरोड, दोस्रो दिन ३अर्ब ६८ करोड र तेस्रो दिन ४ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

बढेको बजारमा मौद्रिक नीतिको समीक्षाको झड्का 
बजार बढेर २ हजारको विन्दु पार गरेपछि लगानीकर्तामा उत्साह छाएको बेला शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रक नीतिको समीक्षा गर्यो । यो नीतिले घरजग्गा र सवारी साधनको खरिदका लागि प्रवाह हुने बैंक ऋण र बैंकहरुको प्रोभिजनिङमा केही खुकुलो व्यवस्था गरेको थियो । 

तर त्यही मौद्रिक नीतिमा राष्ट्र बैंकले शेयर बजारका नकारात्मक असर गर्ने व्यवस्था गरेको छ, यस अनुसार सम्पत्ति बिक्रीको सीमा चुक्ता पूँजीको २० प्रतिशतसम्म कायम गरिदिएको छ । समीक्षाको बुँदा नम्बर ४० मा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइनेछ ।’

यो बुँदाको अर्थ यदि कुनै बैंक तथा वित्तीय संस्थाले एक वर्षअघि शेयर वा अन्य सम्पत्ति किनेर राखेको छ भने अब चुक्ता पूँजीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न सक्छन् । 

अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा झण्डै ८७ अर्ब रुपैयाँसम्मको सम्पत्ति बिक्री गर्न पाउनेछन् । यसअघि यो सीमा १ प्रतिशतमात्रै थियो । 

यो व्यवस्था शेयर बजारको लागि खुखद नभएको शेयर बजारका लगानीकर्ताहरु बताउँछन् । पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल यो व्यवस्थाले बजारलाई धेरै ठूलो असर नगरे पनि बजारका लागि सकारात्मक विषय नरहेको बताउँछिन् । 

‘यो व्यवस्थापछि बैंकहरुले शेयर बिक्री गर्न थाले भने त सप्लाई बढ्छ, सप्लाई बढेपछि बजारलाई नकारात्मक असर नै गर्ने होला,’ पोखरेल भन्छिन्, ‘तत्कालै बैंकहरुले शेयर बेच्छन् भन्ने नहुन पनि सक्छ । त्यसैले धेरै ठूलो असर नगर्न पनि सक्छ ।’

सम्पत्ति बेचेर लाभांश खुवाउन बाटो खुला

राष्ट्र बैंकले सम्पत्ति बेच्न पाउने व्यवस्था गरेपछि बैंकहरुले अर्को वर्ष लाभांश दिनसक्ने अवस्था भने देखिएको छ । यसअघि एक प्रतिशत मात्रै शेयर बेच्न पाउँदा समग्र बैंकिङ क्षेत्रले ४ अर्ब मात्रै सम्पत्ति बेच्न पाउने अवस्था थियो । 

अहिले बैंकहरुको शेयर तथा अन्य लगानी गरि २ खर्ब ८९ अर्ब रुपैयाँ लगानी छ । सरकारी बिल तथा बण्डहरुमा ११ खर्ब २० अर्ब लगानी छ । यो व्यवस्थाले विकास ऋणपत्र तथा अन्य संस्थाको शेयर बिक्री गर्ने बाटो खुल्नेछ । यद्यपि यसरी सम्पत्ति बेचेर लाभांश दिनसक्ने भएकोले बैंकहरुको शेयरमा भने यसले सकारात्मक असर पर्नसक्ने समेत सरोकारवालाहरु बताउँछन् । 

त्यसो त मौद्रिक नीतिको समीक्षामा गरिएका व्यवस्थाकै कारण बैंकहरुको नाफा झण्डै पौने ३ अर्ब रुपैयाँ बढ्ने देखिएको छ । यसले बैंक तथा वित्तीय संस्थाको परिसूचकमा भने सकारात्मक असर समेत पार्नसक्ने लगानीकर्ताहरुको विश्लेषण छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ