arrow

शेयर बजारको गिरावटः स्वभाविक करेक्सन कि बजेटको असर ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यो साता शेयर बजारमा उच्च गिरावट देखिएको छ । आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक भएको यो साता बजारले ओरालो बाटो समातेको हो । 

यो साता बजार ६१.९८ अंकले घटेर योसँगै शेयर बजार परिसूचक २०६९.५३ मा झरेको छ । बजारको गिरावटसँगै कारोबार रकममा समेत यो साता गिरावट देखियो । चार दिनको कारोबारमा यो साता झण्डै १७ अर्बको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जको तथ्यांक छ । 

अघिल्लो साता शेयर बजार ११२ अंकले बढ्दा २७ अर्ब भन्दा धेरैको कारोबार भएको थियो । यो साता बजारमात्रै नभएर कारोबार रकममासमेत गिरावट देखिएको छ । बजार गिरावटसँगै शेयर बजारको कुल सम्पत्तिको रुपमा रहने बजार पुँजीकरण झण्डै ९८ अर्ब रुपैयाँले घटेको छ । 

करेक्सनउन्मुख बजारमा बजेटको दबाब
मौद्रिक नीतिको प्रभावस्वरुप अघिल्लो हप्ता उच्च रुपमा बढेको बजार यो साता करेक्सन हुने सामान्य अपेक्षा थियो । त्यसैले यो गिरावटको कारण बजारको करेक्सन नै मान्नेहरु धेरै छन् । तर मंगलबार घोषणा भएको बजेटले गिरावटलाई थप बल दिएको विश्लेषकहरुको भनाइ छ । 

आइतबार झण्डै २२ अंकले करेक्सन भएको बजार सोमबार थामिएको थियो । मंगलबार बजेटको दिन सार्वजनिक विदा भएकोले शेयर कारोबार भएन । बुधबार र बिहीबार बजारले पुनः करेक्सनको बाटो लियो । यो दुई दिनको बजारलाई कतिपय विश्लेषकले बजेटको असर भनेका छन् । 

अघिल्लो साता शेयर बजारमा बैंकिङ परिसूचक १३८.९९ अंकले बढेको थियो । यो साता ७३.४८ अंकले घटेको छ । प्रतिशतका आधारमा यो झण्डै ६ प्रतिशत बढीको गिरावट हो जुन अन्य परिसूचकहरुभन्दा पनि बढी हो । 

त्यसैले यसलाई अघिल्लो साताकै करेक्सनको रुपमा व्याख्या गरिन्छ । तर अघिल्लो साता बढेको आधारमा बैंकिङ समूह यो साता औसतभन्दा कम मात्रै घटेको छ । त्यसैले अहिलेको गिरावटलाई करेक्सन मात्रै मान्न नहुने कतिपयको बुझाइ छ । 

शेयर बजारमा १५ वर्षभन्दा बढीदेखि निरन्तर सक्रिय योगेश घिमिरे अहिलेको गिरावटमा बजेटको प्रभाव समेत रहेको बताउँछन् । बजेटमार्फत् लगानीकर्ताले पुँजीगत लाभकर घटेर आउने र यस्तो लाभकरलाई अन्तिम लाभकरको रुपमा प्रष्ट भएर आउने अपेक्षा गरे पनि यो नहुँदा लगानीकर्ताहरु निराश भएको उनको भनाइ छ । 

त्यसबाहेक ठूलो मात्रामा आन्तरिक ऋण उठाउने सरकारको लक्ष्यका कारण पनि वित्तीय क्षेत्रमा तरलता संकटको डरले बजार तल झरको उनको विश्लेषण छ । बजार तरलता र परिसूचकलाई एक अर्कामा विपरीत सम्बन्धका रुपले हेरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ