arrow

उपसभामुखले देखाएको गैरजिम्मेवारीपनले पद धरापमा, रास्वपाको हैसियत छर्लङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
indira-rana-new.jpg

काठमाडौँ । उपसभामुख ईन्दिरा रानामगरले पदीय मर्यादाको उल्लंघन गरेको विषयमा अमेरिकी दूतावासका लागि लेखेको पत्रले अहिले राजनीतिक वृत्तमा तरंग मात्र सिर्जना गरेको छैन सांसदहरुले राजीनामासमेत मागेका छन् । 

पाँच जनालाई अमेरिका लैजाने प्रयोजनस्वरुप अन्तर्वार्ताको समय आफूसँगै मिलाइदिन उपसभामुख रानामगरले लेखेको पत्रले अहिले उनको पद नै धरापमा परेको छ । 

शुक्रबार सांसदहरुले सभामुखलाई भेटेर यो चासो राखेका थिए । शुक्रबार दिउँसो कार्यव्यवस्था समितिको बैठकमा सहभागी सांंसदहरुले आपत्ति जनाएका हुन् । शुक्रबार दिउँसो नै सभामुखले नैतिकताको आधारमा मार्गप्रशस्त गर्न आग्रह गरिसकेपछि उनले विज्ञप्ति निकालेर विषय वस्तुलाई स्पष्ट पार्ने प्रयास गरेकी थिइन् ।

रास्वपाका पूर्व महासचिव डा. मुकुल ढकालले दिएको जानकारीअनुसार यो विषयमा बैशाख महिनामै पार्टीका शीर्ष तहमा छलफल भएको थियो । 

पार्टीभित्र छलफल हुँदा इलाममा उपचुनावको तयारी भइरहेकाले यो विषय भित्रभित्रै सामसुम पारिएको थियो । 

उपसभामुखले पैसा लिएर अमेरिका लैजान लागेको हो कि पत्रमात्रै लेखिदिएको भन्ने विषय अझै स्पष्ट नभएकाले यो विषयलाई प्रहरी अनुसन्धानमा लैजानुपर्ने आवाज पनि उठेको छ । 

पत्र नै लेखिदिन नमिल्ने संसद् सचिवालयकै अधिकारीहरुले बताएका बेला प्रहरी अनुसन्धान आकर्षित हुने सुरक्षाकर्मीहरुको दाबी छ ।

उपसभामुखको विदेश भ्रमणको सम्पूर्ण प्रक्रिया संसद् सचिवालयकै अन्तर्राष्ट्रिय शाखाले गर्ने हुँदा उपसभामुखले सिफारिसमेत गर्न मिल्दैन । 

यस विषयमा रास्वपाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । सत्तारुढ कांग्रेस र एमालेका नेताहरुले भने गम्भीर प्रकृतिको काम भएको हुनाले उपसभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 

कार्यव्यवस्था समितिमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरी खतिवडाले उपसभामुख रानामगरले राजीनामा दिनुपर्ने बताएका थिए । 

सभामुखले यो विषयमा सार्वजनिक रुपमा धारणा राख्नुपर्ने पनि उनको भनाइ थियो । उपसभामुख भएपछि धेरै समय विदेश घुम्नेमध्येमा उनी पनि एक जना हुन् । 

हालै मात्र उनी अमेरिका पुगेर आएकी थिइन् । अहिलेसम्म आफूले कसैलाई पनि अमेरिका नपुर्याएको उनले दाबी गरेकी छिन् ।

शुक्रबार विज्ञप्ति जारी गरेर उपसभामुख रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी गरेकी छिन् । 

तर उनले भिषाको मिति मिलाइदिन आग्रह गरेको भने स्वीकार गरेकी छिन् । उक्त कार्यक्रममा आफ्ना सहयोगीसमेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन् ।  

‘उक्त कार्यक्रममा मेरो लागि सहयोगीसमेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ, कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन, हैन,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उपसभामुख रानामगर गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिक रूपमा छानबिन थालेको भए पनि बाहिर केही बताएको छैन ।

शुक्रबार दिउँसो रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुख देवराज घिमिरेसँग छलफल पनि गरेका थिए । 

उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएपछि रास्वपामा उनको अवस्थाबारे गम्भीर छलफल भएको थियो । 

पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छिन् । 

संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

रास्वपाबाट निर्वाचित भएकी हुँदा उपसभामुखको विवादले पार्टीलाई पनि असर गरेको छ । यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ