arrow

घाम बाहेक कुन कुन खानेकुरामा पाइन्छ भिटामिन डी ?

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ साउन ५ शनिबार
kapilmani-kc-81-4-5.jpg

हामीहरू सबैलाई थाहा भएको कुरा हो कि भिटामिन डी मानिसको शरीरलाई आवश्यक पर्ने एउटा महत्वपूर्ण तत्व हो। यो कुरा पनि धेरै मानिस हरूलाई थाहा छ कि सूर्यको किरणमापाइने अल्ट्रा भाइलेट रेज  भिटामिन डी को मुख्य स्रोत हो। 

विभिन्न कारणले निःशुल्क घामबाट पाइने भिटामिन डी पनि हामीहरूले पूर्ण रुपमा पाउन सकेका छैनौँ । वयस्क मानिसलाई एक दिनमा २० माइक्रोग्राम अथवा ८०० आई यू भिटामिन डीको आवश्यकता पर्दछ ।

हामीले लगाउने सामान्य पोशाकमा १५ प्रतिशत भन्दा कम भागमात्र घाममा 'एक्स्पोज' हुन्छ । हामीहरूलाई दैनिक आवश्यक पर्ने भिटामिन डी प्राप्त गर्नको लागि कम्तीमा पनि ३० प्रतिशत शरीरको भाग घाममा एक्स्पोज हुन जरुरी हुन्छ । 

विशेषगरी कार्यालयमा काम गर्ने मानिसहरूलाई घामको एक्सपोजर कम नै हुने गर्दछ। त्यसकारण पनि मानिसहरूमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ ।

घाम बाहेक कुन–कुन खाने चिजहरूमा भिटामिन डी पाइन्छ भनेर जान्नु निकै महत्वपूर्ण देखिन्छ। प्रस्ट शब्दमा भन्दा धेरै खाने चिजहरूमा भिटामिन डी पाइँदैन। विशेषतः शाकाहारी खानेकुराहरूमा भिटामिन डी पाइँदैन । 

भिटामिन डी पाइने खाने चिजहरूमा मुख्यतः ओइली अथवा फ्याटी (तेल वा बोसोको मात्रा बढी भएका ) माछा, कलेजो, अण्डा र च्याउमा पाइन्छ । 

माछाहरूको कुरा गर्दा विशेषगरी सालमोन, सार्डाइन, टुना, हेरिंग जस्ता सामुद्रिक माछाहरू जसको पूरै शरीरमा तेल अथवा बोसो बढी हुन्छ । 

त्यस्ता माछाहरूमा भिटामिन डी बढी पाइन्छ । नेपालको भौगोलिक अवस्थाले गर्दा पनि हामीहरू त्यस्ता सामुद्रिक माछा खानबाट वञ्चित छौँ ।

अण्डाको कुरा गर्दा यसको पहेँलो भागमा भिटामिन डी पाइन्छ।  एउटा अण्डाबाट ३७ आई यू भिटामिन डी पाइन्छ जुन हामीहरूलाई दैनिक आवश्यक पर्ने भिटामिन डी को ५ प्रतिशतमात्र हो । 

भिटामिन डी मिसावट गरिएको दाना खुवाएका कुखुराहरूले दिने अण्डामा भने भिटामिन डीको मात्रामाथि उल्लेख गरिए भन्दा बढी हुन्छ।
 
च्याउको चर्चा गर्दा  च्याउमात्र यस्तो खाने चिज हो, जुन शाकाहारी खानेकुरा भएर पनि केही मात्रामा भिटामिन डी हुन्छ । यद्यपि च्याउमा भिटामिन डी २ हुन्छ भने मांशाहारी खाने चिजहरूमा भिटामिन डी ३ हुन्छ ।

च्याउले पनि घामको किरणमा भएका अल्ट्राभाइलेट रेजको मद्दतले भिटामिन डी उत्पादन गर्दछ । मझौला खालको एक कप च्याउमा १३७ आई यू भिटामिन डी हुन्छ । 

विदेशमा गाईको दूध, जुसलगायत अरु खाने कुराहरूमा भिटामिन डी मिसावट गरेर बजारमा उपलब्ध गराउने हुँदा यस्ता खाने कुराहरूमा भिटामिन डी पाइन्छ । 

त्यसकारण  भिटामिन डी मुख्यतः घामका किरणमा पाइने भएता पनि माथि उल्लेख गरिएका खानेकुराहरूमा पनि केही मात्रामा भिटामिन डी पाइने हुँदा यस्ता खानेकुराहरूलाई नजरअन्दाज गर्नु हुँदैन । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा पनि आवद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ