- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भिटामिन डीको मुख्य श्रोत सूर्यको किरणमा भएका अल्ट्राभाइलेट रेजहरू हुन् । धेरै कारणले गर्दा निःशुल्क रुपमा सूर्यको किरणबाट पाइने भिटामिन डी हामीहरूले पाउन सकिरहेका छैनौँ ।
हामीहरूमध्ये धेरैजसोलाई थाहा नहुन सक्छ कुन समयको सूर्यको प्रकाशमा भिटामिन डी ज्यादा प्राप्त हुन्छ । धेरैको बुझाइ बिहानको घाम हुन सक्छ । त्यसो नभएर बिहान १० देखि अपरान्ह ४ बजेसम्मको घामले भिटामिन डी ज्यादा उत्पादन गर्दछ । यसको कारण सामन्य छ ।
किनकि दिउँसोको घाममा अल्ट्राभाइलेट रेजहरू बढी तगडा हुन्छन् । आजको जमानामा धेरै मानिसहरू घरभित्र अफिसमा काम गर्ने हुँदा स्वभाविक रुपमा घामको एक्सपोजर कम हुन्छ । पृथ्वीको भूमध्य रेखा नजिक बस्ने मानिसहरूमा भन्दा भूमध्य रेखा भन्दा टाढा नर्थ पोल वा साउथ पोलमा बस्ने मानिसहरूमा घामको एक्सपोजर कम हुने हुँदा त्यस्तो भूभागमा बस्ने मानिसहरूमा भिटामिन डी ज्यादा कम हुन सक्छ ।
घामको एक्सपोजर कम भन्नुको मतलब घाममा अल्ट्राभाइलेटको मात्रा कम हुन्छ । किनकि त्यस्ता भूभागको बादलमा ओजोन भन्ने तत्व बढी हुन्छ जसले अल्ट्रा भाइलेट रेजहरूलाई आफैँले सोस्ने गर्दछ ।
दिनमा कति समय घामको एक्सपोजर हुनु पर्दछ र कति मात्रामा लुगा लगाउनु पर्दछ भन्ने पनि महत्वपूर्ण प्रश्न हो । लामो समयसम्म घाम ताप्नु र नताप्नुका आफ्नै फाइदा बेफाइदाहरू छन् । घाम नताप्दा शरीरमा भिटामिन डीको कमी हुनसक्छ भने लामो समयसम्म ताप्दा छालाको क्यान्सर हुन सक्ने हुन्छ ।
लगातार घाममा बस्नु भन्दा दिनमा १० देखि ३० मिनेट पटक पटक घाममा बस्दा ज्यादा फाइदा हुन्छ । यसले गर्दा घामको किरणहरूबाट हुने नराम्रो रोगहरूको सम्भावना कम हुन्छ ।
हामीहरूले लगाउने लुगाहरूमा सामान्यतया १० देखि १५ प्रतिशत भागमात्र घाममा एक्स्पोज हुने हुन्छ । तर भिटामिन डी राम्रोसँग प्राप्त गर्नको लागि कम्तीमा ३० प्रतिशत शरीरको भाग घाममा एक्सपोज हुन जरुरी हुन्छ । कालो वर्णका मानिसहरूको छालामा मेलानिन भन्ने तत्व बढी हुन्छ जसले सूर्यका किरणहरूमा भएका अल्ट्रा भाइलेट रेजहरूलाई निस्क्रिय बनाउने हुँदा यस्ता मानिसहरूमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ ।
छालाको क्यान्सर हुनबाट बच्नको लागि विशेष गरी विदेशतिर मुखमा वा हात खुट्टामा सनस्क्रिन लगाउने गरिन्छ । सनस्क्रिनले पनि अल्ट्रा भाइलेट रेजहरूलाई निस्क्रिय पार्ने हुँदा त्यस्ता मानिसहरूमा भिटामिन डी कमी हुने हुन्छ ।
बुढाबुढी मानिसहरूको छालामा भिटामिन डी पैदा गर्ने क्षमता कम हुने भएकाले वृद्धहरूमा भिटामिन डीको कमी ज्यादा हुने हुन्छ । वृद्धहरूमा पाचन प्रणाली पनि त्यति बलियो नहुने हुनाले खानाबाट प्राप्त हुने भिटामिन डीको पनि कमी हुन्छ ।
७० वर्ष भन्दा बढी उमेरका मानिसहरूमा जवान मानिसहरूमा भन्दा ३० प्रतिशतले बढी भिटामिन डीको कमी हुन्छ । भिटामिन डी फ्याटसँग घुलमिल हुने भिटामिन भएकाले मोटो मानिसमा भिटामिन डीको कमी ज्यादा हुन्छ किनकि भिटामिन डी फ्याटमा गएर जम्मा हुन्छ । रगतमा भएको भिटामिन डी मात्र शरीरको लागि उपयोगी हुन्छ ।
पाचन प्रणालीमा असर गर्ने केही रोगहरू जस्तै सिस्टिक फाइब्रोसिस, क्रोहन्स डिजिज, सेलियक डिजिज, मालअब्जर्सन सिन्ड्रोमहरूमा शरीरको सानो आन्द्राबाट भिटामिन डीको अब्जर्सन कम हुने हुँदा यस्ता रोग भएका मानिसहरूमा भिटामिन डीको कमी ज्यादा हुन्छ । छालामा बनेको भिटामिन डी निस्क्रिय प्रकारको हुन्छ ।
शरीरको कलेजो र मृगौलामा गएरमात्र सक्रिय प्रकारको भिटामिन डी बन्दछ । त्यही सक्रिय प्रकारको भिटामिनले मात्र शरीरमा काम गर्न सक्छ । त्यसकारण कलेजो र मृगौलाको समस्या भएका मानिसहरूमा भिटामिन डीको कमी बढी हुन्छ ।
कुनै कुनै औषधी सेवनले पनि भिटामिन डी कमी हुन सक्छ । स्टेराइड भन्ने औषधी, क्षयरोग, एचआईभी, मिर्गी रोगमा प्रयोग हुने औषधीले पनि शरीरमा भिटामिन डीको कमी गराउँदछन् ।
कहिलेकाहिँ विशेष गरी बालबालिकाहरूमा शरीरमा भएको भिटामिन डीले काम नगर्ने एक प्रकारको वंशानुगत समस्या हुन्छ । जसमा पनि भिटामिन डी कमी भएर रिकेट भन्ने रोग हुन सक्छ । त्यसकारण भिटामिन डीको कमी वंशानुगत कारणले पनि हुनसक्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन्)