arrow

तिघ्राको मासु बाउँडिने समस्याः कारण र समाधान 

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ असोज ५ शनिबार
kapilmani-kc-81-6-5.jpg

तिघ्राको मासु बाउँडिने  अथवा मसल क्र्याम्पिङ हामीहरूमध्ये धेरै जनालाई भएको हुनुपर्दछ । यो एक प्रकारको कमन समस्या हो । राति सुतिरहेको समयमा एक्कासी तिघ्राको मसलमा कडापन महसुस भएर अत्यधिक पीडा महसुस हुने अवस्थालाई मसल क्र्याम्पिङ वा मासु बाउँडिने भनिन्छ । तिघ्राको मासु बाउडिने धेरै कारणहरू हुन्छन् । 

गर्मी मौसममा वा लामो समयसम्म ब्यायाम गर्दा शरीरमा पानीको मात्रा कम हुन सक्छ जसलाई डिहाइड्रेसन अथवा निर्जलीकरण भएको भनिन्छ । यस्तो अवस्थामा मसल बाउँडिने गर्दछ । 

लामो समयसम्म हिँडेपछि मसल फ्याटिग भएको बेलामा पनि तिघ्राको मासु फर्किन सक्छ । सामान्यतया गर्भवती भएको बेलामा छिटो–छिटो तिघ्राको मासु फर्किन सक्छ । 

कुनै कुनै स्वास्थ्य समस्याहरू जस्तैः मधुमेह, हाइपोथाइरोइड, पार्किन्सन डिजिज भएका मानिसहरूलाई सामान्य भन्दा बढी मासु बाउँडिने हुन्छ । यसका साथै लामो समयदेखि रक्सी सेवन गर्ने मानिसहरूलाई पनि यो समस्या ज्यादा हुन्छ । समतल खुट्टा भएका मानिसलाई यो समस्या बढी हुन सक्छ । 

केही औषधीहरू जस्तै कोलेस्टेरोलमा प्रयोग हुने औषधी, दुःखाइमा प्रयोग हुने औषधी न्याप्रोजिन, रक्तचाप घटाउने औषधी (डाइयुरेटिक्स), डिप्रेसनमा खाने  औषधी (फ्लुजेटिन), नसा च्यापिएकोमा प्रयोग हुने औषधी (प्रिगबालिन वा गबापेण्टिन) ले पनि तिघ्राको मासु बाउँडिन सक्ने अनुसन्धानहरूले देखाएका छन् । 

जवान मानिसहरूमा भन्दा ५० वर्ष माथिका मानिसहरूलाई मसल बाउँडिने समस्या ज्यादा हुन्छ ।

तिघ्राको मासु बाउँडिने समस्या समाधानको चर्चा गर्दा सबैभन्दा पहिले शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । विशेषगरी गर्मी मौसममा वा कडा ब्यायाम गरेपछि प्रशस्त पानी पिउने बानी गर्नु पर्दछ । 

पानीको साथै शरीरमा नूनको मात्रा पनि बराबर हुनु पर्दछ । राति सुत्नु भन्दा अगाडि तिघ्राको मासुलाई हल्का तरिकाले स्ट्रेच गर्नु राम्रो हुन्छ । 

विस्तारामा अथवा भुइँमा बसेर खुट्टाका औंलाहरूलाई आफूतिर तान्दा तिघ्राको मासुको राम्रोसँग स्ट्रेच हुन आउँदछ । राति सुतिरहेको अवस्थामा मसल बाउँडिएमा विस्ताराबाट ओर्लिएर जोडले भुइँमा टेकेर दुई चार पाइला हिँड्दा राम्रो हुन्छ ।

कहिलेकाहिँ बेडमा बसेकै अवस्थामा खुट्टाका औँलाहरू र पैतालालाई केही समयसम्म आफूतिर तान्दा बाउँडिएको दुःखाइ कम हुन्छ । बाउँडिएको बेलामा हल्का मसाज गर्दा पनि केही मात्रामा दुःखाइ कम हुन आउँदछ । 

भिटामिन बी कम्प्लेस, भिटामिन डी, क्याल्सियम, भिटामिन ई जस्ता औषधी सेवनले मसल बाउँडिने समस्या कम हुन सक्छ ।

यद्यपि यसको बलियो प्रमाण भने अनुसन्धानले पुष्टि गर्न सकेको छैन । फोटासियमयुक्त खानेकुराहरू जस्तै केरा, सेमीलगायत हरियो सागसब्जीहरू सेवन गर्दा पनि यो समस्या केही कम हुन सक्छ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ