arrow

डा कपिलमणि केसी अमेरिकाबाट प्रदान गरिने एफएसीएसको उपाधिबाट विभूषित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
kapilmani-kc-81-7-4.jpg

काठमाडौँ । हाडजोर्नी रोग विशेषज्ञ डा कपिलमणि केसी अमेरिकाबाट प्रदान गरिने फेलो अफ अमेरिकन कलेज अफ सर्जन (एफएसीएस ) को उपाधिबाट विभूषित भएका छन् । उक्त उपाधि प्राप्त गर्नको लागि उनले आफ्नो शैक्षिक योग्यतालाई बोर्ड अफ अमेरिकन कलेज अफ सर्जनमा पेस गरेका थिए । 

उनको शैक्षिक पृष्ठभूमिलाई  अमेरिकन बोर्डले अध्ययन गरेपछि उनी अन्तर्वार्ताका लागि सर्ट लिस्टमा परेका थिए । बोर्डले तोकेका अनुभवी चिकित्सकहरुको टोलीले लिएका छुट्टाछुट्टै दुई ओटा अन्तर्वार्तामा प्राप्त गरेको अंकको आधारमा उनलाई एफएसीएसको उपाधि दिइएको हो । 

उनलाई आइतबार बिहान अमेरिकाको सान फ्रान्सिसको सहरमा संसारभरिबाट अमेरिकन कलेज अफ सर्जनको वार्षिक बैठकमा सहभागी हुनको लागि जम्मा  भएका हजारौँ शल्य चिकित्सकहरुको उपस्थितिमा उक्त उपाधि दिइएको हो । 

उक्त उपाधि पाएसँगै नयाँ प्रविधिहरुसँग सजिलो पहुँच हुने डा केसीले बताए । जसले उनको शैक्षिक पृष्ठभूमिलाईलाई थप मजबुत पार्ने र त्यसको प्रत्यक्षा फाइदा बिरामीहरुलाई हुने पनि बताए । 

दुइ वर्ष पहिला बेलाएतबाट एफआरसीएसको उपाधि पाएका डा केसीले यसपटक एफएसीएसको उपाधि पाएका हुन् । 

को हुन् डा कपिल मणि केसी ?
हाम्राकुरा डट कमका स्तम्भकार डा केसी १० वर्ष निजामती अस्पताल काठमाडौँमा काम गरेपछि विगत साढे तीन वर्षदेखि मर्सि सिटी अस्पताल बुटवलमा अर्थोपेडिक र जोर्नी प्रत्यारोपण विशेषज्ञका रुपमा कार्यरत छन् । उनी देवदह मेडिकल कलेजमा सहप्राध्यापकको रुपमा पनि कार्यरत छन् । 

गुल्मीको टिमुरखर्कमा जन्मेका उनी पाँच कक्षासम्म त्यही गाउँको स्कुलमा अध्ययन गरे भने ६ देखि ८ कक्षासम्म पृथ्वी मावि पुर्कोट दहमा अध्ययन गरे । अहिले जस्तो बाटोघाटोको सजिलो पहुँच नभएकाले त्यो बेला उक्त भूभाग अति दुर्गम क्षेत्रमा गणना हुन्थ्यो । 

४ कक्षामा गएर मात्र अंग्रेजीका ए, बी, सी, डी सिक्ने मौका मिल्दथ्यो । कुनै-कुनै विषयमा शिक्षक नै नहुने हुनाले आफैँ अध्ययन गर्नुपर्ने हुन्थ्यो । स्कुल पुग्नको लागि कम्तिमा ४५ मिनेट बिहान र त्यति नै समय साँझ हिँड्नु पर्दथ्यो। 

धेरैजसो विद्यार्थी हरु ८/९ कक्षा पढेर भारततिर नोकरी गर्न जाने चलन थियो । जीवनमा त्यस्तो कुनै लक्ष्य नलिएका यद्यपि राम्रोसँग पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने सोचाइ राख्ने उनी कक्षा ९ र १० को अध्ययन बाल शिक्षा मावि प्युठानबाट पूरा गरेका थिए ।
 
२०५० सालको एसएलसीमा जिल्ला फर्स्ट भएपछि अमृत साइन्स कलेज काठमाडौँमा प्रवेश परीक्षामा नाम निकालेर उक्त कलेजमा अध्ययन गर्ने मौका पाएका थिए। त्यो समयमा अस्कलमा आईएससी पढ्न पाउनु निकै ठूलो कुरा हुन्थ्यो। आईएससी पढ्दादेखि मात्र डाक्टर बन्ने उद्देष्य लिएका उनले त्यसपछि एमबीबीएस कोर्समा  नाम निकाल्नका लागि निकै दुःख कस्ट झेल्नु पर्यो । 

त्यो बेलामा एमबीबीएस अध्ययनको लागि निकै सीमित कोटाहरुमात्र उपलब्ध थिए । शिक्षा मन्त्रालयबाट लिने परिक्षामा नाम निकालेपछि उनले एमबीबीएस अध्ययनको लागि मौका पाए । एमबीबीएसको पढाइ सकाएपछि एमडी पढ्नको लागि त झन् निकै कम सिटहरुमात्र उपलब्ध थिए त्यो बेलामा । 

महाराजगंज मेडिकल कलेज, बीपी केआईएचएस धरान, एक दुई निजी मेडिकल  र सीमित विदेशी कलेजहरुमा सीमित कोटाहरुमात्र थिए । २०६३ सालमा उनले माहाराजगंज मेडिकल कलेजको प्रवेश परिक्षा, विदेशी कोटाको लागि शिक्षा मन्त्रालयले लिने  परीक्षा, केही थोरै निजी मेडिकल कलेजको लागि केयूले लिने प्रवेश परीक्षा र लोक सेवा आयोगले  सरकारी जागिरको लागि लिएको प्रवेश परिक्षामा उच्च स्थानमा रहेर एकै पटक पहिलो प्रयासमा नाम  निकाल्न सफल भए ।

सबै ठाउँमा पढ्न पाउने विकल्पहरुलाई  छाडेर उनले महाराजगंज मेडिकल कलेजमा २०६४ सालमा एमएस अर्थोपेडिक विषयमा अध्ययन शुर गरे।र २०६८ सालमा आफ्नो अध्ययन पूरा गरे । एमएस अर्थोपेडिकमा पनि उनी प्रथम भएका थिए । त्यसपछि जागिर खाने सिलसिलामा निजामती अस्पतालले लिएको परीक्षामा एक नम्बरमा नाम निकालेर अर्थोपेडिक विभागमा  काम शुरु गरे । 

काम सँगसँगै उनले आफ्नो अध्ययनलाई पनि सँगसँगै  अगाडि बढाए । उनी पढाइलाई जहिले पनि मनोरंजनको रुपमा लिने हुनाले काम सँगसँगै पढाइ गर्न पनि त्यति गाह्रो नहुने बताउँछन् । 

दिनभरि ओपीडीमा बिरामीहरु हेर्ने र शल्यक्रिया गर्ने काम बाहेक बिहान सबेरै उठेर आफ्नो पढ्ने कामलाई निरन्तरता दिए । सामान्यतया स्पेसलिस्ट डाक्टरको रुपमा काम गर्न शुरु गरेपछि अध्ययन सँगसँगै लैजानको लागि निकै कठिन हुन्छ । 

त्यसपछि उनले  २०७० सालमा छोटो समयको लागि भारतमा जोर्नी प्रत्यारोपणको  फेलोशिप तालिम लिएपछि निजामती अस्पताल बानेश्वरमा जोर्नी प्रत्यारोपण गर्ने टिमसँग मिलेर घुँडा र हिपको जोर्नी प्रत्यारोपण गर्ने काम शुरु गरे । 

त्यही अवधिमा उनले सिकट डिप्लोमा भन्ने अन्तर्राष्ट्रिय स्तरको जाँच पास गरेपछि पेकिंग युनिभर्सिटी चाइनामा गएर जोर्नी प्रत्यारोपण विषयमा थप फेलोशिप अध्ययन गरे । पूर्ण छात्रवृत्ति पाएको उक्त फेलोशिपलाई सिकट फेलोशिप भनिन्छ । उक्त फेलोशिप पेकिङ्ग युनिवर्सिटी जस्तो प्रतिष्ठित युनिवर्सिटीले दिएको हो। 

निजामती अस्पतालमा काम गर्दा एक हजार भन्दा बढी जोर्नी प्रत्यारोपण गर्ने शल्यक्रियाहरुमा आफ्नो टिमसँग सहभागी भए र ती शल्यक्रियाहरुलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले । त्यहीबेलादेखि नै उनले बेलायतको एफआरसीएस डिग्रीको लागि अध्ययन शुरु गरे ।

बेलायतमा स्पेशलिस्ट डाक्टरहरुको संख्या कम भएको हुनाले बेलायतले अन्तर्राष्टिय डाक्टरहरुलाई आफ्नो देशमा काम गर्ने अवसर मिलाउनको लागि छुट्टै बोर्ड गठन गरेर परीक्षा संचालन गर्ने गर्दछ।  

बेलायतकै स्टाण्डर्डमा हुने उक्त परीक्षामा दुवै सैद्दान्तिक र प्रयोगात्मक पेपर हुन्छन् । एकदमै गाह्रो मानिने र पास रेट २० प्रतिशत भन्दा कम रहेको उक्त परीक्षा पास भएको अवस्थामा बेलायतले एफआरसीएसको उपाधि प्रदान गर्दछ । 

उक्त उपाधि प्राप्त गरिपछि बेलायतमा गएर स्पेशलिस्ट डाक्टरको रुपमा काम गर्न सकिन्छ । बेलायतमात्र नभएर संसारका धेरै देशमा गएर स्पेशलिस्ट डाक्टरको रुपमा काम गर्न सकिन्छ । 

डाक्टर केसीले दुई वर्ष पहिला नै एफआरसीएस उपाधि पाइसकेका छन् । बेलायतलगायत अन्य देशहरुमा काम गर्न पाउने अवसरलाई त्यागेर उनी नेपालमै बसेर अर्थोपेडिक र जोर्नी प्रत्यारोपण विषयमा विगत लामो समयदेखि काम गरिरहेका छन् । 

यसपटक उनले अमेरिकाबाट प्रदान गरिने एफएसीएसको उपाधि पाउन सफल भएका हुन् ।

यसबाहेक डा केसी आफ्नो पेशासँग सम्बन्धित लेखहरु लेखिरहन्छन् । उनका लेखले बिरामीलाई फाइदा पुगेकी हुन्छ । किनकि उनका लेखमा बिरामीले भोगेगरेका कुराहरुलाई आधार बनाउँछन् र रोगबारे सचेत गराउँछन् । 

डा केसीले पाँच दर्जन अर्थोपेडिकसँग सम्बन्धित लेख (रिसर्च आर्टिकल) हरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थोपेडिक जर्नलहरुमा प्रकाशित गरिसकेका छन् । साथसाथै उनले नेपाली राष्ट्रिय दैनिक र अनलाइन पत्रिकाहरुमा महिनामा कम्तीमा दुईदेखि तीन वटा अर्थोपेडिकसँग सम्बन्धित चेतनामुलक लेखहरु प्रकाशित गर्ने गर्दछन् । चेतनामुलक लेखहरुले पाठकलाई सही समस्याको सही जानाकारी पाउनको लागि ठूलो योगदान गरेको देखिन्छ ।
 
उनले ओपीडीमा बिरामीहरुको चेकजाँच गर्दा औषधि भन्दा बढी काउन्सेलिङ्गलाई बढी महत्व दिनु पर्दछ भन्ने मान्यता राख्दछन् । सकेसम्म बिरामीहरुलाई प्रमाणमा आधारित रहेर उपचार गर्न रुचाउँछन् ।

कुनै पनि शल्यक्रिया गर्नु भन्दा अगाडि त्यो शल्यक्रियाबाट हुने फाइदाहरु, शल्यक्रिया गर्दा हुने सम्भावित जटिलताहरु, शल्यक्रियाको सफलता दर जस्ता गहन विषयहरुमा राम्रोसँग छलफल गरेर मात्र शल्यक्रियामा हात हाल्दा बिरामीहरुमा सन्तुष्टिको मात्र ज्यादा हुन्छ । 

उनी आफ्नो जीवनको मूल मन्त्रका बारेमा भन्छन् – मानिसहरुले आफ्नो पेशामा मजा लिन सक्नु पर्दछ । जुन क्षेत्र आफूलाई मन लाग्दछ त्यही क्षेत्रलाई आफ्नो पेशा बनाउन कोसिस गर्नु पर्दछ। आफ्नो रुची र आफूले अपनाएको पेशा मिल्न गएमा जीवनमा त्यसले ठूलो सन्तुष्टि प्रदान गर्दछ । वास्तवमा सन्तुष्टि भनेकै सुखको अनुभूति हो भन्ने मेरो विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ