arrow

पेरिस ओलम्पिकमा जुडो खेलाडी मनिता १०–० ले पराजित, एक मिनेट दुई सेकेन्डमात्र टिकिन् म्याटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
paris-olympic-manita-shrest.jpg

पेरिस । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक– २०२४ को महिला ५७ केजीमुनि तौल समूहमा पहिलो भिडन्तमै पराजित भएकी छिन् ।

इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता सोमबार इप्पोनका आधारमा पराजित भएकी हुन् । 

पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनीतालाई १०–० अंकले पन्छाइन् ।

दश वर्षको उमेरदेखि जुडो करियर शुरु गरेकी २५ वर्षीया मनिताले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छिन् । 

कलिलै उमेरमा बन्दी सहायता नियोग (पाम) मा हुर्केकी मनिताले पामबाटै जुडो करियर शुरु गरेकी थिइन् । उनका शुरुआती प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् जसले टोकियो ओलम्पिकमा सोनिया भट्टको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

मनिताले इन्डोनेसियाको जकार्ता–पालेम्वाङ तथा चीनको हाङझावमा भएको क्रमशः १८ औँ र १९ औँ एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । 

ओलम्पिक छात्रवृत्ति प्राप्त मनिताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग कप जुडो प्रतियोगितामा ‘डेब्यु’ गरेकी मनिता सोमबार औपचारिक रुपमा ओलम्पियन बनिन् । 

त्रियोग जुडोमा मनिताले स्वर्ण जितेकी थिइन् । ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनिता समग्रमा ओलम्पिक खेल्ने छैटौँ नेपाली जुडो खेलाडी हुन् ।

मनिताअघि गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले सन् १९८८ को सिओल ओलम्पिक, देबु थापाले सन् २००८ को बेइजिङ ओलम्पिक, फुपू ल्हामु खत्रीले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिक तथा सोनिया भट्टले सन् २०२० को टोकियो ओलम्पिकमा सहभागीता जनाएका थिए । 

पेरिस ओलम्पिकमा देबु मनिताको प्रशिक्षकको भूमिकामा छिन् ।

ओलम्पिक इतिहासमै पहिलोपटक रंगशाला बाहिर भएको पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा मनिताले श्यान्टुसँग मिलेर राष्ट्रिय झण्डा बोकेकी थिइन् । 

ओलम्पिकको जुडोमा नेपालले हासिल गरेको ठूलो उपलब्धि भनेको फुपूले पूरा ४ मिनेट समय ‘म्याट’ मा बिताउनु हो ।

सन् २०२३ को युरोपियन जुडो च्याम्पियनशिपकी रजत विजेता २५ वर्षीया मरिकासंग टोकियो ओलम्पिक, विभिन्न ४ आईजेएफ विश्व जुडो च्याम्पियनशिप, विभिन्न १३ वल्ड टुरलगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । मरिकाकी आमा रदमिला पनि जुडो खेलाडी हुन् ।

पेरिस ओलम्पिकमा मनितासँगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । 

यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल बाहिरिइसकेका छन् । 

सोमबारै नेपालका प्रिन्स दाहालले समूह चरणको आफ्नो दोश्रो खेलमा नेपाली समयअनुसार राति १२ः५५ बजे आयरल्यान्डका हात गुयेनसँग प्रतिस्पर्धा गर्ने छन् । 

मंगलबार हुने नेपालको एक मात्र प्रतिस्पर्धामा पौडीका एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ