arrow

पेरिस ओलम्पिक

सातमध्ये पाँच नेपाली खेलाडी पहिलो चरणबाटै बाहिरिए, एलेक्सको मात्र व्यक्तिगत प्रदर्शनमा सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
alex-shah-paris-olympic-202.jpg

पेरिस । नेपाली पौडीबाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष एक सय मिटर फ्रिस्टायलमा मंगलबार राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । पेरिस ला डिफेन्स एरिनामा एलेक्सले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । 

सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनशिपमा बनाएका थिए ।

पेरिसमा एलेक्सले तेश्रो हितमा प्रतिस्पर्धा गरेका थिए । हितमा पहिलो लेनमा रहेका एलेक्जेन्डर सहभागी ८ प्रतिस्पर्धीमध्ये तेश्रो भए । समग्रमा भने एलेक्जेन्डर ५९ औं स्थानमा रहे । १० चरणको हिटमा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

हिटमा शीर्ष १६ स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे ।

नेपाली चर्चित पौडी खेलाडी सोफियाका सहोदर भाइ एलेक्जेन्डर ५० मिटर फ्रिस्टायलका पनि राष्ट्रिय कीर्तिमानधारी हुन् । उनको नाममा २३.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । 

२५ मिटर लम्बाईको पौडी पोखरीमा हुने प्रतिस्पर्धा सट कोर्समा एलेक्जेन्डरको नाममा ४ राष्ट्रिय कीर्तिमान छ । उनको नाममा ५०–१०० मिटर फ्रिस्टायल र ब्याकस्ट्रोकमा गरी ४ राष्ट्रिय कीर्तिमान छ । 

चारै कीर्तिमान एलेक्जेन्डरले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए ।

एलेक्जेन्डरको यो दोश्रो ओलम्पिक हो । टोकियो ओलम्पिक– २०२० मा पनि सहभागी एलेक्जेन्डरले उद्घाटन समारोहको मार्च पास्टमा सागको एकै संस्करणमा स्वर्ण जितेकी गौरिका सिंहसँगै राष्ट्रिय झण्डा बोकेका थिए ।

पौडीमा एलेक्जेन्डरसहित २ ओलम्पिक खेल्ने ३ खेलाडी छन् । तीनैले लगातार ओलम्पिक खेलेका छन् । प्रसिद्धजंग शाहले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिक तथा गौरिकाले २०१६ को रियो तथा २०२० को टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । 

सबैभन्दा बढी ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी भने पूर्व धावक बैकुण्ठ मानन्धर हुन् । उनले १९७२ देखि १९८४ को अवधिमा भएको चार ओलम्पिक लगातार खेलेका थिए ।

दक्षिण कोरियाको ग्वाङजुमा सन् २०१९ मा भएको विश्व पौडी च्याम्पियनशिपमा ‘डेब्यु’ गरेका एलेक्जेन्डरले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५० र १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका थिए । 

अमेरिकाको न्यूयोर्क बस्ने एलेक्जेन्डरले अमेरिकामै पेरिस ओलम्पिकको तयारी गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुन एलेक्जेन्डर अमेरिकाबाट पेरिस आइपुगेका हुन् । पेरिसबाटै न्यूयोर्क जाने एलेक्जेन्डरले जानकारी दिए ।

न्यूयोर्कस्थित फोर्डम विश्वविद्यालयमा साइकोलोजी अध्ययन गरिरहेका २१ वर्षीय एलेक्जेन्डर फुटबल, चित्रकला र फोटोग्राफीमा पनि रुची राख्छन् । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा सहभागी भइसकेका एलेक्जेन्डरसँग ३ विश्व च्याम्पियनशिप खेलेको अनुभव छ ।

सन् १९६४ को टोकियो ओलम्पिकको १८ औं संस्करणदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थाले पनि पौडीमा भने नेपालीले सन् १९९६ मा अमेरिकाको एटलान्टा ओलम्पिक (२६ औं संस्करण) देखिमात्र सहभागी हुन थालेको हो । 

यो अवधिमा लगातार सहभागी हुने क्रममा १४ पौडी खेलाडीले नेपालको चुनौती ओलम्पिकमा प्रस्तुत गरिसकेका छन् । त्यसमा पुरुष–महिलाको संख्या बराबर ७–७ छ । 

ओलम्पिकमा नेपाली पौडीबाजले चर्चा कमाएको सन् २०१६ को ३१ औं संस्करणको रियो ओलम्पिकमा हो । त्यो ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी बन्दै गौरिका सिंहले विश्वव्यापी रुपमा चर्चा बटुलेकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाएपछि मिक्स जोनमा एलेक्जेन्डरले कीर्तिमान सुधार गर्न पाएकोमा खुशी व्यक्त गर्दै परिवार, प्रशिक्षक, पौडी परिवार र सरोकारवाला सम्पूर्णलाई धन्यवाद दिँदै सागलगायत आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा ध्यान दिने बताए ।

पेरिस ओलम्पिकमा एलेक्जेन्डरसहित ५ खेलाडीको यात्रामा पूर्णविराम लागिसकेको छ । यसअघि पौडीकै डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

अब २ खेलाडीको प्रतिस्पर्धा बाँकी छ । ब्याडमिन्टनमा प्रिन्स दाहालले बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग खेल्ने छन् । उनी अर्को चरणको होडबाट भने लगभग बाहिरिएका छन् । 

एथलेटिक्सको महिला म्याराथनमा सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगस्त ११ तारिखमा प्रतिस्पर्धा गर्ने छिन् । 

सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ । सन्तोषी फ्रान्सको समय अनुसार आजै राति १०ः३० बजे पेरिस अवतरण गर्ने तालिका छ ।
 



नयाँ