arrow
ADVERTISEMENT

‘घुरको धुवाँ’ मा रगमँगिएको एउटा ‘म’ 

logo
डा राजेन्द्र विमल, 
प्रकाशित २०८१ भदौ २९ शनिबार
rajendra-bimal-rajesh-khanal.jpg

हामी के हौँ ? हामी हाम्रो वंशाणु (जिन्स) र हाम्रो परिवेशका परिणाम हौँ । यो वंशाणु र हामी जन्मेको र हुर्केको परिवेश हाम्रा बाध्यात्मक स्वीकृति हुन; स्वतन्त्र रोजाइ होइनन् । यस अर्थमा हाम्रो व्यक्तित्व, वंशगत र परिवेशजन्य, संस्कारबद्ध चेतनाको विरल उन्मेष हो । 

दैनिक जीवनमा कुनै अवस्था, परिदृश्य वा घटनाप्रति अभिव्यक्त हाम्रा प्रतिक्रिया यसै संस्कारबद्ध चेतना (कन्डिसन्ड कनसस्नेस)द्वारा सहज निर्देशित हुन्छन् । हामी अतीतका प्रतिफल भएको हुँदा अतीतप्रतिको हाम्रो सम्मोहन सहज र स्वाभाविक हो । वर्तमान शुष्क गद्य हुन सक्छ, तर अतीत सधैँ सरस, काव्यात्मक हुन्छ । अतीतले सधैँ हामीलाई तानेको हुन्छ । 

हामी घन्टौं अतीतको महासागरमा डुबुल्की मार्न चाहन्छौं, हामीलाई आनन्द लाग्छ । हामी अघाउँदैनौं । पीडादायक वर्तमान पनि जब अतीत बन्दछ, त्यसलाई सम्झिँदा सम्झिरहूँ जस्तो लाग्छ । अतीतको यस मोहिनीलाई ‘नस्टाल्जिया’ भनिन्छ, अंग्रेजीमा । नेपालीमा यसलाई ‘अतीत–आसक्ति’ भन्न सकिन्छ । यो ‘अतीत–आसक्ति’का लागि ‘नोस्टाल्जिया’ शब्दको प्रयोग १७औं शताब्दीमा चिकित्साशास्त्रका एक जना छात्र जोहान्नेस होफरले गरेको पाइन्छ । 

अचम्म के छ भने यो अतीत–आसक्ति आह्लादकारी वा विषादकारी दुवैमध्ये कुनै एक किसिमको हुन सक्छ । अतीतमा कुनै घटनाको स्मृति गर्दा आह्लादित होइन्छ भने कुनैको स्मरण गर्दा विषाद उत्पन्न हुन्छ । साथीहरूसँग रमाएको घटनाको स्मृति आह्लादकारी हुन्छ भने साथसँग बिछोड भएको, पारपाचुके भएको, कहर काटेको घटनाको स्मृति विषादकारी वा अवसादकारी हुन्छ । तर अचम्म के छ भने विषादकारी घटनाको स्मृतिमा पनि एक किसिमको नशा हुँदो रहेछ, जसमा डुबेर मानिसले एक किसिमको प्रच्छन्न आनन्द पाउँदछ । 

यस संग्रहमा समाविष्ट संस्मरणात्मक निबन्धहरूमा आएका घटनाहरू उल्लासकारी, उत्साहदायक र कुत्कुत्याउने खालका छन् । त्यसैले पढ्दापढ्दै पाठक आनन्दित हुन्छ, रमाउँछ, मुस्कुराउँछ, हाँस्छ । सबै निबन्धहरूले मेरो बाल्यकाल र युवाकालका क्रीडा–कौतुक तथा जीवन–शैलीलाई सम्झाएका छन् ।

यी संस्मरणात्मक निबन्धका रचनाकार राजेश खनालको हृदयमा बसेको मधेस उनले कलम समाउनासाथ उनको लेखनीको टुप्पोमा आएर बस्तछ र मसी र कागजको स्पर्श हुनासाथ आफ्ना रूप, रस, गन्ध, स्पर्श र ध्वनिसहित साकार भएर प्रकट हुन्छ, गङ्गा नदीबाट गङ्गा प्रकट भएजस्तै, आगोको लप्कोबाट अग्निदेवता प्रकट भएजस्तै ! 

आजभन्दा चार–पाँच दशकअगाडि मधेसको जीवनमा देखिने धेरैजसो अर्थ–सामाजिक, सांस्कृतिक, मनोरंजनात्मक, प्राकृतिक, शैक्षिक वा अन्यकिसिमका दृश्य, घटना तथा परिवेश आज लुप्त वा लोपोन्मुख छन्, अथवा तिनमा केही सकारात्मक र केही नकारात्मक परिवर्तन वा रूपान्तरण भएका छन् । 

उदाहरणका लागि निम्नलिखित निबन्धलाई पढ्नुपर्छ । ‘डिबियाको उज्यालोमा पुस्तक’ निबन्धमा हजुरबाको खैनी माडेर लुकीलुकी आफैंले पनि एक ‘जुम’ (चिम्टी) ओठमा दाबेको दृश्य, कसैकसैले नाकमा खैनीको धुलो हाल्ने अम्मल गरेको कुरा, स्कुलको होस्टलमा बिजुली खैनीको डब्बा लुकाएको र वार्डन कविराज सरले सिरान उचालेर त्यो डब्बा फेला पारेपछि उनको भोल्टेज हाइभएको कुरा, लुकीलुकी देवकी नन्दन खत्री, कुशवाहा कान्त, कर्नल रञ्जित आदिले लेखेका हिन्दी उपन्यास पढ्ने गरेको कुरा, आदि तत्कालीन छात्रजीवनका सामान्य तर रोचक घटना हुन् ।

‘सीता बिंडी खाइरहेकी छिन्’ भन्ने निबन्धमा चित्रित रामलीलाको दृश्य हेर्नहोस्— माघको थुर्थुर कमाउँदो ठिहीमा गाउँमा रामलीला हुँदैछ । दर्शकहरू पराल ओछ्याएर गुजमुज्ज परी बसेका छन् । रामायणका सबै पात्रहरू खाटको चाङ लगाएर बनाइएको मन्चमा अभिनय गर्दैछन् । कम्लुमामालाई पिसाबले च्याप्यो । उनी पिसाब फेर्न मन्चपछाडि गए । फर्केर आएपछि आमालाई कराएर सुनाए ः ‘आमा ! आमा ! पछाडि सीता भगवान् त बिंडी खाइरहेकी छिन् ।’

रामलीला समाप्त भएपछि राम–सीताको आरती गर्ने चलन अझै कतैकतै जीवित छ । त्यसपछि आरतीको थाल दर्शकहरूमा लगिन्छ । सबैले एक रुपैयाँ, आठ आना, चार आना, दस पैसा, पाँच पैसा हाल्ने चलन त्यति बेला थियो; आज रकम बढेको छ महंगीले गर्दा । आरतीको थालमा रहेको फूलको माला कुनै मनकारी भक्तले उठाउनुको अर्थ हुन्छ—अर्को दिनको बिहान–बेलुकीको खानादेखि सुपारी, चुरोट, बिंडीसम्मको खर्च माला उठाउने परिवारले आफ्नै घरमा व्यवस्था गर्नु । माला उठेन भने रामलीला कम्पनी अर्कै गाउँमा जान्थ्यो । अब यो रामलीला कतैकतै मात्र भएको सुनिन्छ । मैले देखेको छैन ।

‘सारा दिन अरूलाई बाँड्ने सुन्दर मामा’ निबन्धमा मावली गाउँ भलुवाहीको परिवेश जीवन्त भएर आएको छ । भलुवाही (सिरहा)को सांस्कृतिक जीवनका दुई संजीवनी–व्यक्तित्व मामा (ख्यातिप्राप्त चिकित्सक, नेपालका प्रथम सर्जन डा. अञ्जनीकुमार शर्मा) र अर्का मामा सुन्दरमणि उपाध्याय थिए । लगभग प्रत्येक दशैं त्यहाँ नाटकको उपायोजन हुन्थ्यो र ती नाटकमा यी दुवै व्यक्तित्वको अग्रणी भूमिका हुन्थ्यो । 

लेखककै शब्दमा— 
‘म सम्झिरहेछु त्यो रङ्गमञ्च— जहाँ मेरा मामा र फुपाजू स्टेजमा उक्लिएर प्रहसन भन्थे ः 
लखपतिया, जनकपुर कितना दूर है ? 
चलिए चलिए हुजुर, अब थोड़बे दूर है ।... 
सुन्दर मामाले हारमोनियम फेट्दै गीत गाउन सुरु गर्थे— 
सारा दिन अरूलाई बाँडे
सायद यी रात मेरा...’

‘न्यारोगेज नोस्टाल्जिया’मा ‘जनकपुर जयनगर रेल चढेर जयनगर सिनेमा हेर्न गएको मीठो सम्झना छ । जनकपुरको हनुमान टाकिजमा मच्छडले धेरै दुःख दिएको र रेल चढेर जयनगरमा अलका र जयहिन्द टाकिजमा सिनेमा हेर्न गएको बेला गुडिरहेको रेलबाट मानिस ओर्लेर पेसाब गरेर फेरि रेलमा चढ्ने गरेका दृश्य सम्झन्छन् लेखक । ट्रेनमा सकरपाला, बतासा र हावा मिठाई बेच्नेहरूलाई पनि बिर्सेका छैनन् निबन्धकारले । अझ बीचको स्टेसन खजुरीमा प्याजी पकोडा खाएको स्वाद अहिले पनि जिब्रोमा टाँसिएको अनुभव गर्छन् ।

भलुवाहीमा सुकेको रोटी, नाटक खेल्न ‘सूखी रोटी’ भन्ने हिन्दी नाटक ल्याएको र उल्था गरी खेलेको सम्झना गरेका छन्, निबन्धकार खनालले— ‘तिर्सनामा सुकेको रोटी’ निबन्धमा । 

‘विस्मृतिको गर्तमा छोपिएको एउटा स्मृति’ शीर्षक निबन्धमा ठिटौले उमेरका लेखक रेश्मा बाईको नौटंकी हेर्न १० जनाको तन्नेरी डफ्फापछि लागेर जलेश्वरपूर्वको गाउँमा चकमन्न अँध्यारो रातमा हिँडेको कथा छ । 

लेखकले त्यसबेला जलेश्वरमा भारतको सीतामढ़ी र मुजफ्फरपुरबाट थिएटर कम्पनीहरूमा आउने गरेका आशा बाई, मीना बाईका अभिनय र किशोरहरूलाई काउकुती लाउने हाउभाउलाई पनि सम्झेका छन् । काठमाण्डूमा कमलपित्त       (जन्डिस) भन्ने रोग लागेर दुर्बल भएर जनकपुरको घरमा तितो ‘गाहकरण’ खाएको निबन्धकार खनालले बिर्सन सकेका छैनन् ।

‘घुरको धुवाँ’ र त्यो गाउँले संस्कृति, कता हरायो ! औरही (ससुराली गाउँ)मा घुरको धुवाँसँग रंगमगिएका लेखक भलुवाहीमा तापेका घुर सम्झन पुग्छन् । गुहालीबाट निस्किने गाई–भैंसीका गोबरबाट तयार गरिएका गुइँठा, चिपरी, दाउरा र पुआल बालेर जाडोबाट मुक्ति पाउने प्रयासमा लीन सोझासाझा गाउँलेहरू ! गजब थियो त्यो घुर संस्कृति । घुरको वरिपरि गाउँका सामाजिक, राजनैतिक, आर्थिक, कृषिसम्बन्धी सबै ग्रामीण समस्याको समाधान त्यहीं खोजिन्थ्यो र पाइन्थ्यो पनि । 

गाउँको फोहोर–मैलाको साङ्गोपाङ्ग व्यवस्थापन गरेको थियो घुरले । ग्रामीण एकताको धुरी थियो घुर र त्यो समतामूलक समाजको जल्दो बिम्ब थियो । यसै निबन्धमा डा. विमलकुमार शर्माले घुरलाई एउटा ट्युसन सेन्टरको संज्ञा दिएका छन् ।

‘अन्धडको टिकुला’ले चैत–बैशाखतिर चल्ने ठूलो हुरी–हुन्डरी, कड्किने बिजुली, झमझम दर्किने पानीमा जब कैयौं बिगहासम्म फैलिएको ऑपघारीमा आँपका चिचिला (टिकुला) धप–धप झर्न थाल्थे, बगैँचाका मालिक र तिनका परिवारका बच्चा, महिला, युवक मिलेर झरेका ‘टिकुला’ बटुल्न ढक्कीहरू लिएर कुद्ने दृश्य ‘म्याराथून रेस’ दृश्यभन्दा कम हुँदैनथ्यो । 

लेखकले चौरिया, कृष्णभोग, बम्बई र श्रीधन आँपहरू काँचै चपाएको र हजुरआमाले कुच्चा, फँडा र खटमिट्ठी अचार बनाएको पनि सम्झेका छन् । चोभा मार्ने काम पाकेको आँपमा खासा हुन्थ्यो रे !

‘त्यो शुक्रबारे लकडाउन’मा कोरोना कहरमा कुँजिएर घरमै बस्ने बाध्यता भएको बेला लेखकले माइजूले शुक्रबारे व्रतको उद्यापन गर्दा आफूले निम्तो पाएको, तर मीठोमीठो परिकारको स्वाद लिएपछि आँपघारीमा गई अमिलो आँप खाइदिन्छन् भन्ने डरले आफूहरू (अरू पनि सात केटाहरू)लाई काठेघरको माथ्लो तलाको बार्दलीमा थुनेको घटना सम्झेका छन् । 

भलुवाहीसितको लेखकको प्रेम ‘भलुवाहीदेखि भलुवाहीसम्म’मा अझ गाढा भएर आएको छ । उनले फेरि पनि त्यहाँ खेलिने ‘तोता–मैना की कहानी’ र आल्हारुदल नौटंकीको आयोजन र प्रदर्शनलाई सम्झेका छन् । उनी धौनखी, जुठे, जीबछाहरूले गाउँमै गरेको नाच हेर्नुसँगै छेउछाउका गाउँ बेलहा, थलहा, पदमपुर, नरहियासम्म गएर नाटक हेरेको पनि सम्झेका छन् ।
‘भोरहरवी भजनले सम्झाएको शोले सनक’ निबन्धमा लेखकले आफू कुनै भोर मधेसको कुनै गाउँमा रहेको सम्झन पुग्छन् । तराईको मच्छड–आतङ्कले रातभरि सुत्न दिएको छैन र एकाबिहानैदेखि लाउडस्पीकर ढ्वाङबाट आउने हनुमान चालिसा पाठ, महामृत्युञ्जय स्तोत्र, रूद्राष्टकम् र शिवताण्डव स्तोत्रम्को चर्को आवाजले झन् दुःख दिएको छ । यसैबीच मस्जिदबाट आउने ‘अजान’को आवाज पनि आउन थाल्छ । ...साँझमा सुनिन्छ— मुन्नी बदनाम हुई..., शीला की जवानी..., कमरिया करे लपालपः । फेरि रात पर्छ र कतै टाढाबाट कुटानी–पिसानी मिलको पुकपुक–पुकपुक आवाजले निस्तब्धताको छातीलाई क्रूरतापूर्वक चिरेको हुन्छ । ...तीन बजे बिहानै हजुरबा श्लोकहरू भट्याउन थालिहाल्नुहुन्थ्यो । कान्छाबा खोक्न थाल्नुहुन्थ्यो । बाबुको आवाजले शून्यतालाई चिथ्र्यो, ‘हिजो कुन खेतमा पानी पटाउन लगाउनु भयो दाजै ?’

बाबाको जवाफ आउँथ्यो— ‘थाननजिकको कोलामा ।’

लेखकले त्यस बेला ‘शोले’ फिल्मको जगजगी भएको कुरा पनि स्मरण गरेका छन् ।
‘बाइजी नाचको झटका’ हेर्न सुगा गाउँमा गई रेश्मा बाईको नाच हेरेछन् । जलेश्वरमा आउने गरेको आशा थिएटरमा गई टॉकघरजस्तो प्वालमा आँखा टाँसी बाइजीको वक्षस्थलको कम्पन किशोरावस्थामै नियालेर लिएको मज्जाको बयान छ यस निबन्धमा ।

‘जन्मभूमिमा अन्तिम शिविर’मा निबन्धकारले आफ्ना प्रातःस्मरणीय मामा, सुप्रसिद्ध चिकित्सक डा. अञ्जनीकुमार शर्माले भलुवाहीमा लगाउनुभएको स्वास्थ्यशिविरको भावुकतापूर्ण वर्णन छ । त्यसै बेला मामा डा. शर्मालाई आफ्नै जन्मभूमि भलुवाहीमा गाउँलेहरूले सम्मान गर्दा उहाँ भावुक भएको दृश्यले निबन्धकार स्वयंलाई भावाविष्ट बनाएकी प्रतीत हुन्छ ।

‘तिर्न नसकेको त्यो पाँच रुपैयाँ’ भन्ने निबन्धमा किशोर–कालमा भोगेको आर्थिक संकटको शब्दचित्र मर्मस्पर्शी शैलीमा प्रस्तुत गरेका छन् । लेखककै शब्दमा, ‘पाँच पैसा हात लागे लेमनचुस खाइन्थ्यो । एक दुई रुपैया हात लागे सहरतिर भागिन्थ्यो सिनेमा हेर्न । सिनेमापछि पैसो राम्रै उब्रिए जिलेबीले मुख रसाइन्थ्यो । हैन भने मुरही र चियामा नास्ता टारिन्थ्यो । 

‘वानर बनेर उफ्रिँदा’ निबन्धमा महोत्तरीको भरतपुर भन्ने गाउँमा आयोजित हनुमान अराधनाको बयान छ । आराधनाको कार्यक्रमभित्र रामचरित मानसको सुन्दरकाण्डको नाट्य रूपान्तरण प्रस्तुत गरिएको थियो । एउटा पुरुष महिला पात्र बनेको चर्चा छ निबन्धमा । त्यो नक्कली महिलाको पेटमा पुरुष–रौँ बाक्लो रहेको छर्लङ देखिन्थ्यो ।

‘मुरही कचरीले थकान मार्दा’मा काठमाण्डूदेखि भरतपुर महोत्तरीसम्मको यात्राको रोचक वर्णन छ । गाउँमा रवि दाजुको लङ्गोटिया साथीको ठेलामा बेचिएको कचरी, आलुचप र मुरही–च्युराको ‘पनपियाई’को, सिन्धुलीगढीको सेल्फी डाँडामा सुन्तला र जुनार बग्रेल्ती देखेर मुख रसाए पनि खाली पेटमा अमिलो झोलले ज्यानलाई राम्रो गर्दैन भनेर दुई–चार पिस बिस्कुट खाएर चित्त बुझाएको सन्दर्भहरू पढ्दा ओठ मुस्कुराएको थाहै नहुने ।

‘साथी हो, आज परोर पाकेको छ’ शीर्षक निबन्धमा जलेश्वर हाइस्कुलको होस्टलमा बस्ता मेसमा परोर पाक्ता ठूलो महोत्सवको माहोल हुन गएको वातावरणको रोचक चित्रण छ । होस्टलमा आफू बसेको कोठा र जीवन–शैलीको एउटा झल्को हेर्नुस् ः

‘कोठामा आठ विद्यार्थी सुत्ने गरी आठैवटा खाट राखिएको थियो । ...बिहान नित्यकर्म उप्रान्त सरस्वती मन्दिरअगाडि वन्दना गर्न लाम लागिन्थ्यो । त्यहाँ हाजिरी जनाएपछि मात्र आफ्नो ओछ्यानमा पलेटी कसेर पढन बसिन्थ्यो । ...बिजुली बत्ती थिएन । लालटिनको उज्यालोमा काम चलाइन्थ्यो । पंखा थिएन । हावाका लागि झ्याल खोल्यो, झुल बाँध्यो । ...गर्मी भए पनि म दुईतीन दिनमा एक फेर नुहाउँथें । ...’ 

नेपालको संस्कृति संश्लिष्टात्मक छ । नेपालका सबै संस्कृतिको संश्लिष्ट स्वरूपलाई हामीले नेपाली संस्कृति भन्छौं । मुख्यतः हाम्रो देशको भौगोलिक बनोटले हामीलाई एक–अर्काको संस्कृतिसित परिचित हुनुमा अलिक कठिनाई उत्पन्न गरेको छ । यस्तो अवस्थामा नेपाली भाषा र साहित्यले मात्र एक–अर्काको भाषा, साहित्य, खानपान, पहिरन, गर–गहना, धार्मिक आस्था, लोकविश्वास, लोकगीत, गाथा, कथा, किम्बदन्ती, प्राकृतिक र अर्थ–सामाजिक अवस्था आदिसित परिचित गराउन सक्तछ । 

देशको भावनात्मक ऐक्यबद्धताको लागि एक–अर्काको पारिस्थिति र संस्कृतिसित परिचय प्राप्त गर्नु, परस्पर अन्तर–सांस्कृतिक सम्बन्ध स्थापित गर्नु र एकअर्काका सांस्कृतिक घटकलाई सम्मान गर्नु आवश्यक छ । नेपालको अखण्डता र भावनात्मक एकतासम्बन्धी चेतनाको सम्बद्र्धनमा ‘घुरको धुवाँ’ एउटा महत्त्वपूर्ण योगदान हो ।

यस कृतिमा ‘पनपियाइ’, ‘जुम’, ‘डगहर’ जस्ता बग्रेल्ती प्रयुक्त मैथिली शब्दहरूले मधेसको सिङ्गो परिवेशलाई साकार पार्न सहयोग गरेका छन्, मधेसको माटोको सुगन्ध फिंजाएका छन् ! नेपाली शब्दकोशमा ती शब्दहरूको प्रविष्टिको प्रच्छन्न प्रस्ताव अगाडि सारेका छन्; नेपाली भाषाको विकासमा नयाँ दृष्टि तथा नौलो आयाम थपेका छन् ।

निबन्धकार राजेश खनालको ललित निबन्धसंग्रह ‘घुरको धुवाँ’ नेपाली निबन्धसाहित्यको एउटा बहुमूल्य उपलब्धि हो । नेपाली साहित्यका अनुरागीहरू निबन्धकार राजेश खनालको सरस, सहृदय अतीत–यात्राका सहयात्री भएर डेगडेगमा आह्लादित हुनुहुने छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।

नेपाली निबन्धसाहित्यको इतिहासमा यो पहिलो निबन्धसंग्रह हो, जसका सबै निबन्ध आफंैले भोगेको मधेसको जीवनमा केन्द्रस्थ छन् । त्यसैले यस संग्रहको एउटा विशेष महत्त्व छ । यो मधेसको ‘अलबम’ पनि हो र लेखकको जीवनका केही खण्डचित्रहरूको सुन्दर संकलन पनि ।

नेपाली साहित्य–सृजनको मनोरम लोकमा लेखकको ‘धमाकेदार’ प्रवेशलाई म अभिनन्दन र दुग्धाभिषेक गर्दछु ।
देवीचोक, जनकपुरधाम । (घुरको धुवाँको भूमिकाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ