विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन - ओली [भिडियो]
जे सुकै भए पनि प्रधानमन्त्रीलाई गाली नगरीकन चित्त नबुझ्ने तत्त्वहरू छन् नेपालमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
769
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताए। उनले विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्ने उनको भनाइ थियो । साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ । तर मुक्त मनले चल्दा, नियम, कानून र प्रक्रियाभित्र चल्नुपर्छ । त्रिभुवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो । नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्यो । ड्रामा अफ मेरिटोक्रेसी होइन । साँच्चैको मेरिटोक्रेसी हुनुपर्छ । म सधैँ देखिरहेको छु, कुलपतिले हस्तक्षेप गर्यो, मेरोविरुद्ध त यसैपनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन । वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन । कहीँ मान्छे हार्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हार्टअट्याक किन हुँदैन । जे सुकै भए पनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन त चित्त नबुझ्ने तत्त्वहरू छन् नेपालमा । मेरो कुनै हस्तक्षेप होइन । हामी सबैले साना कुरामा नल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ । हिजो मात्रै पनि अखबारमा छापियो, प्रधानमन्त्रीको हस्तक्षेपले गर्दा मात्रै पनि विलम्ब भयो । अहिले पनि उपकुलपतिजीले कसो कसो एउटा शब्द भने । किन विलम्ब भयो, भन्दा खै मैले राम्रो बुझिन । निष्पक्ष र मेरिटोक्रेसीमा आधारित भएर गर्नुस् ।’
प्रधानमन्त्री ओलीले विश्वविद्यालय अप्ठ्यारोमा नपरोस् भन्ने कुरामा कुलपतिले ध्यान दिने पनि बताए । उनले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिए । साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास गरेको छ । सभामा पेस भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन् ।