arrow

चरम बेथितिको पराकाष्ठा

त्रिविका सरहरु तपाईंहरुलाई मान्नैपर्छ 

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८१ पुष २१ आइतबार
shiva-prasad-pokharel-81-9-२१.jpg

के आशा गर्ने त्रिभुवन विश्वविद्यालयका शिक्षकले पढाएका, त्यहाँको व्यवस्थापनबाट छर्लंगै सिकेका कर्मचारी, नेता, शिक्षक, सुरक्षाकर्मी, म आदिबाट ? नेपालमा सकारात्मक परिवर्तन खोज्ने हो भने ढlला नगरिकन पुतौँ जमेर रहेको फोहरको थुप्रो सदाको लागि सफा गरेर नयाँ संरचना तयार गर्नुपर्छ। त्यही फोहरको डंगुरबाट हुर्किएकाहरुले जे सिके र ज्ञान लिए उसै अनुसार गर्दा आज देश नै लजाउन पर्ने अवस्थामा ठेल्दिए । तपाईंहरुलाई मान्नै पर्छ।
 
फोहरमा बस्ने झिंगालाई सफा ठाउँ मन पर्दैन । सफा ठाउँमा गए पनि उसको जमातले गर्ने भनेको फोहर नै हो, जहाँ पुगे पनि उक्त स्थानलाई दुर्गन्धित बनाउने बाहेक उपलब्धि  देखिएन । वार्षिक परीक्षा लिन्छ, कुन पार्टीको विरोध छ भनेर उत्तर पुस्तिका जाँच गर्न ढिला गर्छ, त्यही बेलामा आफ्ना नांगेहरुका आफन्तले पनि परीक्षा दिएको छ यदि भने उत्तर पुस्तिका उताको यता यताको उता मिलाउँछ भन्छन्। अनि नतिजा कुर्दा कुर्दै, केही विद्यार्थी स्वर्गलोक, कोही गुप्तबास, केही विदेश पलायन भैसक्दा पनि नतिजा निकाल्दैन। तपाईंहरुलाई मान्नै पर्छ। 

अनि वर्षौं लगाएर नतिजा प्रकाशन गरी दीक्षान्त कार्यक्रम पनि गर्दो रहेछ। कार्यक्रमका लागि विद्यार्थीसँग झण्डै पाँच हजार रुपैयाँ हाराहारी लिएर दीक्षान्त समारोहमा भिर्ने पोशाक भाडामा पनि दिँदो रहेछ। परिवारका सदस्यलाई कार्यक्रममा प्रवेश गर्ने व्यवस्था अनुरुप शुल्कको नाममा प्रति व्यक्ति तीन सय रुपैयाँमात्र लिँदो रहेछ। 

कस्तो सस्तो मूल्यमा दशरथ रंगशाला (त्यो पनि फुटबल मैदानलाई ध्वस्त पारेर) भित्रै जाने व्यवस्था मिलाएर लाज चाहिँ मान्दो रहेनछ। यो वर्ष १४ हजार तीन सय हाराहारीले दीक्षान्त समारोहमा भाग लिए । तिनका एकाघरका औसत दुई जनाले प्रवेश गर्दा ३० हजार जना जतिबाट जम्मा ९० लाख रुपैयाँ आम्दानी गरेछ। 

एक दिनमा ताल मिलाएमा राम्रै आम्दानी गर्दो रहेछ र उक्त आम्दानीको रकम रंगशालाको भाडा वापत छ लाख रुपैयाँ दिएको रहेछ । फुटबल मैदान बर्बाद पारेर राष्ट्रिय खेलकुद परिषद्ले यस्तै कार्यक्रमका लागि मैदान दिँदा फुटबलका नेपालमा हुनुपर्ने खेलसमेत अखिल नेपाल फुटबल संघले विदेशकै मैदानलाई घरेलु मैदान बनाएर खेलाउन पुगेको तीतो सत्य छ । 

त्रिविले यो घृणित काम गरेर करिब ८४ लाख त झ्वाम पार्यो नै । केही रकम सरसफाइका लागि भनेरसमेत छुट्याएको खेलकुद परिषद् स्रोतले बताएको छ  । उक्त आम्दानीबाट कति जना नांगेलाई कतिका दरले बाँडेर मोज गरे होलान् हिसाब कसले खोज्ने ? वाह ! तपाईंहरुलाई मान्नै पर्छ। जबकि त्रिविकै आफ्नो ठूलो मैदान छँदैछ । त्यहीँ कार्यक्रम गरे पनि हुन्छ नि । त्यहाँ खान नपाइने भएरै त होला नि । अभिभावकलाई ससम्मान बोलाउनु पर्नेमा उल्टै प्रवेश गरेको पैसा ?

पुस १३ गते शनिबारका दिन हाम्रो घरमा पनि बिहानैदेखि चहलपहल थियो। हामी पनि त्यस दिन दीक्षान्त कार्यक्रममा भाग लिनका लागि घरमा भएका सबै ३ जना नै त्रिपुरेश्वर रंगशालातिर लाग्यौँ । ढिला होला भनेर बिहान ९ बजेबाट नै त्यता लाग्यौँ ।१० बजेसम्म प्रवेश गरिसक्नु पर्छ भन्ने सुनेकाले भीडकाबीच हामी दुई जना बाउछोरा रंगशालाको मैदानमा प्रवेश गर्यौं। श्रीमतीज्यू चाहिँ माथि दर्शकहरु बस्ने स्थानतिर लाग्नुभयो। बेलैमा प्रवेश गरेका हामी बाउछोरा अब फोटो खिचेर हिँड्न पाए हुन्थ्यो भनेर कुरा गर्दै थियौँ । तर त्यहाँ कुरा अर्कै रहेछ । हामीलाई थाहा थिएन ।
 
रंगशालामा ३०० रुपैयाँ तिरेर प्रवेश गर्नेको भीड जम्मा भएपछि कार्यक्रम शुरु गर्ने अनि कार्यक्रम पश्चात नेपाली सेनाको मुख्यालय भद्रकालीको मेन गेट अगाडिको दायाँ पट्टी स्टल बनाएर दीक्षान्तमा भाग लिने विद्यार्थीलाई करिब ३० मिनेट लाइनमा पर्खाएर प्रमाणपत्र दिने अनि फेरि सोही प्रमाणपत्र हातमा लिएर रंगशालामा नै गएर फोटो खिच्नु पर्ने कुरा रहेछ। 

विश्वविद्यालयबाट लुगा किन्नका लागि भन्दा बढी मूल्य खाएर भाडामा उपलब्ध भएको के जाति लुगा मध्यरातमा हिँड्ने भूतले पनि लगाउनका लागि लाज मान्ने खालको लुगा उनेर फोटो खिच्नु पर्ने रहेछ। 

मध्यान्ह १२ बजेतिर देशका कार्यकारीको आगमन भयो, अनि मात्र कार्यक्रम शुरुआत भएर हामीले फोटो खिच्ने बेलासम्म २ बजिसकेको थियो। अरु प्रमाणपत्रका लागि लाइनमा बस्नेहरुको फोटो खिच्ने पालो त ४-५ बजेसम्मै रह्यो होला । 

त्यो हामीलाई मतलब हुने कुरै भएन । नांगे सिंगानेहरुले हामीलाई बिनाकारण दिएको दुःख कहीँ कतैबाट चित्त बुझ्दैन । एक कप तातो चिया खान पाएको भए पनि थोरै मन शान्त हुने थियो । तर त्यस दिन हामीले हाम्रो घरकी श्रीमतीज्यूले भूतले लगाउने कपडा लगाएर घरमै बसेर फोटो खिच्ने व्यवस्था भैदिएको भए त्यति चित्त दुख्दैनथ्यो । 

तीन ठाउँमा बिग्रिएको प्रमाणपत्र पहिल्यै दिएको भए त्यति धेरै दुःख पाउने थिएनौँ । हामीलाई बिनाकारण धेरै मर्का भयो। नांगे तपाईैहरुलाई मान्नै पर्छ।
  
हाल बहुसंख्यकले विद्यालय स्तरको अध्ययन सके पश्चात विदेशतिर गएर ठीकै गरेका रहेछन् भन्ने लाग्यो। यो फोहरको थुप्रोमा आफ्नो फाइदाको लागिमात्र दिमाग चलाउने नांगेहरु नेपालमा रहेसम्म अब आइन्दा कोही कसैलाई नेपालमा नै अवसर छ यतै बस्नुस् भनेर भन्ने अवस्थाको अन्त्य भैसकेको प्रमाणित भयो । 

हाम्रा बाको पालामा जन्मिएका, अर्काको हुबहु सारेर प्रमाणपत्र लिएका र आज तिनीहरुले नै किताब बनाएर विद्यार्थीलाई त्यही लटर पटर पढाएर, आफ्नो उमेर सच्याएर हिँड्न नमिल्ने बुढ्यौली अवस्थामा पनि उमेर साठी हाराहारीमै हो भन्ने नांगेहरु नै देशका लागि अभिषाप भए। 

भनिन्छ देश बिगार्नका लागि केही गर्नु पर्दैन त्यस देशको शिक्षा क्षेत्र बर्बाद भएमा देश कहिल्यै उठ्दैन । आज नेपाल त्यही भयो स्कुल स्तरसम्म केही मात्रामा विद्यार्थी अझै केही वर्षका लागि रहेका छन्। त्यसपछि कसको भुत्ला गन्नका लागि नेपालमा बस्ने ?
 
नेपालको शिक्षा क्षेत्र तहसनहस भए पश्चातको नतिजा हो यो। उद्घोषकले भन्दै थिइन् नेपालमा पढेर कविता लेख्ने महान् व्यक्तिको जन्म भयो भनेर । हो त्यस दिनको सबैभन्दा ठूलो कमेडी नै कविता लेख्ने मानिस नेपालमा जन्मिएका छन् भनेको सुनियो । 

तिम्रो पनि मगजमा भुस हालेको रहेछ भन्ने लाग्यो। अब कविता पढेर कन्याउँदै बस । त्यस दिन देशका कार्यकारी अनि कार्यक्रम स्थलको अगाडि तीनकुने टोपी लगाएर बसेकाहरुलाई मान्नै पर्छ। तपाईंहरुलाई के को लाज त्यस दिन दीक्षान्तमा उठेको पैसा पचाउन आउनु भएका रुलाई। मान्नै पर्छ लाज नभएका नांगेहरु ।

अझ ङिच्च पहेंला दाँत देखाएर हाँस्दै थिए। तपाईंहरु जस्ता नजन्मिएको भए हाम्रो देश यत्ति छिटो सजिलै सकिने थिएन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ