कीर्तिपुरमा फ्लडलाइट र पारापिट बनाउन बोलपत्र स्वीकृत, ८६ करोडको ठेक्का, प्रधानमन्त्रीसँग ९० दिन बाँकी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
596
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा पारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।
सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र पारापिटका निर्माणको लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ ।
मन्त्रालयले गत ५ मंसिरमा सूचना आह्वान गरेको थियो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको छ ।
पारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदभार ग्रहण गरेपछि पहिलो निर्णयमै तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए ।
यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानूनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।
नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो । प्रधानमन्त्रीको कार्यकालको २१० दिन बितिसकेको छ । अब ९० दिनभित्र उक्त कार्य पूरा हुनुपर्नेछ ।