कुलमान लक्षित ओलीको टिप्पणी - तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैन [भिडियो]
प्रचण्डलाई ओलीको प्रश्न - निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ?
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
1k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहरुले विरोध शुरु गरिसकेको बताए । आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिन, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुन सक्छन् । देश साझा हो । तरिका सोचहरू फरक फरक हुन सक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । ससाना कुराहरू । तिलको पहाड बनाएका छन् । पहिला पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ । अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायाँै के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ, इमानदारिताका साथ ।’
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न गरे । उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्ने बित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गर्नुभयो । बर्सौँ लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि चेतावनी दिए ।
ओलीले भने, ‘एक जना मित्रको मैले स्ट्याटस पढेको थिएँ । त्यहाँबाट अवकाश प्राप्त भइसकेको मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो, बाहिरबाट कतैबाट खोजेर ल्याएर होइन । त्यस्तो मान्छे निष्कासन गर्नुभयो । अर्को ठाउँमा निकम्मा बनाएर सरुवा भनेर राखिदिनु भयो । रिटायर्ड मान्छेलाई ल्याएर राखिदिनु भयो । उनले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो । त्यस बेला ल्याउनुभएको थियो की उनले नियुक्त गर्ने बित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? बर्सौँ लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रूपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । ’