पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार दत्तचित्त - प्रधानमन्त्री ओली [भिडियो]
माओवादी द्वन्द्व राष्ट्रिय गल्ती, आलोचनालाई स्वागत गर्छु तर समाज नबिथोल्नुहोस्
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
900
Shares
[भिडियो]काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा सरकार लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित बिहीबार काठमाडौंमा आयोजित सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताए । उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे ।
उनले पीडितका घाउमा मलहम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम काँग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुङ्ग्याइने भन्दै समझदारी गर्न आह्वान गरे । तीन राजनीतिक दलहरूले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैँले शुरु गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय म बाहेक अरू सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन, श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मलहम लगाऔँ । उहाँहरुका आँसु पुछौँ । नेपाली जनतालाई निश्चिन्त बनाऔँ की अब नेपालमा शान्ति हुनेछ । यस्तो भायलेन्स हुनेछैन, यसरी मान्छे पीडित हुनुपर्ने छैन । हामी बीचकै कुरा त हो यो । हामीले वास्तवमा संकल्प गर्ने हो भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने कुरा छैन । सकिन्छ, सक्नुपर्छ । हामी सक्छौँ । त्यही विश्वासका साथ प्रधानमन्त्रीको हैसियतले म लागेको छु, यो विश्वास दिलाउन चाहन्छु । त्यसैले म प्रधानमन्त्री भए लगत्तै लामो समयदेखि अड्एिको ऐन पास गर्न सबै पक्षलाई आग्रह गरेँ ।’
प्रधानमन्त्री ओलीले सुशासनका लागि सरकार दत्तचित्त भएर लागेको दाबी गरे । जनतालाई सन्तुष्ट बनाएर जाने बाटो राजनीतिक दलहरूले लिनुपर्ने बताए । उनले जनतालाई काममार्फत सन्तुष्ट बनाउनुपर्ने बताए । अशान्ति भड्काउने दिशामा नजान सबै राजनीतिक दलहरूसँग आग्रह गरे । आज अधिनायकवादी नभई लोकतान्त्रिक सरकार रहेको जिकिर गरे । जनताका सुझाव सुन्नका लागि आफू सदैव तत्पर रहेको बताए । सबैको रचनात्मक भूमिका भए मात्रै गरिबी हटाउन, देश विकास गर्न सम्भव रहेको बताए । आफूले आलोचनालाई स्वागत गर्ने पनि बताए । समाज नबिथोल्न, शान्ति प्रक्रिया नभाँड्न आग्रह गरे । शान्ति प्रक्रिया सफल बनाउन पनि आह्वान गरे । सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि सिफारिस समिति बनेर काम शुरु गरिसकेको र दुई महिनापछि सिफारिसको आधारमा आयोग गठन हुने बताए । न्याय र परिपूरण दिने कुरामा लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गरे । माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको बताए ।