जलवायु परिवर्तनविरुद्ध हिमालदेखि महासागरसम्मको एकीकृत सोच आवश्यक : प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
771
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमालदेखि महासागरसम्मको एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका छन्। आज शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालहरू विश्वका विभिन्न वार्ताहरूमा प्रायः उपेक्षित हुने गरेको भन्दै यसलाई नबिर्सन विश्व समुदायलाई आग्रह गरे। उनले हिमालले नै जलवायु सन्तुलन कायम राख्ने र पानीको भण्डारण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
प्रधानमन्त्री ओलीले जीवन र विश्वलाई बचाउन साहसी र एकीकृत दृष्टिकोणको खाँचो औंल्याउँदै हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको बताए। उनले स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु अनुकूल बालीहरू प्रवर्द्धन गर्नुपर्ने र जोखिम मूल्याङ्कनलाई बलियो बनाउन विश्वका नेताहरूसँग आह्वान गरे।
उनले भने, ‘हामी हिमाललाई नबिर्सौं। विश्वका वार्ताहरूमा तिनीहरू प्रायः जसो उपेक्षित हुन्छन्। तर तिनैले जलवायु सन्तुलन कायम राख्छन्। तिनैले पानीको भण्डारण गर्छन्। तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन्। तिनैले जीवनको रक्षा गर्छन्। जब हिमाल पग्लिन्छन्-उपत्यकाहरू पीडित हुन्छन्। नदीहरू सुक्छन्। बालीहरू नष्ट हुन्छन्। सागरहरू उर्लन्छन्। जीवन विखण्डित हुन्छ। हिमालय-हाम्रो तेस्रो ध्रुव-विश्व औसतभन्दा छिटो तात्दैछ। हिमनदीहरू हराउँदैछन्। हिमतालहरू फैलिंदैछन्। तटीय क्षेत्रका करोडौं मानिसहरू-जोखिममा छन्। हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ। हिमालदेखि महासागरसम्मको सोच चाहिएको छ। हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्। हामीले ध्यान दिनुपर्छ। विशेष वित्तीय सहयोगसहित। तदनुकूलका नीतिहरू सहित। हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ। जलवायु–उत्थानशील बालीहरू बढाउनु पर्छ। महिला र युवालाई अगाडि ल्याउनु पर्छ। र विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ। आउनुस् जोखिम मूल्याङ्कन बलियो बनाऔं। पूर्वसूचना प्रणाली निर्माण गरौं। डाटा साझेदारी गरौं। सीमापार सहकार्य मजबुत पारौं। र सबैभन्दा महत्वपूर्ण-हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आवद्ध गरौं। यसरी नै हो-दीगो उत्थानशीलता बढाउने। यसरी नै हो-पृथ्वीको सम्मान गर्ने। र यसरी नै हो-हाम्रो साझा भविष्य जोगाउने।’