प्रधानमन्त्री ओलीसँग युरोपेली संघको प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
507
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपेली संघ (ईयू) को एक प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेको छ।
भेटमा नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न सदस्य राष्ट्रका काठमाडौंस्थित राजदूतहरू तथा भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको सहभागिता थियो। यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादमा भाग लिन ईयूका यति धेरै राजदूत पहिलो पटक एकैसाथ नेपाल आएका हुन्।
भेटका अवसरमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलबीच नेपाल र युरोपेली संघबीचको ५१ वर्ष लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै नेपालको स्थायित्व, आर्थिक विकास र सुशासनका क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका विभिन्न चरण पार गर्दै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिरहेको जानकारी गराए।