काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूका जिज्ञासालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।
यसका साथै, आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने र भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।