कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिनु कल्पना बाहिरको कुरा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
837
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन्।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए। यसै विषयमा कांग्रेस महामन्त्री थापाले आपत्ति जनाए।
थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिनु कल्पना बाहिरको कुरा भएको बताए।
उनले भने, "हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन। त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस्।" महामन्त्री थापाले आगामी दिनमा त्यस्ता कुराहरू नबोल्न सचेत गराए।