सुशासन सरकारको प्राथमिकता, भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध: प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
2.2k
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा सरकार दृढ रहेको दाबी गरे। उनले आतंकवादी क्रियाकलापमा वित्तीय संलग्नता, अवैध विदेशी विनिमयको ओसारपसार, र आर्थिक अपचलन नियन्त्रणका लागि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको स्पष्ट पारे।
ओलीले भने, "राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सम्बन्धमा भ्रष्टाचार न्यूनीकरण, भ्रष्टाचार निवारण, राजस्व चुहावट नियन्त्रण र सम्पत्ति शुद्धीकरणलाई निरुत्साहित गरी सुशासन कायम गर्नु सरकारको प्राथमिकताको विषय हो।" यी कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि नै यी दुई विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा राखिएको उनले बताए।
आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण, अवैध विदेशी विनिमयको ओसारपसार, र अपचलन नियन्त्रणसम्बन्धी कार्य जटिल र अन्तर्राष्ट्रिय क्षेत्रको समेत चासोको विषय भएको हुँदा यसको प्रभावकारी समन्वय, सहजीकरण, र नियमनका लागि विभागहरूलाई कार्यालय मातहतमा राखिएको उनले थप स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले संविधान र प्रणालीको रक्षा गर्दै सुशासन र विकासका कार्यहरू अगाडि बढाउनु सरकारले आफ्नो कर्तव्य ठानेको बताए। उनले मुलुकलाई समृद्धिको आधारमा अगाडि बढाउनेगरी संविधानको संशोधन गर्नसमेत प्रस्ताव गरेका छन्।