प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा मान्छे छोडेको आरोप निराधार: मन्त्री गुरुङ
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
665
Shares
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरू छोडेर आएको भन्ने आरोप लगाउने सांसदले नै आत्मालोचना गरिसकेको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको भन्ने आरोप निराधार रहेको स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरू प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन्। यद्यपि, आरोप लगाएको भोलिपल्टै सभाको बैठकमा उनले आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको नभनेको भन्दै आफ्नो भनाइ सच्याएकी थिइन्।
यस विषयमा लगातार प्रश्न उठ्दै आए पनि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरू हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ। सरकारको दाबीअनुसार, प्रधानमन्त्रीको नेतृत्वमा गएका सबै व्यक्ति फर्किएका छन्।
सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा सांसद स्वयंले आत्मालोचना गरिसकेको बताए। "स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो। संसदमा प्रश्न गर्नुभएको माननीयज्यूले एक खालको आत्मालोचना गर्नुभएको छ। मैले त्यसो भनेको होइन भन्नुभएको छ," उनले भने, "प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो। सम्माननीय प्रधानमन्त्रीज्यूको आचारविधि नै छ। कति जना लैजाने, के लैजाने भन्ने। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जनाभन्दा बढी नलैजाने भन्ने छ।"
मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाहरूको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताए। उनले प्रधानमन्त्रीसँग गएका मानिसहरूलाई छोडेर आएको भन्ने कुरा "३२ सै आना गलत" भएको दाबी गरे।