खोकनाको समस्या समाधान गरी द्रूतमार्ग अघि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
499
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजनाको प्रवेशविन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन्। उनले आज सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीहरूसँग छलफल गरी समस्या समाधानबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोजनाको हालको प्रवेशविन्दु ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको थियो। खोकना क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसलाई सम्बोधन गर्ने विकल्पबारे छलफल केन्द्रित थियो।
छलफलपछि प्रधानमन्त्री ओलीले समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीय बासिन्दाको माग सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए।
छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, र दुवै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।