भ्रष्टाचार नियन्त्रणका लागि आचरण र शिक्षामा सुधार आवश्यक - प्रधानमन्त्री ओली
मानिसले आफू गलत गर्दिनँ भन्ने प्रतिबद्धता जनाए मात्रै भ्रष्टाचारको समस्या समाधान हुने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
643
Shares
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई शून्यमा झार्नका लागि मानिसको आचरण, चरित्र र गुणवत्तामा सुधार हुनुपर्ने बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण कानून कार्यान्वयनबाट मात्रै सम्भव नहुने स्पष्ट पारेका छन्।
शुक्रबार ललितपुरमा आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसले आफू गलत गर्दिनँ भन्ने प्रतिबद्धता जनाए मात्रै भ्रष्टाचारको समस्या समाधान हुने बताए। उनले भने, “भ्रष्टाचारलाई शून्यमा पुर्याउन सक्छौँ। तर यो कानून कार्यान्वयनबाट मात्रै हुने कुराबाट शून्यमा पुर्याउन सकिँदैन।”
प्रधानमन्त्री ओलीले मानिसको गुणवत्ता बढाउन आचरणमा आधारित शिक्षा आवश्यक रहेकोमा जोड दिए। उनले भने, "मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ।" उनले सामाजिक सञ्जालजस्ता डिजिटल प्लेटफर्मको सही सदुपयोग गरेमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए।
यसै सन्दर्भमा, प्रधानमन्त्री ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग नडराउन आग्रह गर्दै मानव मस्तिष्कभन्दा ठूलो कुरा सृष्टिले अहिलेसम्म उत्पादन गर्न नसकेको बताए।