बिपिन जोशीको सुरक्षित रिहाइका लागि सरकार निरन्तर संवादमा: प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
690
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न सरकारले निरन्तर पहल गरिरहेको बताएका छन्। आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए।
प्रधानमन्त्रीका अनुसार, परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासहरूमार्फत लगातार संवाद गरिरहेको छ। यसअघि, उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिल सँग पनि फोन संवाद गरी यस विषयमा ध्यानाकर्षण गराइसकेका छन्।
प्रधानमन्त्री ओलीले बिपिनका परिवारसँग सरकार साथमा रहेको बताउँदै, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहाना सँग भेट गरी रिहाइका लागि आग्रह गरेको जानकारी दिए।
उनले इजरायलमा सहयोग गरिरहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूप्रति विशेष धन्यवाद पनि व्यक्त गरेका छन्।