काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा मंगलबारबाट १७ औँ संस्करणको नाडा अटो शो २०२५ शुरू भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ अटो शो शुरू भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।
उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।
"हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन", उनले भने, "उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।"
यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्याक्सी, रोवोटिक्स (डग रोबोट र ह्युमन रोबोट) र विभिन्न भिन्टेज कारहरूसमेत प्रदर्शनीमा राखिएको छ । यसले नाडाको आकर्षण बढेको नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्स्र्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहेको छ ।