प्रमुख विपक्षी दलहरूले मागे प्रधानमन्त्रीको राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
594
Shares
काठमाडौं। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलहरूसहित विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आह्वानमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले जेन-जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर र नरसंहारको संज्ञा दिए।
पुनका अनुसार, विपक्षी दलहरूले प्रधानमन्त्री ओलीले नैतिकता र वैधता गुमाएको ठहर गर्दै उनको राजीनामा माग गरेका छन्। बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको पनि माग गरेको छ।
युवाहरूको माग सम्बोधन गर्न र स्थितिलाई सामान्य बनाउन सरकारसँग वार्ता गर्न पनि विपक्षी दलहरूले आग्रह गरेका छन्। साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ। पुनले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि राजनीतिक दलले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने पनि बताए।