सिंहको सिकार गर्न स्यालहरूको मोर्चाबन्दीले पुग्दैन, को कति लोकप्रिय छ भन्ने कुरा चुनावले देखाउँछ, हामी राष्ट्रिय फैसलाका लागि तयार छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
970
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र (बालेन) शाह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई 'दुब्लाहरूको जोडी' भनी टिप्पणी गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले जस्तो बलियो पार्टीसँग डराएर साना शक्तिहरूले मोर्चाबन्दी गरेको दाबी गरे।
"बाख्रा र कुखुराको मोर्चाले सिंहलाई जित्दैन" अध्यक्ष ओलीले एमालेलाई 'सिंह' को संज्ञा दिँदै नयाँ शक्तिहरूको गठबन्धनलाई कुखुरा, बाख्रा र स्यालसँग तुलना गरे। "एकातिर विशालकाय एमाले छ, अर्कोतिर तिमी र म मिलौँ भन्दै दुब्लाहरू मोर्चा बनाउँदै छन्," उनले व्यङ्ग्य गर्दै भने, "कुखुरा, बाख्रा र स्यालले मोर्चाबन्दी गरेर कतै बाघ वा सिंहको मुकाबिला हुन सक्छ? घैँटाको पानीले महासागरसँग प्रतिस्पर्धा गर्न खोजेजस्तै हो यो।"
लोकप्रियताको परीक्षण निर्वाचनबाटै पछिल्लो समय सिर्जना गरिएका लोकप्रियताका 'भाष्य' हरूको जवाफ एमालेको महाधिवेशनले दिइसकेको भन्दै उनले अबको वास्तविक फैसला आगामी निर्वाचनले गर्ने बताए। कसैले घरैमा बसेर प्रधानमन्त्री घोषणा गर्दैमा केही नहुने भन्दै ओलीले एमाले निर्वाचनको पर्खाइमा रहेको उल्लेख गरे। "को कति लोकप्रिय छ भन्ने कुरा चुनावले देखाउँछ, हामी राष्ट्रिय फैसलाका लागि तयार छौँ," उनले थपे।
गठबन्धनमाथि कटाक्ष ओलीले नेपाली कांग्रेस र एमाले जस्ता ठूला दलसँग लड्नका लागि साना शक्तिहरूले दिनरात एकताको कुरा गरिरहेको टिप्पणी गरे। "आज एउटासँग एकता हुन्छ, भोलि अर्कैसँग। दुई–चार जना मिलेर जति मोर्चा गरे पनि एमाले जस्तो महासागरसँग उनीहरूको केही लाग्दैन," ओलीको जिकिर थियो। उनले लोकतन्त्रको खेलमा उत्कृष्ट खेलाडीले नै जित्ने भन्दै आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित रहेको दाबी गरे।