संविधान मिच्न माहिर ओलीको कांग्रेस महाधिवेशनबारे टिप्पणी - सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ ?
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
2.8k
Shares
काठमाडौँ । दुई दुई पटकसम्म संविधान मिचेर संसद विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् ।
शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।
आफूलाई तेस्रो पटक अध्यक्ष बन्न मन लागेपछि आफ्नो पार्टीको विधान संशोधन गर्नुका साथै पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई महाधिवेशन प्रतिनिधि नै बन्न नदिएर एकलौटी गरेका उनले कांग्रेसमा पनि विधान मिच्ने शेरबहादुर देउवाको पक्ष लिएका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चार/पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि त? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा हुन्छ ।’
उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको बताए ।
उनले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।
वास्तवमै नेपाल शान्ति क्षेत्र भएको भन्दै अध्यक्ष ओलीले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको आरोप लगाए ।
आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले अनिर्वाचित र त्यत्तिकै आएर सरकार नचल्ने जिकिर गरे ।
उनले भने ‘जनताले चुनेको हुनुपर्छ । जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्छ । निर्वाचित सरकार अपदस्त गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरू जलाउने कार्यहरू गरे। नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालकको स्वाधिनतामाथि, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ । आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ ।’