arrow

बामदेव र बादलको हालत कांग्रेस फुट्दाको रामचन्द्रको जस्तै, नेकपाकै नेताको प्रश्न – तेस्रो पार्टी खोल्ने हो ?

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
badal-bamdev.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसद विघटन भएसँगै फुटको संघारमा छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल (अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) पक्षबीच यतिबेला शक्ति प्रदर्शनको सशक्त अभ्यास चलिरहेको छ । दुवै पक्ष आ–आफ्ना निकटहरुबाट आ–आफ्ना तर्फका केन्द्रीय सदस्य र सांसदहरु को कता भन्ने देखाउन नामावली संकलनदेखि हस्ताक्षर संकलनमा व्यस्त छन। । 

दुवैतर्फका बैठकहरु तारन्तार चलिरहेका छन् दुवै पक्षका मंगलबार केन्द्रीय कमिटी बैठक नै चल्दैछन् । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा प्रधानमन्त्री ओलीतर्फ १ सय ४० जना नेताहरु देखिएका छन् भने अर्का अध्यक्ष प्रचण्डसहित माधव नेपाल र झलनाथ खनाल खेमामा २ सय ९० भन्दा बढी नेताहरु रहेको दाबी गरिंदै आइएको छ ।  

तर नेकपाका केही नेता भने न यता न उताको दोधारे स्थितिमा छन् । यसरी दोधारे नीति लिनेमा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल देखिएका छन् । 

बामदेव र बादलले बेलाबखत दुवै समूहको बैठकमा आफूहरु साक्षी बन्न नजाने धारण दिंदै आइरहेका छन् । दोधारे नीति लिनेमा नेता हरिबोल गजुरेलसमेत छन् ।
 
बादलले सोमबार मन्त्री निवास पुल्चोकमा आफू निकटका नेताहरुलाई बोलाएर प्रधानमन्त्री ओलीको कदम गलत भएको भने पनि कुन गुटतर्फ जाने भन्नेमा उनी अलमलमा नै रहेको पाइएको छ ।
 
यसैगरी दुवै अध्यक्षबीचको टकराबले पार्टी एकतालाई असर गर्ने भन्दै मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह, रामदयाल मण्डल, समिम मिया अन्सारी, हेमराज शर्मा पोखरेल, अइन्द्रसुन्दर राई, केशवलाल श्रेष्ठ, लक्ष्मणराज ज्ञवाली, हरिप्रसाद पराजुली, शारदा सुवेदी कुनै समूहमा नदेखिने सोचमा छन् ।
 
नेकपाका एक प्रभावशाली नेता भन्छन्, ‘बामदेव जी र बादलजीको अहिलेको अवस्था कांग्रेस विभाजन हुँदाको रामचन्द्र पौडेल जीको जस्तै छ । उहाँहरुसँग जोडिएका नेता स्पष्ट हुँदा पनि उहाँहरु आफैं चाँही न यता न उताको रणभुल्लमा हुनुहुन्छ । लाग्छ उहाँहरु तेस्रो पार्टी गठन गर्दै हो कि ?’

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र उनीसँगै राजनीतिक लडाइँमा रहेका शेरबहादुर देउवाबीच टकराब हुँदा गठित पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकमा प्रकाशमान सिंह, पूणर्बहादुर खड्का, मिनेन्द्र रिजाल लगायतका नेता जाँदा नेता पौडेल अलमलमा परेको घटना अहिले स्मरणमा आएको उनले बताए ।

‘त्यसबेला गिरिजाबाबुसँगै रहेका केही नेता देउवाजीको पार्टीतर्फ लागे । तर पौडेलजी अन्तिमसम्म पनि खुल्न सक्नु भएन । आज बामदेव र बादलजीलाई मान्ने नेताहरु उहाँहरुलाई छाड्दा पनि उहाँहरु खुल्न नसक्नुले उहाँहरुको राजनीतिक भविष्यमाथि नै प्रश्न उठ्ने अवस्था आउँदैछ ।’ हाम्राकुरासँगको संवादमा ती नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ