arrow

पोखरेललाई मुख्यमन्त्री बनाउन राष्ट्रपति र प्रधानमन्त्रीको हस्तक्षेप

राष्ट्रपति भण्डारी फेरि विवादमा, अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्रीको शपथ गराउन यादवलाई दिइन यस्तो दबाब

असंवैधानिक काममा केपी ओलीले थापे काँध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख १९ आइतबार
Bidhya-bhandari-parmanikarn.jpeg
तस्बिर : फाइल

काठमाडौँ। लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिनभर बेचैन भए । शनिवार साँझ मुख्यमन्त्रीबाट राजीनामा दिन लागेको सुनाउँदा ओलीले खास प्रतिक्रिया जनाएका थिएनन्। बिहान शङ्कर पोखरेलले राजीनामा दिएपछि आफू निकटका नेताहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरूसँगको छलफल पछि ओलीले पोखरेललाई उतै रोकेर पुन मुख्यमन्त्री बन्न आग्रह गरे।

पोखरेलले ओलीको आग्रह अनुसार नै संसदीय दलको बैठक राखेर एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरे। त्यतिन्जेलसम्म एमालेकै साथमा रहेकी सांसद विमला वली सम्पर्क विहीन भएकी थिइन। एमालेले मुख्यमन्त्रीमा दाबी गर्नसाथ सांसद विमला ओलीले माओवादी केन्द्र पार्टी रोजेपछि मुख्यमन्त्री पुनर्नियुक्तिका लागि पोखरेल अप्ठ्यारोमा परे। 

पोखरेल अप्ठ्यारोमा परेको थाहा पाएका ओलीले दिउसो पार्टीको स्थायी कमिटीको बैठक राखेर त्यहाँको वस्तुस्थितिबारे आन्तरिक छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका थिए। त्यही क्रममा ओलीले सांसदबाट विश्वासको मत लिन लागेको समेत बताएका थिए। सबै प्रदेशमा सङ्कट आउने देखियो अब सङ्घीय सरकारमा पनि विश्वासको मत लिने विश्वासको मत आर्जन भए दुई वर्ष सरकार सञ्चालन गर्ने नभए मध्यावधि निर्वाचनमा जाने भन्दै प्रधानमन्त्री ओलीले तत्कालचाहिँ लुम्बिनीको समस्या समाधान गर्नुपर्ने भन्दै बैठकमा लुम्बिनी प्रदेशको राजनीतिबारे व्रिफिंग गरेका थिए। 

तत्कालीन नेकपाको सूर्य चिह्नमा दाङबाट विजयी वलीले आइतबार माओवादी केन्द्र रोजेको वक्तव्य सार्वजनिक गरेकी थिइन । त्यस घटनालाई नजिकबाट नियालेर पार्टी र सरकार दुवैतर्फबाट आन्तरिक छानबिन गर्नुपर्ने स्थायी कमिटीको आकस्मिक बैठकले निष्कर्ष निकालेको थियो । बैठकमा प्रधानमन्त्री केपी ओलीले बिहानसम्म पार्टीको सम्पर्कमा रहेकी वली बैठकमा आउँदाआउँदै बीचबाटोबाटै ओर्लिएर अर्को गाडीमा चढेर सम्पर्कविहीन भएको र केही बेरपछि दल त्यागेर माओवादी केन्द्र रोजेको वक्तव्य जारी गरेको सूचना प्राप्त भएको ब्रिफिङ गरेका थिए।

उनले हठात् घटनाक्रम विकसित हुनुमा अपहरणमा परेर उनले बाध्यतावश वक्तव्य निकालेको हुन सक्ने या पैसाको समेत ठुलो चलखेल भएको हुन सक्ने भन्दै छानबिनको प्रस्ताव गरेका थिए । प्रदेश सभामा एमाले संसदीय दलको बैठकमा भाग लिनुका साथै उनी दाङ जिल्लामा संस्थापन एमालेको जिल्ला कमिटी सदस्य तथा अनेमसंघको प्रदेश कमिटीको जिम्मेवारीमा समेत थिइन् । यद्यपि, नेकपा बनेपछि विजयी सांसदहरूले दल रोज्न पाउने निर्वाचन आयोगको निर्णयअनुसार भने वलीले माओवादी केन्द्र रोज्ने निर्णय गरेको वक्तव्य सार्वजनिक भएको थियो ।

यसपछि पोखरेल अल्पमतमा परिसकेको जानकारी पाएका प्रदेश प्रमुख धर्मनाथ यादव तत्कालै मुख्यमन्त्रीमा पोखरेललाई नियुक्ति नगर्ने सोच बनाएको भए पनि  राष्ट्रपति बिदादेवी भण्डारीको फोनपछि मुख्यमन्त्रीमा पुनः नियुक्ति मात्रै गरेनन् राती मुख्यमन्त्रीका कार्यालयमा पुगेर शपथ समेत गराए । मुख्यमन्त्री अल्पमतमा परेको जसको जानकारी सभामुखमार्फत प्रदेश प्रमुखले पाइसकेका थिए।

त्यसैले प्रधानमन्त्री ओलीलाई प्रदेश प्रमुखले शंकरसँग ४१ सांसद नरहेको भन्दै पुनः नियुक्ति गरे संवैधानिक जटिलता आउने बताएका थिए । तर सांसद वलीले माओवादी रोजेपछि समस्यामा परेका पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई लुम्बिनीको विकसित राजनीतिको बारेमा जानकारी गराएका थिए। 

लुम्बिनीको मुख्यमन्त्रीबाट शङ्कर हट्ने सम्भावना बढेपछि त्यसबारेमा आवश्यक कदम चाल्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा पार्टीको स्थायी समितिको बैठक बोलाएका थिए । त्यही बैठकमै शंकरले मिति नराखिएको एउटा कागजमा एमालेका ४१ जना सांसदको हस्ताक्षर विगतमै गरेर राखिएको जानकारी गराएका थिए । त्यही पुरानो कागजका आधारमा मुख्यमन्त्रीमा नियुक्ति गर्न प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख यादवलाई भनेका थिए । तर  तीन सांसदले पनि साथ छाडिसकेपछि झन् सङ्कटमा परेका थिए।

प्रधानमन्त्री र राष्ट्रपति दुवैको फोनले दबाबमा परेका प्रदेश प्रमुखले अन्ततः पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरे । यसमा प्रदेश प्रमुखलाई पनि आफ्नो पदको चिन्ता भएको स्रोतको दाबी छ। सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सक्ने संवैधानिक प्रावधानका कारण उनले हतारमै पोखरेललाई शपथ खुवाएको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रदेश प्रमुखले संवैधानिक जटिलता आउन सक्ने सम्भावनातर्फ इङ्गित गरेपछि ओली स्थायी कमिटी बैठकबाटै शीतल निवास पुगेका थिए। प्रधानमन्त्री ओली पुगेपछि त्यसबारेमा ३० मिनेट जति कुरा भएको थियो। यसपछि राष्ट्रपतिले प्रदेश प्रमुखलाई फोन गरेर ४१ जनाको हस्ताक्षर भएकाले शंकरलाई नै पुनः मुख्यमन्त्री बनाउँदा संवैधानिक जटिलता नआउने बताएकी थिइन। 

प्रधानमन्त्री र राष्ट्रपति दुवैको फोनले दबाबमा परेका प्रदेश प्रमुखले अन्ततः पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरे । पुरै अवधिभर निश्चिन्त भएर सरकार चलाउने योजनाका साथ मुख्यमन्त्री पोखरेलले राजीनामा गरेका थिए । तर रुपन्देहीबाट सूर्य चिन्हबाटै निर्वाचन लडेका हृदयेश त्रिपाठीका दुई सांसदले धोका दिएपछि पोखरेल झन् सङ्कटमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ