arrow

कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्रीको विपक्षमाः जसपाले पनि विकल्प खोज्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
deuba-mahanta.jpg

काठमाडौं । पार्टीको केन्द्रीय समिति बैठकबाटै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिने भएको छ ।

२७ बैशाखमा डाकिएको प्रतिनिधि सभाको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयास गरिरहेका बेला कांग्रेसले पार्टी निर्णय अनुसार नै आफूलाई अघि बढाउने भएको हो । सो विषयमा कांग्रेसले मंगलबार पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बैठकमा बोलाएर बृहत छलफल गर्दैछ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीले नै आफ्नै नेतृत्वमा सरकार बनाउने भनी निर्णय गसरिसकेकाले वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

‘पार्टीले प्रधानमन्त्रीलाई राजीनामा देउ भनिसकेको छ, आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर बैठकबाटै निर्णय भइसकेको छ, कांग्रेसले प्रधानमन्त्रीलाई मत दिने कुरै हुँदैन,’ उपसभापति निधिले हाम्राकुरासँग भने । उनले माओवादी केन्द्र र जसपालेसमेत प्रधानमन्त्रीको विकल्प खोजिसकेकाले ती दललेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।

‘माओवादी केन्द्र र जसपालेसमेत प्रधानमन्त्रीको विकल्प खोजिसकेका छन्, राजीनामा मागिसकेका छन्, ती दललेसमेत प्रधानमन्त्रीको विपक्षमा मतदान गर्छन,’ निधिले भने ।

माओवादी केन्द्रका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो दलको समर्थन प्रधानमन्त्री केपी ओलीलाई नहुने बताए । ‘केपी ओलीलाई हाम्रो समर्थन हुँदैन, यो हामीले पहिले नै भनिसकेका छौं, अहिले पनि त्यही निर्णयमा पार्टी प्रष्ट छ,’ श्रेष्ठले भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो दलको समर्थन वर्तमान प्रधानमन्त्रीलाई नहुने प्रष्ट पारे । ‘हामीले पहिले देखि नै भन्दै आइरहेका छौं, प्रतिगमनको पक्षधर शक्तिलाई हाम्रो समर्थन छैन, हुँदैन,’ यादवले भने ।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने प्रधानमन्त्री ओलीलाई नै सघाउने तयारी गरिरहेको छ । तर, २७ गते अघि बैठक बसेर मात्रै ठोस निर्णय लिने सो दलको तयारी रहेको छ ।

ठाकुर पक्षधर जसपा नेतृ चन्दा चौधरीले २७ गते अगाडी नै पार्टीको बैठक बस्ने र प्रधानमन्त्रीमा ओलीलाई नै सघाउने की विकल्पमा जाने भन्ने निणर्य हुने जानकारी दिइन् । यो पक्षले आफ्ना पक्षमा उभिने सांसदहरुको हस्ताक्षर संकलन नै सुरु गरिसकेको छ । यस्तै उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई पनि आज साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।

हालसम्म पनि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री ओलीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ५३ सांसद रहेकोमा ४९ सिट कायम छ । चार सांसद भने कारवाहीमा परिसकेका छन् । कांग्रेसका २ जना निलम्बित छन् । 

यस्तै जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट छ । जनता समाजवादी पार्टीका पनि २ जना निलम्बित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ