arrow

‘के गर्नु ? राष्ट्रपति र प्रधानमन्त्री वरपर कै मान्छेहरू नै इज्जत फाल्छन्’

औकातविनाका मान्छेहरू औकातपूर्ण ठाउँमा पुगेपछि कुण्ठा पोख्छन्

logo
हाम्राकुरा डेस्क
प्रकाशित २०७८ जेठ २२ शनिबार
pm-oli-oath-third.jpg
फाइल तस्विर।

काठमाडौं। मुलुकको सबैभन्दा सम्मानित निकाय हो, राष्ट्रपति कार्यालय। तर, त्यसको गरिमा घटाउने काम कार्यालयभित्रबाट भइरहेको छ । एक पल्ट होइन, पटक–पटक। अहिले फेरि राष्ट्रपतिका प्रेस विज्ञले काम बिगारे । काम बिगारेकाले उनले बोल्न पनि मानेनन् । 

संवैधानिक राष्ट्रप्रमुखको व्यवस्था भएका कारण राष्ट्रपति कार्यालय त्यति चर्चामा आइरहनु पर्ने पनि होइन । तर, अहिले राष्ट्रपति कार्यालय तिरै आम चासो छ । कारण, कोरोनाविरुद्धको भ्याक्सिनका लागि दातृराष्ट्रसँग पहल गर्ने कार्य राष्ट्रपतिले गरिरहेकी छन् । 

राष्ट्रपतिले गरेको यो पहललाई कसैले अनुचित भनेका छैनन् । बरु उल्टै महामारीमा जनता बचाउने कार्य गरे सम्मानित संस्थाको गरिमा उच्च हुने भन्दै सकारात्मक भावना जागेको छ । तर, यस्तो बेलामा राष्ट्रपतिकै वरपरकाले काम बिगारिदिन्छन्, र शिर झुकाई दिन्छन् । उनीहरूलाई संस्थाको गरिमाको प्रभाव हुँदैन, भावनात्मक आवेशमा आएर जे पनि लेखिदिन्छन् ।  

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राति कोरोना प्रभावित संसारका विभिन्न मुलुकका लागि २ करोड ५० लाख डोज खोप बाँड्ने घोषणा गरे । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिक टापुहरूलाई जम्मा ७० लाख डोज दिने कुरा छ ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले सामाजिक सञ्जाल ट्विटरमा नेपाललाई ५० लाख डोज खोप आउन लागेको भनेर लेखिदिए । ढकालले उत्साहको सीमै नाघेर बाइडेनको यो घोषणालाई राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको अर्को सफलता भने । 

उनले,  ‘सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशीलताले कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ’ भनेर लेखे । उनले लेखेको कुरा सामाजिक सञ्जाल, अनलाइन न्युज पोर्टल सबैतिर छरियो । पहिलो डोज खोप लगाएपछि पर्खेर बसिरहेका र खोप लगाउन बाँकी आम नागरिकमा आशाको सञ्चार प्रवाह भयो । 

तर, त्यो खुसी धेरै बेर टिकेन । उनै प्रेस विज्ञ ढकालले आशाको सञ्चारमा चिसो पानी खन्याए । त्यो आधारहीन ट्विट उनले केही बेरमा मेटे । पछि उनले, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु ! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।’ उनले यत्ति भन्दैमा अगाडि गरेको गल्ती माफ हुँदैन ।   

यो गल्ती उनले मात्रै गरेनन् । राष्ट्रपतिका प्रेस विज्ञले आफ्नो ट्विट सच्याइसकेको १० घन्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि त्यही ५० लाख डोजको कुरो  सार्वजनिक गरे । उनले ५० लाख मात्रै होइन, लामै फेहरिस्त तेर्साए । सरकारलाई बधाई नदिई त उनको चित्तै बुझेन । 

उनले ट्विटमा, ‘एक तिहाइ खोपको व्यवस्थापन अमेरिकाबाट अनुदान–५० लाख, चीनबाट अनुदान–१८ लाख, भारतबाट अनुदान– १० लाख, सुरक्षाकर्मीलाई प्राप्त–१ लाख, भारतबाट खरिद– १० लाख, खरिद आउन बाँकी–१० लाख, कोभ्याक्स अनुदान–३ लाख ४८ हजार, जम्मा–१ करोड २ लाख ४८ हजार । कूल चाहिने–४ करोड डोज । बधाई सरकार’ भनी लेखे । 

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई पनि सोधिहाले अमेरिकाले नेपाललाई ५० लाख खोप दिने कुरा कहाँ छ हँ ? थापाले केही बेरमा क्षमायाचना नगरी ट्विट डिलिट हाने । उनले पनि राष्ट्रपतिकै प्रेस विज्ञ ढकालकै ढर्रा निकाले । भूल सुधार पनि गरेनन् । अर्को ट्विट गरेः ‘तथ्याङ्क लेख्न उचित लागेन– हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन् । आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ ।’

उनलाई ट्विटमा लेख्न कुनै प्रकारको छेकबार नै छैन । उनले संस्था र पदीय मर्यादाको ख्यालै गर्दैनन् । कोरोना खोपजस्तो संवेदनशील विषयमा यसरी हचुवा ट्विट गर्दा आम नागरिकमा कस्तो प्रभाव पर्छ ? त्यसको हेक्का राख्दैनन् ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय वा सचिवालयबाट यस्तो अपरिपक्व गतिविधि हुनु लाजमर्दो कुरा हो, भने । श्रेष्ठले अगाडि भने, ‘कोरोना खोप जस्तो संवेदनशील विषयमा यस्तो प्रकारले प्रस्तुत हुनु भनेको अपरिपक्व मान्छेहरू त्यहाँ पुगेको प्रतीत हो । जनहितका लागि त्यसरी दातृ निकायको सहयोग आउँदा गौरव मान्ने विषय स्वाभाविकै हो । आउने नआउने पक्का–पक्की नहुँदै प्रचार गरिनु राम्रो कुरा होइन ।’ 

राष्ट्रपतिले थालेको पहललाई भने उनले सकारात्मक भनेका छन् । यो बेलामा आम नागरिकले पनि पहल गर्न सक्ने उल्लेख गर्दै उनले राष्ट्रपतिको कदमलाई उचित भने । 

अर्का राजनीतिक विश्लेषक सुरेन्द्र केसीले औकातविनाका मान्छेहरू औकातपूर्ण ठाउँमा पुगेपछि कुण्ठा पोख्छन्, भने । कुनै समय मुमा बडामहारानी लेख्नुपर्ने ठाउँमा बडामहारानी मात्रै लेखेपछि गोरखापत्रका सम्पादकको जागिर गएको सुनाउँदै उनले अहिले हरेक क्षेत्र यस्तै भद्रगोल भएको बताए । 

उनले भने, ‘अदालतमै संवैधानिक इजलास गठन गर्न रडाको हुन्छ भने राजनीति त असाध्य विकृत भइसक्यो । अदालतलाई राजनीतिक मुद्दामा घचेट्ने काम भयो भने अपरिपक्व मान्छेहरूको के कुरा गर्नु ?’ उनका अनुसार मुलुक र प्रणालीप्रति कोही जिम्मेवार छैनन् । राष्ट्रपति र प्रधानमन्त्री वरपरकै मान्छेले इज्जत फाल्छन्, के गर्नु ?–केसीले भने ।

र यो पनि:

सल्लाहकारहरूले धैर्यता गुमाउँदा अफवाह फैलियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ