- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनक राजाले भन्दै जानु भयो, जो मानिस गृहस्थाश्रममा बसेर पनि शान्त भइरहन्छ, बुद्धिमान छ, आत्म ज्ञानी छ भने ऊ प्रसन्न पनि हुँदैन, खिन्न पनि हुँदैन । ऊ हानि, लाभ सबैमा बराबर हुन्छ । म राज्य त गर्छु, इच्छा अनुसार सबै काम गर्छु तर मलाई हर्ष, शोक आदि केही पनि छैन । बन्ध र मोक्षको कारण देह पनि होइन, जीवात्मा पनि होइन, मन नै बन्ध र मोक्षको कारण हो । आत्मा सदा सत्य छ, मुक्त छ । त्यो कहिल्यै पनि बन्धनमा पर्दैन । आत्मा अनुभवले मात्र जानिन्छ । यसैले मन नै महान् दुःख र सुखको कारण हो । मनले नै शत्रुता, मित्रता आदि भेदभाव गर्ने हो । संसारमा आशक्ति भए मात्र भेद बुद्धि आउने हो । विद्याले मात्र अविद्या हटाउन सकिन्छ । घाम नभईकन छाया नभए जस्तै अविद्या नहटाई विद्या पाइँदैन । विद्या पाउन वेदले प्रतिपादित गरेको आचरण गर्नुपर्छ भन्दै जनक राजाले उनको चित्त बुझाउन खोजे ।
यतिमा पनि उनको चित्त बुझेन र जनक राजालाई सोधे, वेदमा त हिंसालाई स्विकारिएको छ । हिंसामा लग्गु भएपछि कसरी कल्याण होला? मांसाहारी, सोम रसपान आदिले त कल्याण हुने देखिन्न । उनले राजा शश विन्दुले यज्ञ गर्दा पशु वध गरे, जसले पशुको छालाको पहाड नै बनेको चर्चा पनि निकाले । स्त्री सँग पुरुष आशक्त हुने र पाएमा दङ्ग पर्ने, नपाएमा खिन्न हुने हुनाले कसरी जीवन मुक्त बन्न सकिएला भन्ने शङ्का राजा समक्ष राखे ।
उनलाई चित्त बुझाउन जनक राजाले भन्दै गए, हे व्राम्हण देवता, यज्ञमा गरिएको पशु वधलाई हिंसा भनिँदैन । राग लिएर गरिने हिंसालाई मात्र हिंसा भनिन्छ । सुकेको दाउरा बाल्दा धुवाँ नआए जस्तै अहङ्कार नराखी, राग नराखी गरिएको हिंसालाई हिंसा भनिँदैन ।
शुकदेवजीले तैपनि चित्त बुझाएनन् । उनले शास्त्र ज्ञान भएर पनि, नित्य नित्य विवेक भएर पनि मानिसमा मोह जान्दैन । मोह नगएपछि मुक्त हुने कसरी ? शास्त्रको ज्ञानले मात्र पनि विवेक आउँदैन । बत्ती नबालुन्जेल अँध्यारो नहटे जस्तै विवेक नआएको ज्ञान के काम लाग्ला र ? तपाईँमा पनि त चोरलाई चोर कै आँखाले, सज्जनलाई सज्जन कै आँखाले हेर्ने र आफ्नो आर्तकाको भन्ने भेद हुँदै होला? तपाईँ यस स्थितिमा कसरी विदेह हुनुभयो ? तपाईँका पनि हात्ती, घोडा, सैन्य आदि छंदैछन्, ती सबलाई मेरो भन्नु भएकै छ, तपाईँका पुर्खाहरूले रागव्देष राखे जस्तै तपाईँ पनि रागव्देष राख्नु हुन्छ नै आदि भन्दै प्रतिप्रश्न गर्दै गए ।
शुकदेवको यस प्रकारका जिज्ञासा शान्त पार्न जनक राजाले हे बाबु, तपाईँले भन्नु भएको कुरामा म सहमत छु भन्दै आफ्नो कुरा राखे । तपाईँ जङ्गलमा गएर तपस्या गर्न लागे पनि त्यहाँका जनावरहरू सँग तपाईँको मोह हुँदै जान्छ, पृथ्वी, जल आदि महाभूतहरू जहाँ पनि छंदैछन् । वनमा पनि त दण्ड, मृग चर्मको आवश्यकता परिहाल्छ, यसको चिन्ता भई हाल्छ । त्यसैले राजा भएपछि पनि चिन्ता त भइहाल्छ । तपाईँ भ्रममा परेर नै यति टाढा आउनु भएको हो । म त सुखमा भोजन गर्छु, सुख मै शयन गर्छु, म आफूलाई बद्ध मान्दिन । म सुखी छु । तपाईँ भ्रममा पर्नु भएकोले आफूलाई बद्ध सम्झनु हुन्छ । यस प्रकारको भ्रममा नपरीकन सधैँ सुखी र स्वास्थ्य रहनुस्, आफूलाई बद्ध नसम्झनुस्, यो शरीर मेरो होइन भन्ने निश्चय गर्नुस्, यही नै मुक्ति हो ।
यसरी जनक राजाले दिएको उपदेशबाट शुकदेवलाई चित्त बुझ्यो र उनी त्यहाँबाट बिदा लिएर आफ्नो पिता व्यासको आश्रममा आए । शुकदेवलाई देखेर व्यास हर्षित भए भने जनक राजाको विदेहावस्था देखेर उनी पनि आफ्नो बाबुकै आश्रममा बसेर तपस्या गर्न लागे । उनले वर्हिषद् नामको पितृका पीवरी नामको मानसी कन्यालाई पत्नी रूपमा स्वीकारे । उनको गर्भबाट ४ छोरा र १ छोरीले जन्म लिए । यसरी केही समय बिताएर शुकदेवजी तपस्या गर्न कैलाश पर्वतमा गए । तपस्या पछि उहाँलाई परम सिद्धि प्राप्त भयो र आकाश मार्गबाट प्रस्थान गर्नुभयो ।
यति भएपछि पनि व्यासले छोराको मोह छोड्न सक्नुभएन र विलाप गर्न थाल्नु भयो । उनको विलाप सुनेपछि शिवजी प्रकट हुनुभयो र उनलाई शुकदेवको प्रतिमूर्ति सदैव रही रहने कुरा बताएर आफू अन्तर्धान हुनुभयो । व्यास आफ्नो आश्रममा गएर बसे तैपनि उनको पुत्रको मोह भने गएन ।
साधु महात्माका कुटीमा, आश्रममा विशेष उत्सवमा गरिने, गराइने भोजनलाई भन्डाराको संज्ञा दिइन्छ । साधरणतया भोजनको सुरुको समयमा गीताको १५औँ अध्याय पूरा पाठ गरिने, भोजन पूर्ण नहुन्जेल पनि अनेक प्रकारका श्लोक, स्तुति हरू गरिने चलन छ । त्यसमध्ये कहिलेकाहीँ वाचन गरिने चाणक्य द्वारा रचित श्लोकको अन्तिम शब्दबाट यस लेखको शीर्षक राखिएको छ । पूरा श्लोक यस प्रकारको छ ।
सानन्दं सदनं सुताश्च सुधियः कान्ता न दुर्भाषिणी, सन्मित्रं सुधनं सयोषिति रतिश्चाज्ञापरा सेवका ।
आतिथ्यं शिवपूजनं प्रतिदिनं मृष्टान्नपानं गृहे, साधो संगमुपासते हि सततं धन्यो गृहस्थाश्रम ।।
(सङ्कलित)।
यो पनि पढ्नुस् :
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com