arrow

राजनीतिमा व्यवस्था होइन आचरण सुधारौं 

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ असोज १९ मंगलबार
rajendra-panthi-article7.jpg

नेतृत्वको आचरण वा प्रवृत्ति नै गलत भएपछि जतिसुकै सुन्दर व्यवस्था ल्याए पनि अवस्था जे को त्यही नै हुँदो रहेछ भन्ने कुरा बुझ्न कतै नजानु पर्ने भयो । सुन्दर व्यवस्थाका कुरुप आचरण र प्रवृतिका उदाहरण नेपालमा प्रशस्तै छन् । सिद्धान्त र भाषणमा जति राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर भएकोले नेपालका पार्टीहरू राज्य सञ्चालनमा असक्षम सावित भए । देश र जनताप्रति उत्तरदायित्व बहन गर्न नसक्नु, भ्रष्टाचारमा चुर्लुम्मै डुब्नु, नातावाद र कृपावादलाई प्रश्रय दिनु, असंसदीय र अमर्यादित क्रियाकलापको खेल खेल्नु र एक अर्कोलाई निषेधको राजनीति गर्नु जस्ता थुप्रै गलत आचरणको परिणाम नै आज संविधान अनुसारको राज्य हुन सकेन । 

नेपालको शासन प्रणाली देख्दा जनता वाक्कदिक्क भएका छन् । आज कोरोना संक्रमणले जनता आक्रान्त छन् तर पार्टीका नेताहरू निरोले झैँ बाँसुरी बजाएर बसेका छन् । संसद हेर्दा लाजमर्दो छ। ठूला चाडपर्व नजिकै आउँदा बजार मूल्य आकाशिएको छ । सरकारले अनुगमन गर्ने फुर्सद नै छैन । जनप्रतिनिधिहरू संसदमा उपस्थित हुने नारा जुलुस लगाउने अनि भत्ता पचाउने बाहेक उपलब्धि केही छैन ।

माओवादीले ठूलो सपना बुनेर नेपालमा २०५२ फागुन १ देखि  सशस्त्र जनयुद्ध शुरु गरेको थियो । यो जनयुद्धमा १७ हजार नेपाली मारिए । नेकपा माओवादी र सरकारबीच १२ बुँदे समझदारी भई २०६३ मा माओवादीले जनयुद्ध अन्त्य गरेको थियो । जनयुद्ध शुरु गर्दा र जनयुद्धको बेला जे सपना देखाइएको थियो त्यसको परिणाम नेपाली जनताले के पाए ? ठोस  उपलब्धि के भयो ? आज यो ठूलो बहसको विषय हुनुपर्ने देखिन्छ । यति ठूलो लडाइँको परिणाम केही पाए जस्तो लाग्दैन । कुनै पनि कार्यको परिणाम त हुनुपर्ने होइन र ? अन्याय, अत्याचार, कुरीति, कुसंस्कार, बेथिति, शोषण, दमन विरुद्ध क्रान्तिको मैदानमा लडाइँ जितेर आएको पार्टी सरकारमा जाँदा नेपाली जनताले खै के पाए ? उही गरिवी, बेरोजगारी, अशिक्षा, विभेद, असमानता आदि आदि।

नारायणीबाट एउटा राजालाई हटाउनु बाहेक अहिले जनताले केही पाएका छैनन् ।  बहुदलीय राजसत्तामा एउटा राजा थिए तर अहिलेको राज्य प्रणाली हेर्ने हो भने सयौं राजाको शासन नेपालमा छ । सयौं राजा बनेका छन् । एउटा राजा गयो धेरै राजा आए । के यही हो गणतन्त्रको र उपलब्धि ? 

काठमाडौंलाई राजधानी बनाएर नेपालको एउटा मात्र राजा हुने व्यवस्था हट्यो तर संघ, प्रदेश र स्थानीय तहमा धेरै राजा बन्ने प्रणाली आयो। नयाँ संविधानको कार्यान्वयनको पहिलो चरणलाई हेर्दा जनचाहना अनुसारको आशालाग्दो उपलब्धि हुन सकेन । जनताका अभिभावक जनप्रतिनिधि नभएर नयाँ राजा बने । धेरै राजा बन्दा देशको अर्थतन्त्रले धान्न नसक्ने भयो । अहिले परिवर्तनको महसुस भनेको नाङ्गो आँखाले हेर्दा बोल्ने र लेख्ने अधिकार र सामान्य विकासको निरन्तरता बाहेक खासै केही हुन सकेन । 

२०४६ र यसपछि पनि नेपाली  राजनीतिमा धेरै पटक राजनैतिक परिवर्तनका हुरी बतास आउँदा पनि छेउँमा आचरणगत गडेर बसेको फोहर उड्न सकेन । त्यही फोहरले दुर्गन्ध फैलाएको छ । विधि र व्यवस्था परिवर्तन भए पनि आचरण र प्रवृत्ति परिवर्तन हुन सकेन । नेता र कार्यकर्ताले गुटको राजनीति गर्ने, नेतालाई देवत्वकरण गर्ने र वरिपरि घुम्ने, भ्रष्टाचारीलाई कानूनको  कठघरामा उभ्याउन नसक्ने, अन्धभक्त कार्यकर्ताले गर्दा देशको विकासको गति अगाडि जान नसक्नु नै मूल समस्या हो ।

माओवादी जनयुद्धको बेला धेरै मीठा र गुलिया अनि लोभलाग्दो भाषण सुनिएको थियो । तर आज ती सपना जस्तो लाग्छ । ती सबै भ्रमका खेती  रहेछन् । जनतालाई आश्वासनमात्र दिए अरु केही दिन सकेनन् । माओवादी पनि शासन सत्ताको माखे साङ्लोमा फस्यो । कुर्सीमोह र नातावाद नै माओवादीको केन्द्रको केन्द्रबिन्दू नै बनेको देखिन्छ । 

माओवादी बाहेकका अरु कम्युनिष्ट, कांग्रेस वा मधेसवादी  दलको पनि एक मात्र उद्देश्य भनेको सत्तालिप्सा र कुर्सीमोह मात्र बन्नाले देश जहाँको त्यहीँ  छ। सिद्धान्त र निष्ठा भन्ने कुनै पनि नेतामा छैन । केवल गाली र गलौजको फोहरी राजनीतिमात्र विकसित भएको छ । व्यवस्था जतिसुकै राम्रो भए पनि आचरण गलत हुनाले नेपालले  विकासको फड्को मार्न नसकेको देखिन्छ । कुरा एकातिर काम अर्कोतिर भइदिएको छ ।

नेपाल प्राकृतिक श्रोत र साधनले सुन्दर सम्पन्न मुलुक छ र विविधतामा एकता भएको मुलुक हो । सबै पार्टी र नेताहरू देशको विकास र समृद्धिको लागि कसम खाएर लाग्ने हो भने परिणाम तुरुन्त प्राप्त हुन्छ । यहाँको अर्को समस्या भनेको राजनीतिलाई पेशा र कमाउने भाँडो बनाउनु नै हो । सत्तालिप्सा, भ्रष्टाचार, कमिशनतन्त्र, गुट र उपगुटको भागबण्डाले गर्दा आधा युग नै बितिसक्दा पनि जनताले प्रजातन्त्र, गणतन्त्र र सङ्घीयता महसुस गर्न सकेका छैनन् । नेपाली जनताहरू धेरै  पटक व्यवस्था परिवर्तन गर्ने भनेर लडे र  प्रणाली परिवर्तन गर्न भनी लडे तर आफूले चाहेजस्तो शासनसत्ता पाउन सकेका छैनन् । जतिसुकै राम्रो व्यवस्था ल्याउदा पनि घुमिफिरी उही पुरानै प्रवृत्तिको  आगमन हुन्छ । नेताहरू जुको टाँसिए झैं  सत्तामा टाँसिन्छन्, देश र जनताप्रति कत्ति पनि उत्तरदायी छैनन् ।

नेपाली जनताको विकल्प भनेको फेरि पनि लड्नु हो । हामी जबसम्म हाम्रो  प्रतिनिधि आफैले रोजेर चुन्न सक्दैनौं तबसम्म यो समस्या रहिरहन्छ । राजनीतिलाई पेशा नबनाइ मात्र सेवा ठान्ने नेतृत्व चयन गर्न सकियो भने जनताका दुःखका आँसु पुछिन्छ्न् । अबको निर्वाचनमा हाम्रो होइन राम्रो मान्छेलाई निर्वाचित गराउनु पर्छ । देश र जनताप्रति दूरदृष्टिकोण भएको सिद्धान्त र निष्ठाको राजनीति गर्ने असल आचरण भएको व्यक्ति रोजेर निर्वाचित गराउनको लागि आजैदेखि लागौं । 

कुनै पार्टीको झोले र अन्धभक्त भएर भेँडो जस्तै नभई पार्टीभित्र पनि आन्तरिक विद्रोह गरियो भने त्यसबाट देवत्वकरण गर्ने परिपाटीको अन्त्य हुन्छ ।  नेपाली राजनीतिमा स्वच्छता र शुद्धता हुने हो भने नेपालले धेरै छिटो विकासको फड्को मार्न सक्छ । अब व्यवस्था होइन नेता र नेतृत्वको आचरण सुधार्न नेपाली जनता धेरै सचेत हुनुपर्ने देखिएको छ। निर्वाचन प्रणालीबाट गलत गर्नेलाई लोप्पा खुवाउनुको विकल्प केही नै छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ