- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
यसरी महिषासुरको सेना सहित अनेक वीर दानवहरूले रणभूमिमा मर्नु पर्यो । विडालाख्य र असिलोमा जस्ता वीरहरू पनि राजाको आज्ञाले रणभूमिमा उपस्थित भए । असिलोमा अगाडि बढेर देवी सँग उनी प्रकट भएको कारण तथा निर्दोष दैत्यहरूलाई मार्नु परेको कारण जान्न चाह्यो । उसले देवीलाई विनाश हुने अनित्य सुखलाई त्यागेर आत्म ज्ञान सम्बन्धी नित्य सुख चाहनुपर्ने तथा शरीरमा यौवन पनि अनित्य छ, त्यसैले अहिले नै यस धर्तीमा सुखको भोग गर्नु उचित हुन्छ भन्ने जस्ता अनेक प्रलोभनका कुरा बताउन थाल्यो ।
उसको यस प्रकारको कुरा सुनेर देवीले आफूलाई भोग विलासको कुनै इच्छा नभएको, सबै प्राणीहरूमा साक्षी बनेर न्याय तथा अन्याय हेर्ने गरेको तथा सज्जनको रक्षा र दुर्जनको विनाश गर्न अवतरित भएको कुरा बताउँदै महिषासुरलाई मार्न प्रकट हुनुपरेको कुरा बताइन् । त्यसै गरी उनले त्यसलाई पनि महिषासुरले दानव सेना सहित पातालमा गएर बस्ने भए केही नगर्ने कुरा पनि बताइन् ।
विनाश काले विपरीत बुद्धि ( भाग १)
देवी र असिलोमाको बिचमा भएको कुरा विडालाख्यले पनि सुनिरहेको थियो । असिलोमाले विडालाख्यलाई आफू र देवी बिच भएको कुरा तिमीले पनि सुन्यौ, हाम्रा राजा महिषासुर आफू मर्ने थाहा पाएर पनि लडाई गर्न तम्सेका छन्, दैवी मार कसैले पनि टार्न सक्तैन, हामीले यस्ता कुरा सुने पनि महिषासुरले नसुन्ने हुँदा हामी पनि युद्धमा होमिनु वेश भनेर युद्ध गर्न लागे र दुवै दानव देवीको हातबाट मर्न गए । सबै देवताहरूले देवीको जय जय पुकार गर्न थाले ।
यसरी वीर दैत्यहरू मरेको कुरा सुनेर महिषासुर आफ्ना सैन्यहरू लिएर देवीको सम्मुख गयो । देवीले ऊ आएको देखेर शङ्ख बजाइन् । महिषासुर देवीको सम्मुख गएर आफू देवीको रूप देखेर मोहित भएको, संसारमा अति उत्तम सुख नै स्त्री र पुरुष बिचको सङ्गम हुनु हो । सुख संयोगले मात्र पाइने कुरा हो । तिमी मैले भनेको मान्ने हो भने म देवताहरूसँग पनि लडाइँ गर्न छोड्छु, यसमा शङ्का नगर, म तिम्रो सेवक हुं, म तिम्रो दासता स्वीकार पनि गर्दछु भन्दै देवीलाई प्रभावमा पार्न खोज्यो ।
देवीले उसको कुरा सुनेपछि म त परम पुरुषभन्दा अतिरिक्त अरू कसैको पनि चाहना गर्दिन, म नै संसारको सृष्टि गर्दछु, म उही परम पुरुषको प्रकृति हु र सारा संसारको सृष्टि गर्दछु भन्न थालिन् ।
विनाश काले विपरीत बुद्धि ( भाग २)
त्यसै गरी देवीले महिषासुरलाई हे पापी, तँ स्त्रीको सङ्गत गर्न किन खोज्दछस् ? बरु फलामको जन्जिरमा बन्दिएको व्यक्ति स्वतन्त्र हुन सक्ला, स्त्रीको जन्जिरले बाँधिएपछि उम्कन कठिन हुन्छ, मनमा शान्ति लिएर बस्, त्यही नै सुखको साधन हो भन्ने जस्ता उपदेश दिइन् ।
भालुलाई पुराण सुनाएर के काम भन्ने नेपाली उखान जस्तै देवीको अमृत वाणी उसलाई पचेन । उसले देवीलाई आफूले सबै देवताहरूलाई जिती सकेको र स्त्री हत्या, वाल हत्या, ब्रम्हहत्याको पाप जघन्य हुने कुरा बतायो र आफू जस्तो समस्त देवताहरूमा विजय हासिल गरेको पुरुषलाई छोड्ने हो भने राज पुत्री मन्दोदरी जस्तै पछुताउनु पर्ला र आफूले भनेको नमान्ने हो भने तुरुन्त फर्केर जानु भनेर देवीलाई धम्कायो ।
विनाश काले विपरीत बुद्धि ( भाग ३)
यसरी देवीले सम्झाए पनि उसले उनको कुरा सुनेन र युद्ध भूमिमा अगाडि बढ्यो, सारा देवताहरू यो दृश्य हेरिरहेका थिए, देवीले उनलाई मारिन् । ऊ मरेको देखेर सबै देवताहरूले जय जय गरे । (देवी भागवतमा आधारित)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com
(मन्दोदरीको प्रसङ्ग अर्को हप्ताबाट प्रस्तुत हुनेछ)
×××