arrow

नेपालीहरूको महान चाड बडादशैं र यसको जीवनदर्शन

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ असोज २९ शुक्रबार
rajendra-panthi-article9.jpg

नेपालीहरूको महान पर्व दशैँ सबैको घर घरमा भित्रिएको छ। यो पर्व आश्विन प्रतिपदादेखि दशमीसम्म धुमधामसङ्ग मानिन्छ। त्रेतायुगमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको खुशीयालीमा यो पर्व मान्न शुरु गरेको मान्यता पाइन्छ । खासगरी यो पर्वलाई असत्यमाथि सत्यको विजयको रुपमा मानिन्छ ।

त्यस्तै भगवतीले दानवी शक्तिमाथि विजय हासिल गरेको खुशीयालीमा आफ्ना मान्यजनबाट रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। दशैंमा नवदुर्गाको नौवटा रुप शैलपुत्री, व्रम्हाचारिणी, चन्द्रघन्टा, कुशमान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिध्दिधात्रीको विशेष पूजा र आराधना हुन्छ। एक वर्षमा चारवटा दशैं पर्छन् । ती  असार, पुस, चैत्र र आश्विन महिनामा मनाइन्छ । चैतमा मानिने दशैलाई चैते दशैं भनिन्छ भने असार र पुसको दशैं थोरै समुदायले मान्ने चलन छ। यी चारमध्ये आश्विन महिनामा मनाइने दशैंलाई बडादशैं भनिएको हो।

नेपालमा हिन्दू र बौद्ध धर्ममा समेत  बडादशैंलाई ठूलो पर्वको रुपमा मानिँदै आइएको छ। कुनै पनि पर्वलाई पर्वको रुपमा सीमित राख्नु हुँदैन । परिवर्तित समय अनुकूल व्याख्या विश्लेषण गरिनुपर्छ। त्यसको सतही विश्लेषण होइन गहिरो अध्ययन र विश्लेषण गर्नुपर्छ र त्यसको विभिन्न आयामबाट बुझेर पर्व मान्नुपर्छ । यस्तो पर्वले दिन खोजेका जीवनदर्शन ग्रहण पनि गर्नुपर्छ । दशैं भनेको निधारमा अक्षता र शिरमा जमरा लगाउनुको साथै यसबाट जीवन उपयोगी कुराहरू ग्रहण गरिनुपर्छ । अक्षता, जमरा र दक्षिणाको पनि विशेष अर्थ रहेको छ।

अक्षता भनेको नाश नहुने गुण भएको वस्तु हो । अन्न प्राण धान्ने बस्तु हो, जसलाई शिरमा धारण गरिएको हो । जमरा भनेको माटोको परीक्षण गरेको हो। यसले कृषिलाई महत्त्व दिनुपर्छ भन्न खोजेको देखिन्छ र जौंको जमरामा धेरै प्रकारका औषधीय गुण पनि हुन्छन् । दक्षिणा खासगरी उपहार हो । ठूलोबडासँग आशीर्वाद लिँदा उपहार स्वरुप दक्षिणा दिने प्रचलन हो ।

पर्वलाई मानवीय जीवन दर्शनसित जोड्नु पर्छ । यो पर्व मान्दा यसले हामीलाई दिने शिक्षालाई ग्रहण गरिनु पर्छ । हरेक पर्वका आ–आफ्नै महत्त्व छन् । कुनै अदृश्य शक्तिको पूजा वा आराधनाले हाम्रो जीवनमा के कस्तो प्रभाव पार्छ, त्यो महत्त्वपूर्ण पक्ष हो । पर्व मान्दा मान्छेको जीवनको वैयक्तिक, धार्मिक, सामाजिक, आर्थिक आदि पक्षमा सकारात्मक प्रभाव, प्रेरणा र मनोबल पैदा हुन्छ ।

पौराणिक कथनका आधारमा मानिँदै आएको दशैंसँग आत्मीयता, भेटघाट,  रमाइलो, खुशी, आशीर्वाद आदि थुप्रै कुराहरू जोडिएका छन् । मानवीय जीवनका थुप्रै पाटाहरूमध्ये खुशी हुनु, रमाइलो गर्नु, साथीभाइ जमघट हुनु, आफन्तलाई भेट्नु, मीठो मसिनो खानु, नयाँ र राम्रो कपडा लगाउनु जस्ता क्रियाकलाप जीवनलाई सकारात्मक दिशामा लैजाने पक्ष हुन् । दशैंलाई जब हामी सत्यको विजय र दानवीय शक्तिमाथि देवताको जितको प्रतीकको रुपमा मान्छौं त्यसले हामीलाई जीवनको यात्रामा हिँड्न हौसला दिन्छ। मान्छेमा आत्मबल, प्रेरणा, हौसला र शक्ति मिल्छ अनि यसले जीवनलाई बाँच्न सहज बनाउँछ ।

वर्षपछिको बुवाआमा, परिवार, आफन्त, इष्टमित्र, साथीभाइ, छिमेकीसँगको भेटघाटले मनमा खुशी, आनन्द र उल्लास ल्याउँछ र आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बन्दछ । यसले मानवीय जीवनलाई हल्का बनाइदिन्छ। जीवनमा कतै केही जटिलता रहेछन् भने एक अर्कोलाई सुनाउँदा आफूलाई भारी कम भएको महसुस पनि हुन्छ ।

मान्छे जीवनमा खुशी र सुखी हुनु भनेको आत्मसन्तुष्टि नै हो । मान्छे सुखी र खुशीको लागि भौतिक कुरा खोज्दछ भने उसले कहिल्यै ती चिज पूरा गर्न सक्दैन । किनकि आशा र लालसाको अन्त्य बिन्दू भेटिँदैन। आज संसारमा धन र दौलत प्रशस्त भएका मानिसहरू पनि खुशी र सुखी छैनन् । तर अहिलेको २१औं शताब्दीमा आउँदा पनि कुनै ऋषिमुनिहरूको अनुशरण गरी सन्तुष्टि र खुशी हुनुपर्छ भन्न खोजेको होइन । अत्यधिक आशा र लालसाका कुराले जीवनलाई थप जटिल बनाउने हुँदा कसरी हुन्छ मन नियन्त्रण  गरी जीवन चलाउनु पर्ने हुन्छ ।

मान्छेको जीवन निश्चित छ। जीवनलाई जति तनाव र बोझ बनाउँछौ त्यसले जीवनको आयुलाई  घटाउने नै हो।निश्चित जीवनमा हाम्रा सनातनी धर्म,संस्कार, परम्परा, पर्व र मान्यतालाई अवलम्बन गर्नुपर्छ जसले गर्दा बोझरहित र खुशीसाथ बाँच्न सकिन्छ । आफन्त र आफूभन्दा ठूलाबडाले दिएको दशैंको आशीर्वादले मानिसलाई आत्मबल, हौसला र प्रेरणा मिल्दछ र एक प्रकारको शक्ति पैदा हुन्छ । आफूले बाँच्ने कला पनि थाहा पाउन सकिन्छ । 

यो पर्व मान्नको लागि विदेशिएका थुप्रै मान्छेहरू आफ्नो घर फर्कन्छन् । त्यहाँ फर्कदा एउटा मान्छे मात्र फर्कदैन उसले विदेशी भूमिमा पसिना बगाएका, सुखदुःख भोगेका, त्यहाँ विकास र समृद्धि देखेका कुराहरूसँगै ल्याएको हुन्छ । ऊसँगको भेटघाटबाट थुप्रै वैयक्तिक, सामाजिक, आर्थिक, राजनैतिक कुराहरू थाहा पाउन सकिन्छ । ताकि राम्रा कुराहरूलाई हामी जीवनमा अवलम्बन गर्न सक्छौं । यसले व्यक्तिगत फाइदा मात्र नभएर सामाजिक फाइदा हुन्छ ।

नेपाली समाजमा मानिने यस्ता पर्वहरूलाई जीवन भोगाइमा ल्याउने सरलताको उपाय र अर्थपूर्ण  बचाइको आधारको रुपमा लिनुपर्छ। यी र यस्ता पर्वहरू आजको भौतिक र वैज्ञानिक बन्दै गएको मानवीय जीवनको अवस्थामा अत्यन्तै लाभदायी छन् । मान्छे मेसिन होइन, मान्छे मान्छे नै हो । त्यसैले उसलाई जीवनमा सुख, खुशी, हाँसो, आनन्द, प्रेरणा, हौसला आदि थुप्रै शक्ति दिने कुराहरू यस्ता पर्वबाट मिल्दछन् ।

समाजमा प्रचलित कुनै पनि पर्वले दशा  ल्याउनु हुँदैन । कतिपय पर्वहरूले सामाजिक विचलन ल्याएका पनि छन् । यस्ता पर्वहरू मान्ने क्रममा मितव्ययिता हुनुपर्छ। पर्व भनेका कुनै जाति, वर्ग, लिङ्गको मात्र होइन । सबैको हो। गरिब, धनी, दीनदुःखी सबैले मान्ने पर्वको रुपमा स्थापित गर्नुपर्छ । राज्यले आफ्ना कर्मचारीलाई मात्र दशैंमा भत्ताको व्यवस्था गरेजस्तै  गरिब नेपाली जनतालाई हर्ष र उल्लास साथ दशैं मनाउन भत्तारुपी राहत दिनुपर्छ। जसको मासिक आम्दानी छ उसलाई थप भत्ता छ तर जसको पेट भोको छ उसलाई न भत्ता हुन्छ न लत्ता हुन्छ र न सत्ता नै हुन्छ । कस्तो हो, समाजवादी राज्यव्यवस्था !

दशैं शक्तिको उपासना हो। नेपालमा दशैं बहिष्कार गर्नुपर्छ भन्ने पनि सुनिन्छ। यो कुनै जात र वर्गको पर्व मात्र होइन, सम्पूर्ण जातजाति र आदिवासीको पर्व हो। यसमा दिइने आशीर्वादमा मानिस शक्ति पैदा गर्ने मन्त्रको प्रयोग गरिएको छ । दशैंमा बलि प्रथाको बारेमा केही विरोधाभास पनि सुनिन्छ । तर संस्कृतिविद् जगमान गुरुङका अनुसार दशैंमा बलि दिनु उपयुक्त हो ।अन्त्यमा बडादशैंको उपलक्ष्यमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्लमय शुभकामना । (लेखक हाल अमेरिकाको भर्जिनियामा छन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ