arrow

अमेरिकामा नेपालीहरूको सामाजिक जीवन र पहिचान

logo
राजेन्द्र पन्थी,  
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
rajendra-panthi-article-10.jpg

‘जहाँ
हरिया–हरिया पहाडका फरिया
अलिक तल सारेर
निर्मल, स्वच्छ र न्यानो घाममा
हिमालले सधैँ ढाड सेकेको हुन्छ
म जति टाढा भए पनि त्यो मेरो देश
सधैँ मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ।’
               –भूपी शेरचन (२०१७ सङ्गम)

जब म विदेशिएँ मलाई बारम्बार यो कविता पढेको र पढाएको याद आउँछ । म दिनभरि मेरो काममा व्यस्त हुन्छु तर रातभर निन्द्रामा पर्छु । त्यही बेला म मेरो जन्मभूमि र मेरो देश नपुगेको दिन हुँदैन । धन्य ! सपना मलाई मेरो देशमा पुर्याएकोमा । बिपनामा जतिसुकै टाढा भएपनि सपनामा जहिले घुमिरहेको हुन्छु । मैले पढेको स्कुल, मेरा बाल्यकालीन साथीहरू, सुरेटारी र लामकाने वनमा गाईवस्तु चराएको, मेरो दीपक मावि लगायतका सामिप्यताका सम्झनाहरू दिनहुँ सपनामा आउँछन् । बिर्सिन्छु भनेर पनि  बिर्सिन नसकिने भनेको आफ्नो जन्मभूमि रहेछ। भौतिक रुपमा म सात समुन्द्र पार भए पनि मेरो मन भने मेरै देशमा छ । मेरो आस्था र श्रद्धाको देश भनेको मेरै नेपाल हो ।

हुन त आज विश्व एउटा सानो गाउँमा परिणत भएको छ। कुनै देश टाढा र नजिक भन्नु छैन । संसारलाई क्षण भरमा घुम्न सकिने भएको छ । सजिलै एउटा छेउबाट अर्को छेउ देखिन  र पुगिन सकिन्छ । कुनै एउटा ठाउँमा बसी संसारलाई नियाल्न सकिन्छ । विज्ञान र प्रविधिको आविष्कार र  विकासले यस्ता  कुराहरू सहज बन्दै गएका छन् ।

आजको मान्छे पनि प्रविधिले गर्दा मेसिन जस्तो जीवन चलाउन पर्ने परिस्थितिमा पुगेको देखिन्छ । मान्छे यसले गर्दा अति नै भौतिकवादी हुँदै गएको छ । अत्यधिक भौतिकवादका पछाडि लाग्दा मान्छे मेसिन नै बन्छ । मान्छे नै मेसिन बन्छ भने उसको मानवीयपन प्रकट हुन पाउँदैन । मानवीयता सहितको मान्छे हुनुपर्नेमा यो २१ औं शताब्दीले होला मानवीय जीवन कता कता एक्लो जस्तो बन्दै गएको महसुस हुँदैछ। पूर्वीय संस्कारमा भनिए जस्तै मानवीय जीवनका अभिन्न अङ्गहरू समाज, छरछिमेक, आफन्त,  इष्टमित्र आदिबाट टाढा भई मान्छे एक्लै बन्दै गएको देखिन्छ । मान्छे  मेसिन बन्दै छ।

मान्छेलाई मेसिन हुनबाट बचाउने एउटा महत्त्वपूर्ण पक्ष हो –सामाजिकता । मान्छे सामाजिक प्राणी हो। समाज बिना मान्छे एक्लो हुन्छ । जब मान्छे एक्लो हुन्छ उसले मनोभावना साटासाट गर्न सक्दैन । मान्छेले आफ्ना दुःखसुख साट्न पाउँदैन अनि मान्छे मनोरोगी हुन्छ। यसरी मानव जीवनको एउटा महत्त्वपूर्ण पक्षभित्र घरपरिवार, छिमेकी, साथीभाइ, इष्टमित्र हुन् ।

मान्छे जतिसुकै प्रतिभाशाली होस् यदि उसको समाज छैन भने प्रायः त्यो मान्छे मनोरोगी हुने धेरै सम्भावना रहेको हुन्छ। मान्छे बोल्नु, हाँस्नु, रिसाउनु, रुनु आदि जीवन सहज गराउने माध्यम हुन् । मान्छे जति धेरै समाजसँग घुलमिल गर्न सक्छ  त्यति खुशी हुन्छ। मान्छे जति खुशी हुनसक्छ त्यति निरोगी र सुखी हुन्छ। मान्छे धनले खुशी  र सुखी हुन सक्दैन। उसलाई खुशी हुन आनन्द र समाज चाहिन्छ। 

महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेका छन् –
हातको मैला सुनका थैला के गर्नु धनले ।
साग र सिस्नु खाएको बेश आनन्दी मनले ।।

यो लेखमा अमेरिकामा बसोबास गर्ने  अधिकांश नेपालीहरूको सामाजिक जीवनलाई पहिल्याउने सामान्य चेष्टा गर्न खोजिएको छ । अमेरिकालाई मान्छेले कुनै बेला सपनाको संसार भन्थे । सायद अहिले संसारमा अरु पनि यस्ता सपनाका संसार भनेर चिनिएका छन् । अमेरिका त्यसै अमेरिका भएको रहेनछ । यसको प्रमुख कारण हो – काम, काम अनि काम। हरेक व्यक्ति आफ्नो  जीविकोपार्जनका लागि काम पूर्णरूपमा गर्नुपर्छ । काममा जिम्मेवारी र उत्तरदायित्व अनिवार्य पालन गर्नै पर्छ । यही तरिकाले काम गरेर जीविका चलाएका नेपालीहरू पनि समय निकालेर आफ्नो समुदायमा विभिन्न सामाजिक, आर्थिक, राजनैतिक आदि क्षेत्रमा सम्लग्न छन् । सबैले अमेरिका भनिए तापनि यसको वास्तविक नाम संयुक्त राज्य अमेरिका हो । उत्तर अमेरिका महादेशका  २३ देशमध्ये एउटा देश अमेरिका हो । 

अमेरिकाको जनसंख्या करिब ३३ करोड रहेको छ, जुन विश्वको जनसंख्याको ४.२ प्रतिशत हो । यसको क्षेत्रफल ९१४७४२० वर्ग किलोमिटर छ । अमेरिका खासगरी आप्रवासी मुलुक हो । यहाँ संसारका प्रायः सबै देशका मान्छेहरू बसोबास गर्छन् । सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएका थिए । यसलाई नयाँ संसार उपनामले पनि चिनिन्छ । संसारका अरु देशभन्दा पछि पत्ता लागे पनि अहिले यो मुलुक विश्वकै विकसित र शक्तिशाली राष्ट्रमा अग्रपङ्तिमा आउँछ ।

यसो हुनुको प्रमुख कारण संसारभरिका प्रमुख  दिमागवाला मान्छेलाई कानूनी रुपमा भित्र्याउने र काममा लगाउनु नै हो । आप्रवासी मुलुक हुनाले नातागोता इष्टमित्र भन्ने हाम्रो नेपाल जस्तो यहाँ चल्दैन । जो कोहीले इमान्दारीपूर्वक काम गरी कानूनको पालना गरेपछि  स्वभाविक रुपमा देशको  विकास हुँदो रहेछ । कामचोर, ढिलासुस्ती, नातावाद नभएपछि त विकासको काम आफ्नो गतिमा अगाडि बढ्छ । 

मेसिनको चालमा  जो कोही मान्छेले आआफ्नो जीविकोपार्जन गर्नको लागि छ्लकपट नगरी काम गरेको देखिन्छ । जब एउटा फल फलाउनु छ भने बिउ बिरुवा मलजल गरेपछि फल्छ । विकास पनि त्यस्तै हो । रोपेर मात्र मिठो फल प्राप्त गर्न सकिँदैन । नेपालको विकासको स्तर अधिकांश रोप्ने तयारी र रोपे झैं मात्र देखिएको छ । आज प्रजातन्त्र आएको ३२ वर्षमा देखिनलायक ठूला विकास खासै केही देखिँदैनन् । यसको प्रमुख कारण भनेको विकास प्रति सोच नै नहुनु हो । काले काले मिलेर खाउँ भाले जस्तै भएको छ। भाषण मात्र ठूला काम केही नहुनु , केवल भ्रमको खेतीमा नेपालको राजनीति बर्बादीतिर गएको देखिन्छ ।

नेपालमा पनि राज्यतहबाट नै कानूनअनुसार काम गर्ने हो भने एउटा भूस्वर्ग बन्दछ । जहिले पनि राजनैतिक अस्थिरता सिर्जना गरी लुट्ने प्रवृत्तिले नेपाल पछाडि परेको हो । नेपालीहरूलाई नेपालमै रोजगारको सिर्जना गरिदिने हो भने नेपाली बाहिर जाँदैनन् । नेतृत्वमा देश विकासको दृढ संकल्पमात्र हुनुपर्छ देशले छोटो समयमा काँचुली फेर्दछ ।
 
अमेरिका आउनु धेरैको वाध्यता र थोरैको रहर देखिन्छ । नेपालीहरू विदेश पलायन हुनुको प्रमुख कारण देखिन्छ– बेरोजगार । प्राकृतिक र भौगोलिक दृष्टिले अति नै सुन्दर देश नेपालबाट अधिकांश नेपाली चाहना नहुँदा नहुँदै विदेश पलायन हुनुपरेको छ । थोरैलाई रहर होला धेरै नेपालीलाई कहर छ । राम्रो जनशक्तिलाई पनि नेपालमै बसेर काम गर्ने वातावरण नभएकोले विदेश धाउनु परेको छ । 

आज नेपालीहरू संसारका प्रायः सबै मुलुकमा बसोबास गरेका छन् । आफ्नो घरपरिवार, आफन्त,  आफ्नो  देशलाई चटक्क छोडी नेपाल छोड्न कसको मन खुशी हुन्छ र । मुटुमाथि  ढुङ्गा राखी हाँस्नु पर्या छ भन्ने गीतमा रचनाकारले कुन प्रसङ्गमा भनेका थिए त्यस्तै आफ्नो जन्मभूमि छोड्दा हरेक नेपालीले मुटु गाँठो पारी आँशु  लुकाई खिस्स दाँत देखाई नेपाल आमालाई मनमा राख्दै  बिदा हुनुपर्छ । विदेशिन लागेको त्यो नेपालीको अनुहार, आँखामा पीडा र वेदना भरिएको हुन्छ । तर पनि जीवन त हो नि रोएर पुग्दैन वा चल्दैन। विदेशी भूमिमा अर्को एउटा सङ्घर्षको कथा सुरु गर्नुपर्छ । नेपालीले गर्छ।

अधिकांश रोजगारको सिलसिलामा नेपालीहरू बाहिरिएका छन् । रोजगार मात्र नभएर अध्ययन, व्यापार र व्यवसायको लागि नेपाली विदेश बसाइँसराइ गरेको पाइएको देखिन्छ । नेपालीहरू पनि विभिन्न कारणले अमेरिका बसोबास गरेका छन् । पछिल्लो तथ्यांकअनुसार करिब पाँच लाख नेपालीहरू अमेरिका बसोबास गरेको पाइएको छ । केही नेपालीहरू अमेरिकी नागरिक नै बनेर स्थायी बसोबास गरेको पाइन्छ भने केही आप्रवासी, अस्थायी, कामदार, विद्यार्थी, पर्यटन आदि भिसामा बसोबास गरेका छन् । मान्छे अमेरिका भएपनि उसको मन नेपालमै हुन्छ।
भनिएको पनि छ–
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।

अमेरिकामा नेपालीको बसोबास कहिलेदेखि भएको हो भनेर  इतिहास नै खोतल्ने हो भने अमेरिका आउने पहिलो नेपाली जनरल कृष्णबहादुर राणा हुन् भनिएको छ। उनी राणाकालीन राजनीतिज्ञ,आर्मी चिफ र कोतपर्वका एक नाइके पनि हुन् भनिन्छ । उनी सन् १९३९ तिर अमेरिका आएका थिए । अमेरिका आएर ग्रिनकार्ड पाउने पहिलो रमेश मल्ल हुन् । उनी सन् १९६२ मा अमेरिका आएका थिए । कानूनीरुपमा नै नेपालीहरू अमेरिका आउन थालेको करिब ६० वर्षको इतिहासमा अमेरिकाका पचासै राज्यमा नेपालीहरूले बसोबास गरेका छन् । अमेरिकाको धेरै नेपाली बस्ने राज्यमा टेक्सस, क्यालिफोर्निया, सिकागो, भर्जिनिया, न्यूयोर्क, मेरिल्याण्ड, पेन्सलभेनिया आदि रहेका छन् ।

एसियाको एउटा सानो र विकासोन्मुख  मुलुक नेपालका नेपालीहरूले विश्वको शक्तिशाली मुलुक अमेरिकामा आफ्नो नेपाली जातीयताको पहिचानको पगरी बलियो बनाउँदै गएको देखिन्छ । अमेरिकामा कतिपय सरकारी वा गैरसरकारी कार्यालयमा  नेपाली भाषीलाई काममा  सहजताका लागि दोभाषेको सुविधा प्रदान गरिनु, हिन्दू परम्परा अनुसारका पर्वमा  कर्मचारीलाई बिदा दिनु , धर्म संस्कृतिको लागि प्रोत्साहन गरिनु, थुप्रै  नेपाली संघ सस्थाहरू दर्ता गराई सामाजिक कार्यको लागि आर्थिक सहायता प्रदान गरिनु आदि प्रमुख देखिन्छन् । 

अमेरिकाका प्रायः राज्यमा नेपाली समुदायहरू संगठित भई आआफ्ना चाडपर्वहरू मनाउँछ्न् । हिन्दूहरू जनैपूर्णिमा, दशैं, तीज, तिहार भैलो, होली जस्ता मुख्य पर्वहरू धुमधामसँग  मनाउँछ्न् । नेपालीको आफ्नो  गौरव वा उचाइको दृष्टिकोणले हेर्दा अमेरिकाको वासिङ्टन राज्यमा उच्च माध्यमिक विद्यालयमा नेपाली विषयलाई सूचीकृत गरिएको छ। जहाँ विद्यार्थीले नेपाली विषय पनि पढ्न सक्नेगरी  पाठ्यक्रम बनाइएको छ। अमेरिकामा नेपालीहरूको धेरै ठाउँमा आफ्नो उपस्थित र सफलता प्राप्त सफल भएका छन् । प्राध्यापन , व्यवस्थापन राजनीति, व्यवसाय, पत्रकारिता, खेलकुद, संगीत, विज्ञान  आदि क्षेत्रमा  नेपालीहरूले  धेरै उत्कृष्टता प्राप्त गरेका छन् ।

सन् १९४७ मा नेपालले अमेरिकासँग कुटनैतिक सम्बन्ध स्थापित गरेको थियो भने सन् १९५९ मा अमेरिकाले काठमाडौंमा दुतावास खोलेको थियो । दूतावास खोलेपछि सीधा सम्पर्क हुन थाल्यो र नेपालीलाई धेरै सुविधा हुन थाल्यो ।आज अमेरिकाको मूल धारको राजनीतिमा नेपालीको उपस्थिति देखिन्छ । जन्मभूमि  स्याङ्जा भएका ह्यारी भण्डारी मेरिल्याण्ड राज्यको विधान सभामा संसद छन् ।

त्यस्तै विभिन्न राज्यका नगर परिषदमा विभिन्न पदमा नेपालीहरू निर्वाचित भई  काम गरेका छन् ।अधिकार र समानताको लागि स्थापित एडवान संस्थाकी सस्थापक  डा।बिष्णुमाया परियार पनि नेपाली मूलकी अन्तर्राष्ट्रिय स्तरमा नाम कमाउन सफल अधिकारवादी हुन्।यस्ता थुप्रै उदाहरण अरू पनि छन् । अमेरिकामा मात्र नभएर अन्तर्राष्ट्रिय छवि बनाउने धेरै नेपालीहरू अमेरिका बस्छन् ।नेपालीहरू अमेरिका बस्दा आफ्नो मौलिकतालाई जोगाएर आफ्नो अस्तित्व सहित बसेको देखिन्छ ।

अमेरिकाका धेरै राज्यका विभिन्न शहरमा नेपालीहरूले थुप्रै नेपाली सामुदायिक सामाजिक सस्थाहरू स्थापना गरेर नेपालीहरूलाई परि आउँदा विभिन्न  सेवा र सहयोग गरेका छन् ।गैर आवासीय नेपाली संघ अमेरिका शाखा मातहतका राज्यस्तरीय संस्थाबाट पनि राम्रो योगदान पाइएको छ।

यसरी नेपालीले अमेरिका बसेर पनि आफ्नो सभ्यता,संस्कृति र पहिचानलाई  जगेर्ना गरेको पाइन्छ । यति ठूलो मुलुकमा सानो मुलुक नेपालबाट आएर हरेक क्षेत्रमा पहिचान सहित उपस्थिति देखाउनु गर्वको कुरा हो । देश छोडेर अमेरिका आउनुमा गर्व छैन तापनि नेपाली भएर आफ्नो शानसहित  अमेरिकामा बसिएको छ ।  

कर्मभूमि जहाँ भए पनि आफूले जानेको ज्ञान र सिपलाई नेपालमै उपयोगमा ल्याउने वातावरण बनाउनु पर्छ । देश छोडेर गर्व होइन स्वदेशमा नै बसेर गर्व हुन लायक वातावरण बनाउने प्रयासमा हामी सबै आआफ्नो क्षेत्रबाट  लाग्नुपर्छ । अब नेपालबाट बाहिर होइन बाहिरको मान्छे नेपाल भित्र्याउने अभियानमा सबै एकजुट हुनुपर्छ अनि देशको मुहार बदल्न सकिन्छ ।नेपालीमन र अमेरिकीपन होइन नेपालीमन र  नेपालीपन नै हुने सपनामा सबै लागौं । (लेखक पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्छन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ