arrow

खप्तड छान्नाका बढी पीडितको चित्कार - 'न रह्यो गाँस न रह्यो बास'

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
bajhang-khaptad1.JPG
खेती योग्य भूमि सहित गाउँमा नै बाढी पसे पछि बनेको बगर । तस्बिर शैलेन्द्र रोकाया

बझाङ । बाढीले बगर बनाएको छेउमा बचेको सानो टुक्रा खेतमा हलो जोती रहेका खप्तड छान्ना-१का अम्मर विकले भने, “बाढीले सर्वस्व लुट्यो , आफ्नै कमाई एक खेत थियो त्यो पनि हेर्दा हेर्दै बगरमा परिणत भयो । अब के गरि खाने हो , न त गाउँमा कुनै रोजगारीको व्यवस्था छ न त खानलाई अन्न छ ”।

 उनले भने, यो खेत पनि अरूको (मात हालेको)केही समयका पैसा दिएर किनेको खेत हो, यो पनि बगायो ।  धान भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका यहाँका किसानका सयौँ हेक्टर उर्वर भूमि एका एक बगर बने पछि विक जस्तै खप्तड छान्नाका झन्डै एक सय भन्दा बढी परिवारको बाढीले उठिबास लगाएको छ । 

खाती गाउँको अगाडी रमाइलो जिउलो, पारी पट्टी गाउँलाई उज्यालो बनाउने जलविद्युत आयोजना र गाउँसँगै जोडिएको निमावि स्कुल र गाउँ नजिकै स्वास्थ्य इकाई अनि मिलेको भूभाग  थियो । खाती गाउँका स्थानीय त्यहाँ आएको दशौँ पुस्ता बित्दा सम्म समेत त्यस्तो कुनै पनि विपत्ति बेहोर्नु परेको थिएन । खाती गाउँवासीको दैनिकी मज्जाले चली रहेको थियो । खप्तड पर्यटकीय क्षेत्र प्रवेश गर्ने गाउँपालिकाको पहिलो गाउँ पनि भएकाले गाउँपालिकाले समेत एग्रो पर्यटकीय क्षेत्रका रूपमा खाती गाउँ लगायत खप्तड जाने छेउछाउका बस्तीलाई विकास गर्ने लक्ष लिएको थियो । तर एका एक कात्तिक २ गते खातीगाउँबासीका लागी अभिसाप साबित भयो ।

नपत्याउने खोलाले यसरी बगाएर लिन्छ भन्ने खाती गाउँवासीलाई थाहा पनि थिएन । दुई दिन देखि एकनासले झरी परि रहेको थियो । जुडारी गाडमा सामान्य भन्दा केही मात्रामा पानीको बहाव बढ्दै थियो । गाउँ भन्दा झन्डै आधा किलो मिटर पर रहेको जडारीगाड गाउँमै पसेर सखाप गर्छ होला भनेर कसैले परिकल्पना समेत गरेका थिएनन् । खेती योग्य जमिन कटान गर्दै एकै पटक बाढी गाउँमा पसे पछि खाती गाउँवासीलाई सुरक्षित ठाउँमा जान भागाभाग भयो । 

खप्तड छान्ना गाउँपालिका -१ का रिने खातीले भने, “मेरो घर त गाड भएको ठाउँबाट झन्डै एक किलो मिटर वरै थियो र अग्लो ठाउँमा पनि  । राती खाना खाएर सुतेका थियौ । बिहान ४ बजे तिर जारी गाडमा पानी सुसाउन छोडे पछि हेर्न आए । गाडमा पानी थिएन । अब गाड कतै थुनियो होला भन्ने अनुमान गर्न नपाउँदै माथि पट्टीबाट फेरि उर्लेर बाढी आउँदा परिवारका सबै नाङ्गै भोकै भाग्यौ ।  हेर्दा हेर्दै दुई तले पिल्लर बाला पक्की घर पनि आँखा अगाडी १५ मिनेट भित्रै बगाएर बगर बनायो ”। 

खाती परिवारले आफ्नो घरबाट भागेर जाँदा आफूले लगाएको लुगा बाहेक केही पनि उद्धार गर्न पाएनन् । उनले भने, “मेरो त यो बाढीले सबै लुट्यो , जीवन भरी कमाएको धन सम्पत्ति सुन चाँदी , अन्न लुगा कपडा लगायत कमाई खाने सबै खेतहरू बगाई सुकुम्वासी बनायो ”। 

स्थानीय आफन्तको गोठानमा आश्रय लिएर बसी रहेका खाती परिवारको पिडा बेग्लै छ । खाती परिवारसँग अहिले बिहान बेलुकीको जोहो गर्न समेत धौ धौ परेको छ । गाउँमा न ज्याला मजदुरी गर्ने उपाय छैन भने न कुनै पनि निकायबाट सहयोग पाएका छन् । उनले गह भरी आँसु टिलपिल गर्दै भने, सबै आसा मरी सक्यो , अब जिउँदो लास बाहेक केही पनि छैन । 

सहयोग गरौला भनेर मन्त्री,मुख्यमन्त्री र सभामुख लगायतका नेताहरू त आए तर अहिले सम्म कसैबाट भरपर्दो सहयोग नपाएको गुनासो सुनाए ।  खाती परिवारको सपना एका एक बाढीले बगाएर लिए पछि उन सँग न गाँस छ , न त जीवन जिउनका लागी केही गर्ने साहस छ । न त उनको परिबार सँगै कसैले केही गरि देला भन्ने आस छ । 
 
यो त प्रतिनिधि घटना मात्र हो खप्तड छान्ना गाउँपालिकाका झन्डै ७६ परिबार घरबार विहीन भएका छन् भने झन्डै दुई सय परिवारको बिचल्ली भएको छ । खाती परिबार जस्तै यहाँका अधिकांश बाढी पहिरो पीडितको समस्या एउटै हो ।  जिल्ला कै अन्न उत्पादनका हिसाबले सबै भन्दा राम्रो ठाउँका रूपमा रहेको छान्ना क्षेत्रको सिञ्चित भू भागको झन्डै ३० प्रतिशत खेतीयोग्य भूमि बगर बनेको छ । 

खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले भने , झन्डै अब बर्सेनि चार हजार क्विन्टल अन्न बाहिरबाट भित्र्याउनु पर्ने अवस्था आएको छ । यसले छान्ना क्षेत्रको सामाजिक जनजीवनमा समेत धेरै ठुलो असर गरेको छ । उनले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरि बगाएका सरकारी तथा गैरसरकारी संरचनाहरूको निर्माण , राहत तथा बस्ती स्थानान्तरण लगायतका एकीकृत प्याकेज सहितको कार्यका लागी सरकार सँग माग गरेको बताए ।

यस गाउँपालिकामा कात्तिक २ र ३ को बाढी पहिरोमा परेर दुई जोडी दम्पती सहित ६ जनाले ज्यान गुमाएका छन् भने ३ महिलासहित ९ घाइते छन्। ७६ घर क्षतिग्रस्त भएका छन् । गाउँपालिकाका अनुसार २३ वटा पसल, ५ वटा कृषि फर्म, सयौँको सङ्ख्यामा पाल्तु पशुपक्षी र १० वटा पशु बस्तु सहित घर  गोठ बगाएका छन्। 

१० वटाभन्दा बढी गाउँका १ सय ५३ भन्दा बढी घर जोखिममा परेका कारण ७ सयभन्दा बढी मानिसहरू विस्थापनमा परेका छन् । १ हजार ७ सय रोपनीभन्दा बढी जग्गा बगाएको खप्तड छान्ना गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ