arrow

अमेरिकामा नेपाली डायस्पोरिक रचनाको इतिहास र विकास

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ माघ ८ शनिबार
rajendra-panthi-article-17-232.jpg

साहित्य समाजको ऐना हो । समाजका सुख, दुस्ख,आशा निराशा, जीवन, भोगाइ साहित्यमा प्रतिबिम्बित हुन्छ । समाजमा जे थियो, जे छ र जे हुनुपर्छ भनिन्छ त्यो पनि साहित्य हो । आज नेपाली वा नेपाली समाज विश्वको जुनसुकै ठाँउमा छ नेपाली साहित्य त्यहाँ पनि रहेको छ। परदेशी नेपालीले परदेश बसेर नेपाली साहित्यमा कलम चलाएका छन् । आजको २१ औं शताब्दीमा नेपाली नेपालमा मात्र नभएर विश्वभर फैलिएर बसेका छन्  । 

नेपाल बाहिर हुँदा पनि नेपालीले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाइ ठूलो योगदान दिएका छन् । भौतिक रुपमा देश बाहिर भए पनि नेपालीहरूको मन नेपालमै भएको हुन्छ भन्ने कुरा उनीहरूका सामाजिक र साहित्यिक गतिविधिमा झल्केको हुन्छ । नेपाली साहित्यको रचनाको लागि नेपालमै बस्नुपर्ने अवस्था छैन । संसारको जुनसुकै कुनामा रहे पनि नेपाली साहित्यमा कलम चलाउन सकिन्छ। नेपालमै बसेर मात्र नेपाली साहित्य रचना गर्न सकिन्छ भन्ने होइन । नेपाली साहित्यमा जो कोहीले कलम चलाउँदा पनि त्यो नेपाली साहित्य बन्छ । 

नेपाली बाहेक अरुले पनि नेपाली साहित्यमा कलम चलाएका छन् । भारतमा त नेपाली साहित्यको लामो इतिहास नै छ। संसारका अन्य मुलुकमा पनि नेपाली साहित्यको इतिहास लामो बन्दै छ । नेपाली बसोबास गर्ने अमेरिका, क्यानडा, जापान, रुस,नर्वे, बेलायत आदि देशमा रहेका नेपालीले साहित्यका विभिन्न विधामा कलम चलाइ नेपाली साहित्याकाशलाई फराकिलो र उर्वर बनाएका छन् ।

आज संसारका प्रायः सबै मुलुकमा नेपालीहरूको बसोबास रहेको छ । यही तरिकाले उत्तर अमेरिका महादेशको संयुक्त राज्य अमेरिकामा पनि करिब पाँच लाख नेपालीहरू वैधानिक र अवैधानिक रुपमा बसोबास  गरेका छन् । सन् १९९० देखि अमेरिकामा नेपालीहरूको बसोबास  अत्यधिक बढ्दै गएको पाइन्छ । नेपालमा २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनर्बहाली भएपछि राजनैतिक अस्थिरता र गाँस बास कपासको जगेडा र गरिवीका कारण नेपालीहरू अमेरिका आएको पाइन्छ । 

अधिकांश नेपालीहरू रोजगारीको लागि नै अमेरिका छिरेको देखिन्छ भने केही भने अध्ययन, व्यवसाय, व्यापार र पर्यटनको लागि अमेरिका आएको पाइएको छ । सपनाको मुलुक भनेर कहलिएको अमेरिका अवसरको मुलुकमा प्रसिद्ध छ । एसियाको सानो र विकासोन्मुख देश नेपालबाट अमेरिकामा आएका नेपालीहरूले आफ्नो भाषा, धर्म, साहित्य, कला, गीत, खेलकुद, संस्कृति र परम्पराको जगेर्ना गरेका छन् । अमेरिकाका हरेक राज्य र केही ठूला शहरमा संस्थागत रुपमै नेपालीहरू साहित्यप्रति कटिबद्ध र सक्रिय छन् ।

आज नेपाली साहित्य नेपालमा मात्रै नभएर विश्वव्यापी हुँदै गएको परिप्रेक्ष्यमा अमेरिकामा पनि मौलाउने प्रयास गरिरहेको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । केही नेपाली साहित्यकारहरू छोटो समयका लागि अमेरिका घुम्न आएका बेला कविता संग्रह र कथा, उपन्यास र स्मरणहरू लेखेका छन् । अमेरिकामा स्थायी अस्थायी रुपमा बसोबास गर्ने नेपालीले विभिन्न विषयमा कलम चलाएको देखिन्छ । राष्ट्रिय अन्तराष्ट्रिय, समसामयिक, सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक स्मरणात्मक आदि विषयमा कथा, कविता, उपन्यास, नाटक, निबन्ध आदि विधाका कृतिहरू लेखिएका छन् ।

अमेरिकामा नेपाली साहित्यको इतिहासलाई नियाल्दा अमेरिकन डायस्पोरिक नेपाली साहित्यको रुपमा पनि परिचित भएको छ । प्रवासी नेपाली साहित्यलाई डायस्पोरिक साहित्य पनि भन्ने गरिएको छ । नेपाल वा नेपाल बाहिर बसेर नेपाल बाहिरका नेपालीको र सोही देशको समाज, घटना, परिदृश्य, चरित्र, परिवेशलाई मुख्य विषय बनाइ लेखिएका कृतिहरूलाई नै डायस्पोरिक रचना भनिएको छ ।

यहाँ अमेरिका बसेर नेपाली साहित्यमा कलम चलाउने साहित्यक संघसंस्था र साहित्यकारहरूको चर्चा गर्ने प्रयास गरिएको छ। अमेरिका बसेर पूरै नेपाली विषय र प्रवासी विषयमा साहित्यक रचनाहरू प्रकाशित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली  साहित्य समाज (अनेसास) विश्वका विभिन्न मुलुकमा रहेर नेपाली कला साहित्यमा सशक्त रुपमा काम गरिरहेको प्रसिद्ध संस्था हो। नेपाली साहित्यको विश्वव्यापी संस्था अनेसासको अमेरिकामा विभिन्न राज्यहरूमा अनेसास च्याप्टर गठन गरी साहित्यक गतिविधि संचालन भएका छन्।अमेरिकाको अष्टिन, बोष्टन, क्यानडा, सिकागो, ड्यालस, फ्लोरीडा,जर्जिया,ह्युष्टन,कन्सास, लस एन्जलस, मेरिल्याण्ड, मिसौरी, न्युह्याम्सपायर,न्युयोर्क,नर्थ क्यारोलिना,ओहायो र डिसी महानगरमा अनेसास च्याप्टरले साहित्यिक गतिविधि गरिरहेका छन्।

अमेरिका रहेका अनेसासका उल्लिखित च्याप्टरहरूले विभिन्न साहित्यकारहरूको जन्मजयन्ति मनाउने,कविता वाचन गर्ने , साहित्यिक सम्मेलन र गोष्ठी आदि कामहरू गरिरहेका छन्।अनेसास अमेरिकामा मात्र साहित्यिक गतिविधि गर्ने संस्था नभएर विश्वव्यापी संस्था हो तर यसको जन्म अमेरिकामै भएको थियो । अनेसासको प्रथम अध्यक्ष होमनाथ सुवेदी हुन् । यसले अहिले विशाल आकार लिएको छ । यसको केन्द्रीय कार्यालय अमेरिकामा नै रहेको छ ।

अमेरिकामा नेपाली साहित्यको उन्नति र विकासको लागि थुप्रै नेपाली साहित्यिक र सामाजिक संघ संस्थाहरू सक्रिय छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालिज एसोसिएसन अफ साउथ इष्ट अमेरिका (नासा), नेसनल लाइफ ग्रुप, मिस नेपाल अमेरिका, नेपाल अमेरिका पत्रकार संघ (नेजा), नेपाली जनसम्पर्क समिति अमेरिका (एनपीआरसीए) आदि रहेका छन् । नेपाली साहित्यका डायस्परिक कृतिहरू स्मरण, कविता, निबन्ध, गजल, उपन्यास, कथा, नाटकहरू अमेरिका बसेर धेरै नेपालीले कृतिहरू प्रकाशित गरेका छन् । कतिपय सर्जक अमेरिका बसेर पनि डायस्परिक रचना नभएका थुप्रै कृतिहरू लेखिएका छन् ।

सन् १९६७ मा वासिङ्टन डीसी क्षेत्रमा स्थापित संस्था अमेरिका नेपाली सोसाइटी नै अमेरिकाको पहिलो नेपालीहरूको संस्था हो । त्यस्तै सन् १९८३ मा अमेरिका र क्यानडाका नेपालीहरू बीच सम्बन्धको सेतु स्थापना गर्न एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज संस्था स्थापना भएको थियो । सन्  १९९१ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सन् २००२ मा नेपाली कवि तथा लेखक प्रतिष्ठान, सन् २०१३ मा अमेरिकी नेपाली साहित्य प्रतिष्ठान, भर्जिनिया आदि थुप्रै रहेका छन् । यस्तै अमेरिकाबाट नेपालीहरू संलग्न रहेका सामाजिक तथा साहित्यिक संघ संस्थाबाट न्युजलेटर, सोभेनियर, स्मारिका र पत्रपत्रिकाहरू प्रकाशित भइरहेका छन् । आवाज, कुराकानी, बोष्टन, चौतारी, सागर, नमस्ते, प्रयास, नेपाल समाचार, प्रतिध्वनि, विश्व सन्देश, विश्व परिक्रमा, एभरेष्ट टाइम्स आदि साहित्यिक स्मारिका र पत्रपत्रिका प्रकाशित हुन्छन् ।

ताना शर्मा, मनु ब्राजाकी आदिले अमेरिका घुम्न आएको बेला आफूले देखे भोगेको अमेरिका बारेमा स्मरणात्मक निबन्ध प्रकाशित गरेका छन् । त्यस्तै परशु प्रधानको समुन्द्रमा अस्ताउने सूर्य, दुर्गालाल शर्माको अलिअलि टेक्सास (सन् २००९) कविता संग्रह पनि अमेरिका बसाइ पछि लेखिएका रचना हुन् । अमेरिकामै बसेर लेखिएको पहिलो पुस्तक होमनाथ सुवेदीको प्रवासी स्वर (सन् १९९७) कविता सङ्ग्रह हो। यसमा ४१ वटा कविताहरू रहेका छन् । यस्तै प्रसिद्ध साहित्यकारहरूमा गोविन्द गिरी प्रेरणा, कृष्ण धरावासी, लव गाउँले, निलम कार्की निहारिका, राजव आदि सयौं साहित्यकारले अमेरिकी भूमिलाई कर्म थलो बनाइ साहित्यिक कृतिहरू प्रकाशित गरेका छन् ।

होमनाथ सुवेदीदेखि अहिलेसम्म सयौं सर्जकले अमेरिकामा बसेर नेपाली साहित्यमा कलम चलाई नेपाली साहित्यलाई विश्वव्यापी बनाउने प्रयास गरेका छन् । आज नेपाली साहित्य नेपाल र भारतमा मात्र नभएर युरोप, अमेरिकालगायत संसारभरि व्यापक रुपमा फैलिएको छ । खासगरी अमेरिका बसेर नेपाली साहित्यमा कलम चलाउने सर्जक साहित्यकारहरूमा अमर गिरी, एकनारायण अधिकारी, डा. हरिहर भट्टराई, पुरुषोत्तम सुवेदी, वामा ढुङ्गाना, कल्पना सुवेदी, लव गाउँले, डा.अमर गिरी,अच्युत श्रेष्ठ, अनन्तगोपाल रिसाल, भारती गौतम, चन्द्रकान्त आचार्य, गोविन्द गिरी प्रेरणा, निलम कार्की निहारिका, सर्वज्ञ वाग्ले, गोवर्धन पूजा आदि रहेका छन् ।

अमेरिकामा बसेर नेपाली भाषामा मात्र होइन अंग्रेजी भाषामा थुप्रै साहित्यिक रचनाहरू प्रकाशित भएका छन् । उपन्यास, कथा, कविता, नाटक, समालोचना आदि विधामा कलम चलाउने सर्जकहरूमा अनमोल सिटौला, ध्रुव थापा, हिमाङ्शु कुँवर, कृष्ण धरावासी, नगेन्द्र न्यौपाने, मणि बाङ्देल, निलम कार्की निहारिका, निमेष कार्की, प्रिया सुवेदी, सरोजकृष्ण जोशी, सुलेखा भण्डारी, शिवप्रसाद लामिछाने, सुकृति शर्मा आदि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ