arrow

राजनीतिलाई शुद्ध बनाऔं, राज्यका सबै अङ्गको दुर्गन्ध पखालौं 

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ माघ २२ शनिबार
rajendra-panthi-article-20.jpg

नीतिहरूमा प्रमुख नीति राजनीति हो । राज्य सञ्चालनमा राजनीतिको महत्त्वपूर्ण भूमिका हुन्छ। राजनीति राज्यका सबै नीतिसित अन्तर सम्बन्धित रहेको हुन्छ। देशको समुन्नत विकास र प्रगतिको मुख्य भूमिका नै राजनीतिको हुन्छ। राजनीतिले राज्यका सबै नीतिलाई  नियन्त्रण र निर्देशन गर्दछ। तर नेपालको सन्दर्भमा भने राजनीति दुर्गन्धित हुनाले सबै नीतिलाई दुर्गन्धित बनाएको छ । 

आज नेपालमा जे जस्ता विकृतिहरू देखा परेका छन् त्यसको मूल कारण भनेको राजनीतिमा भित्रिएको दुर्गन्ध नै हो । नेपालका दलहरूले राजनीतिलाई पेसा बनाई लुटिखाने भाँडो बनाए अनि राजनीति अराजनीति बन्यो । यसले राष्ट्रका सम्पूर्ण अङ्गलाई दूषित बनायो । नीतिको सर्वोपरि मानिने राजनीति नै दुर्गन्धित भएपछि यसले शिक्षा, स्वास्थ्य, प्रशासन, अर्थ, कानून, सञ्चार, परराष्ट्र आदि सरकारका कुनै पनि अङ्ग स्वच्छ र सफा हुन सकेका छैनन् ।

देश अनियमितता, भ्रष्टाचार, कामचोर, ढिलासुस्ती आदिजस्ता फोहरी खेलले पूरै दुर्गन्धित भएको छ । राज्यको कुनै अङ्ग शुद्ध र चोखो छैन । अनि देश कसरी विकासको गतिमा अगाडि बढ्न सकोस् । 

राज्यलाई विकसित बनाउन सबैभन्दा पहिले राजनैतिक हस्तक्षेपलाई अन्त्य गर्नुपर्छ । आम जनताको चेतनाको पहिलो आँखा खोल्ने भनेको शिक्षा हो । नेपालको शिक्षा क्षेत्र यति दुर्गन्धित बनाइएको छ कि राजनीतिक आस्थाका आधारमा विश्वविद्यालयको सर्वोच्च निकायमा दलको मान्छे नियुक्त गरिन्छ । जोसँग देशको शिक्षा नीति कस्तो हुनुपर्छ र शिक्षा प्रणालीलाई कसरी चलाउनु पर्छ भन्ने सामान्य ज्ञान पनि छैन उही व्यक्ति प्रमुख हुँदा राज्यले के पाउन सक्छ र ? 

देशका शैक्षिक संस्थामा राजनीतिक आस्थाका आधारमा आफ्ना मान्छेलाई भर्ना गरिएको छ । चाकरी, चाप्लुसी, नातावाद र कृपावादको हालीमुहाली छ अनि कसरी प्रगति होओस् । नेपालका प्रायः सबै सरकारी शैक्षिक निकायमा राजनीतिको दुर्गन्ध भित्रिएको छ। कुनै पनि शैक्षिक संरचनामा नयाँ नीति निर्माणको बहस छैन । शिक्षालाई कसरी सर्वसुलभ बनाउने भन्नेमा चिन्तन छैन । गुणस्तरीय शिक्षा दिलाउने बारेमा कुनै गोष्ठी र कार्याशाला हुँदैन अनि नेपालको शैक्षिक अवस्थामामा कसरी सुधार हुन सकोस् ।

नेपालको शैक्षिक अवस्थालाई उकास्नको लागि  शैक्षिक क्षेत्रमा रहेको राजनीतिबाट भित्रिएको शैक्षिक दुर्गन्धलाई मिल्काउनु पर्छ र क्षमताका आधारमा प्रतिस्पर्धात्मक तरिकाले नियुक्त गर्नुपर्छ । राजनीतिको रङ्गबाट शिक्षा क्षेत्रलाई अलग नराखेसम्म जति चर्का नारा दिए पनि उन्नति प्रगति हुन सक्दैन ।

जनताको आधारभूत आवश्यकताको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य क्षेत्र हो । राज्यको एउटा संवेदनशील अङ्ग स्वास्थ्य क्षेत्र हो । तर यसमा पनि दुर्गन्धित राजनीतिको प्रवेश भएको छ । यसले राज्यलाई स्वस्थ्य बनाउला भन्दै आफै अस्वस्थ भएर थला परेको छ । नेपालको स्वास्थ्य प्रणाली सर्वसाधारणको पहुँचबाट धेरै टाढा रहेको छ । राज्यको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको बोलवाला रहेको छ।

सरकारी अस्पतालहरू राजनीति दुर्गन्धले सिकिस्त बिरामी छन् । दलको आवद्धताका आधारमा स्वास्थ्यकर्मीको नियुक्त, सरुवा र बढुवा हुन्छ । त्यसकारण पनि स्वास्थ्य क्षेत्र दुषित बनेको छ। नेपालका दूरदराजमा स्वास्थ्यकर्मीहरू राजनीति ओतका आधारमा जाँदैनन् । सर्वसाधारण नेपाली एउटा सामान्य रोग लाग्दा पनि औषधि उपचार पाउन नसकेर अकालमै मृत्युवरण गर्ने अवस्था छ।

नेपालका स्वास्थ्य चौकीमा सिटामोलसमेत पाँइदैन । मन्त्रालयदेखि विभाग, शाखा, उपशाखा, अस्पताल, स्वास्थ्य चौकीसम्म दुर्गन्धित राजनीतिको बोलवाला रहेको छ । अस्पतालमा बिरामीको कसरी उपचार गर्ने भन्ने चिन्तन छैन । राजनीतिक टीका टिप्पणी मात्र हुन्छ । अनि कसरी सुध्रिन सक्छ। नेपालको स्वास्थ्य क्षेत्रलाई स्वस्थ्य बनाउन पनि दुर्गन्धित राजनीतिबाट अलग्गै बनाउनु पर्छ ।

राज्यको एउटा महत्त्वपूर्ण अङ्ग भनेको कर्मचारी प्रशासन हो । कर्मचारी प्रशासनलाई राष्ट्रको स्थायी सरकार भनिन्छ । कर्मचारी प्रशासन पनि दुर्गन्धित राजनीतिले झन् धेरै थला परेको छ । राज्यका सबै अङ्गलाई सन्तुलित र व्यवस्थित गराउने, नियन्त्रण गर्ने, निर्देशन दिने अङ्ग कर्मचारी प्रशासन हो । वास्तवमा राजनीतिलाई अङ्कुश लगाउने मुख्य दायित्व कर्मचारी हो ।

कर्मचारीले कानूनअनुसार यो काम गर्नुहुन्छ र यो काम गर्नु हुँदैन भनेर आफूले पनि गलत नगर्ने र अरुलाई पनि गलत गर्न नदिने हो भने भ्रष्टाचारको अन्त्य हुन्छ । कर्मचारी आफैं कसरी लुट्न सकिन्छ र कताबाट जोगिन सकिन्छ भनी राजनीतिक दलको छ्त्र छायाँमा पुग्छ र प्रशासनमा राजनीति भित्र्याउन सफल हुन्छ । 

दलका नेता तथा कार्यकर्ता सरकारी सम्पत्तिको दुरुपयोग गर्न कर्मचारीलाई दुर्गन्धित राजनीति भित्र छिराउँछन् र चोखो बन्ने प्रयत्न गर्छन् । नेपालका कर्मचारीमात्र देश र जनताप्रति प्रतिबद्ध भइ भ्रष्टाचार नगर्ने हो भने देश भ्रष्टाचारमुक्त बन्न सक्छ । कानूनी प्रक्रिया मिलाई नेपालमा नीतिगत भ्रष्टाचारलाई कर्मचारी प्रशासनले रोक्न सक्छ ।

दुर्गन्धित राजनीतिबाट कर्मचारी प्रशासन र सबै संवैधानिक निकायलाई अलग्गै राख्न सक्ने हो भने नेपालको आमूल परिवर्तन हुन सक्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता राज्यका महत्त्वपूर्ण निकायमा जतासुकै राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिन्छ । अनि त्यसबाट एउटा स्वच्छ, सफा, चुस्त र दुरुस्त सेवा प्राप्त गर्न सकिन्छ भन्नु कल्पना मात्रै हो । 

आज नेपाललाई भ्रष्टाचारको जटिल अवस्थामा पुर्याउने मुख्य कारक नै कर्मचारी प्रशासनमा दुर्गन्धित राजनीतिको प्रवेश र हालीमुहाली हुनु हो । कर्मचारीले कानूनलाई सही तरीकाले पालन र कार्यान्वयन गर्ने हो भने भ्रष्टाचार, नातावाद, कृपावाद, चाकरी र चाप्लुसी सबैको अन्त्य हुन्छ ।

नेपालको दुर्गन्धित राजनीतिले आज न्यायालय पनि चोखो हुन सकेको छैन । न्यायालयमा नै दलका नेता र कार्यकर्ता भागबण्डाका आधारमा न्यायाधीश बनाइन्छ । दलको नेताले कस्तो न्याय दिन सक्ला र ? न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गर्ने, मन्त्रीमा भाग खोज्ने, विवादास्पद फैसला सुनाउने, पेशी व्यवस्थापन मनपरी गर्ने, न्यायाधीश राजनीतिक मुद्दामा केन्द्रित हुने, पैसाको आधारमा मुद्दाको निर्णय गर्ने आदि जस्ता गलत क्रियाकलापले गर्दा न्यायपालिका पनि विश्वासयोग्य हुन सकेको छैन ।

न्यायालय नै भ्रष्टाचारको अखडा बनेको परिभाषित भएको देखिन्छ । शक्तिपृथकीकरण र सन्तुलनको सिद्धान्त हात्तीका देखाउने दाँत मात्र भएका छन् । कुनै अङ्ग वा क्षेत्र भ्रष्टाचारमुक्त छैन । भ्रष्टाचारी राजनीतिक ओतमा जोगिएको छ ।

राज्यका सबै अङ्गहरूमा कहिँ न कतैबाट दुर्गन्धित राजनीति छिरेको छ । सबै क्षेत्रहरू शुद्ध र सफा छैनन् । विगत लामो समयदेखि हरेक निकायमा दुर्गन्ध फैलिएको छ। देशलाई सही मार्गमा हिँडाउन र समृद्ध मुलुक बनाउन अबको पहिलो काम भनेको राजनीतिलाई शुद्ध बनाउनु पर्छ ।

राजनीतिलाई पेशा होइन पवित्र सेवाको रुपमा स्थापित गराउनु पर्छ । अनिमात्र नयाँ नेपालको सपना साकार हुनसक्छ । अहिलेसम्म भएको अराजनीतिक गतिविधिलाई अन्त्य गरेर स्वच्छ, मर्यादित र संस्कारिक राजनीति गरिनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ