arrow

गोकर्णेश्वरमा फेरि कांग्रेसले जित्छ – मेयर उम्मेदवार दीपक रिसाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
deepak-risal-gokarneshwor-congress.jpg

काठमाडौं । पछिल्लो स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा नेपाली  कांग्रेसले एकलौटी पकड जमायो । मेयर, उपमेयरसहित ९ वडामध्ये ६ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भए । त्यसैले यो क्षेत्रमा कांग्रेसको पकड रहेको बुझाइ सबैको छ ।  

यस पटकको चुनावमा नेपाली कांग्रेसले युवा नेता दीपक रिसाललाई मेयरमा उम्मेदवारी दिन लगाएको छ । अघिल्लो पटक यस नपामा मेयरमा चुनाव जितेका सन्तोष कार्कीले नै युवालाई अघि सारेका छन् ।  मेयरमा उम्मेदवारी दिएका रिसाल यसपटक पनि नेपाली कांग्रेस विजयी हुनेमा ढुक्क छन् । 

‘अघिल्लो पटक ९ वटा वडामध्ये ६ वटा वडा जितेका थियौं । यसपटक सबै वडा जित्ने छौ’उनले भने । नेपाली कांग्रेसले चुनाव जित्ने आधार के हो त ? उनले भने, ‘हामीले गरेको काम नै हामीले चुनाव जित्ने आधार हो । ३० वर्षदेखि नबनेको सुन्दरीजल जोरपाटी बाटो बनायौं । खानेपानीको व्यवस्था गर्यौं । जापानबाट मेशिन खरिद गरेर फोहर व्यवस्थापन गर्यौं । यो काम पहिलो पटक हामीले गरेका हौं । शिक्षा, स्वास्थ्य र सामुदायिक भवन निर्माणमा पनि हामीले धेरै काम गरेका छौ । प्राविधिक शिक्षामा पनि हामीले धेरै काम गरेका छौं ।’

गोकर्णेश्वरमा यसपटक ३३ हजार भोट छ । यी भोटमध्ये अधिकांश भोट नेपाली कांग्रेसको पक्षमा रहेको रिसालले बताए । उनले भने, ‘नेपाली कांग्रेसले गरेको कामदेखि यहाँका जनता खुशी छन् । हामीले धेरै नै काम गरेका छौं ।’

गोकर्णेश्वरमा नेपाली कांग्रेस र एमालेले एक्लाएक्लै चुनाव लडेका छन् । तर माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले तालमेल गरेका छन् । तर पनि कांग्रेसको प्रतिष्पर्धा एमालेसँग हुने रिसालको भनाइ छ । ‘यसपटक एमाले पहिलेको जस्तो छैन । कमजोर भएको छ । एमाले फुटेर एकीकृत समाजवादी गठन भएको छ’ उनले भने । 

रिसाल गोकर्णेश्वरमा घरदैलो अभियानमा व्यस्त छन् । अहिले उनी गोकर्णेश्वरका जनतासँग सम्पर्क, संवाद र भेटघाटमा सक्रिय छन् । त्यसले नै उनलाई जितको आधारतिर लगेको कांग्रेसी दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ