arrow

मतदान गर्न नसिकाउँदा धेरै मत बदर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
local-level-election-2079.jpg

काठमाडौँ । उम्मेदवारले मत मागे पनि मतदान गर्ने तरिका नसिकाउँदा बदरको मात्रा बढी भएको निर्वाचन आयोगको बुझाई छ । आयोगले मत बदर कम गर्न दल तथा उम्मेदवार नै थप सर्तक हुनुपर्नेमा जोड दिएको छ । 

नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत बदर हुन नदिन आयोगले नमूना मतदान गराइरहेको छ । आयोगले बुधवार र बिहीबार नमूना मतदान गराउने भएको छ । केही स्थानमा यसअघि नै आयोगले नमूना मतदान गराइरहेको छ ।
आयोगले मत बदर हुने अवस्थाका बारेमा पनि स्पष्ट पारेको छ । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, औँठाछाप वा आयोगबाट निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप मत सङ्केत गरिएको पाइए बदर हुनेछ ।

मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको, उम्मेदवार निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरेको अवस्थामा बदर भएको मानिन्छ ।

निर्वाचनमा सत्तारुढ र विपक्षी दुवैको गठबन्धन बनेको छ । त्यस कारण यस पटक बढी मत बदर हुने सम्भावना देखिएको छ । त्यसलाई समाधान गर्नका लागि राजनीतिक दलले पनि प्रयास गरिरहेका छन् । गठबन्धन आबद्ध राजनीतिक दलले स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको क्रममा नै मतदाता शिक्षासमेत दिइरहेका छन् ।

विसं २०७४ मा सम्पन्न सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा पाँच प्रतिशत बराबर मत बदर भएको थियो । हरेक मतदाताको घरघरै गएर मतदाता शिक्षा दिने व्यवस्था भए पनि समय अभावका कारण प्रभावकारी बन्न सकेको छैन । यद्यपि आयोगले मतदाता शिक्षाका लागि अनेक प्रयास गरिरहेको छ । 

कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरेको, निर्वाचित गर्नुपर्नेभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएको, मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको, आयोगले निर्धारण गरेको मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, मतपेटिकाभन्दा बाहिर राखिएको र जाली मतपत्र भएको अवस्थामा बदर हुन जान्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ