- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोत्र ऋषि परम्परासँग सम्बन्धित शब्द हो । शाब्दिक अर्थमा केलाउँदा ’गो’ अर्थात् इन्द्रिय र ’त्र’ अर्थात रक्षा गर्नुको सन्धिबाट गोत्र बनेको छ । इन्द्रियको रक्षा गर्नुलाई आफ्नो वंश परम्परालाई रक्षा गर्नुमा व्याख्या गरेको पाइन्छ । परापूर्वकालमा ब्राह्मणका लागि गोत्र महत्वपूर्ण थियोे किनकि ऋषि परम्परालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने काम ब्राह्मणहरूले गरेका थिए । तर विस्तारै कामको आधारमा वर्णव्यवस्था लागू भएपछि कुनै बेला ब्राह्मण रहेका पनि शुद्र बन्न थाले र सबै वर्णमा गोत्र फैलिएको पाइन्छ ।
वास्तवमा वर्ण व्यवस्था जातका आधारमा नभएर पेशाका वा कामका आधारमा विभाजित गरिएको थियोे । ब्राह्मणले पढ्ने, पढाउने र अनुसन्धान गर्ने, क्षत्रीयले जनता र मुलुकको रक्षा गने, वैश्यले उत्पादन र व्यापार गरेर सबैलाई पाल्ने र शुद्रले परिश्रम तथा सेवा गर्ने भनी कामका आधार मानिसको जात विभाजन गरेको देखिन्छ । कुनै पनि धार्मिक शास्त्र वा ग्रन्थमा जातपातको कुरो छैन भनिएको छ ।
मानव सभ्यताको विकास क्रममा पहिले गोत्र परम्परा आमाको सन्तानको आधारमा थियो भनिन्छ । पितृसत्ताको बोलवाला चलेर जाति प्रथाको शुुरुआत भएपछि जातिप्रथा बाबुको आधारमा तय भएको थियो । गोत्रमा कुन कुन ऋषिका सन्तान कुन कुन हुन् भन्ने कुरा नै हो । नेपाली समाजमा एउटै गोत्रमा बिहेवारी गर्नु हुँदैन भन्ने मान्यता रहेकाले गोत्रको ज्यादा खोज तलास गर्ने पनि गरिन्छ । पारम्परिक मान्यता मात्र नभई आधुनिक विज्ञानले पनि एउटै गोत्रमा विवाह गर्नु हुँदैन भनेको छ । यदि श्रीमान र श्रीमती एउटै गोत्रका छन् भने तिनबाट जन्मने बच्चामा आनुवंशिक दोष, मानसिक रोगी, शारीरिक समस्या, अङ्गको विकास राम्रोसँग हुन नसक्नु जस्ता समस्या हुनसक्छ भनिएको छ ।
चलनचल्तीमा आठ पुस्ता काटेपछि विवाह गर्न हुन्छ भनेर विवाह गरेको पनि पाइन्छ । यसरी पुस्ताको विस्तार हुँदै जाँदा आफ्नै वंशलाई चिन्न नसकिने हुनाले विवाहका सवालमा एउटै गोत्र नपरोस् भनेर कुन गोत्र हो भनेर सोधखोज गर्ने प्रचलन ज्यादा रहेको छ ।
वैदिक वाङ्मयसँग सम्बद्ध स्मृति, पुराण धर्मशास्त्रीय ग्रन्थहरूमा ऋषिहरू सात भएको बताइएको छ । भारद्वाज, विश्वामित्र, जमदग्नि, गौतम, अत्रि, वशिष्ठ, काश्यप हुन् भनिएको छ भने निर्णयसिन्धुमा सात ऋषिमा एक थपेर आठ बनाइएको छ । ती आठौँ ऋषिमा अगस्ति भनिएको छ । अगस्तिको सन्तानलाई ’गौत्र’ भनिएको छ । यिनै आठ ऋषिहरू नै गोत्रका प्रवर्तक हुन् ।
जस्तैः भारद्वाज गोत्रका सन्तानलाई भारद्वाज गोत्रीय भनिएको हो । एउटा गोत्रका थुप्रै थर रहेका छन् । सन्तानको वृद्धि र विस्तार हुँदै जाँदा बसाइँसराइ गरेर अर्को ठाउँ सर्दा मानिसहरूले कामका आधारमा, पेशाका आधारमा थर बनाउने र परिवर्तन गर्ने गरेको पाइन्छ । जनसंख्या बढ्दै जाँदा थर पनि बढ्दै गएको देखिन्छ । गोत्र बढ्दैन तर थर बढ्दै जान सक्छ ।
पौराणिक र धार्मिक ग्रन्थहरूमा भरद्वाज ऋषिका को थिए भन्ने बारेमा व्यापक चर्चा गरिएको छ । प्राध्यापक डा.टीकाराम पन्थीले गुल्मीको तम्घासबाट प्रकाशित हुने हाम्रो पुरुषार्थ भन्ने पत्रिकामा भरद्वाज ऋषिको बारेमा लामो लेख प्रकाशित गरेका छन् । भरद्वाज ऋषिका सन्तान भारद्वाजलाई गोत्र प्रवर्तक मानिन्छ । भरद्वाज ऋषिको समय ईसापूर्व १५०० मानिन्छ ।
भरद्वाज ऋषिले ऋग्वेदका ७५ सूक्त र ७६५ ऋचाहरूको रचना गरेका थिए । उनी भारतको काशी राज्यका राजा दिवोदासका पुरोहित थिए भनिएको छ । भरद्वाज ऋषिले इन्द्रबाट व्याकरण शास्त्रको अध्ययन गरेर अनेकौं ऋषिहरूलाई पढाएका थिए पनि भनिएको छ । वाल्मीकि रामायणमा भरद्वाज आश्रम प्रयागमा थियोे भनिएको छ । प्रयागलाई प्रतिष्ठानपुर पनि भनिन्छ । जे होस् गङ्गाक्षेत्रको तटमा भरद्वाज ऋषिको आश्रम रहेको विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।
भरद्वाज ऋषिका सन्तान भारतको मध्य प्रदेशको उज्जैन नगरीमा रहेका थिए भनिएको पनि छ । उज्जैन नगरी सम्राट अशोकको सबैभन्दा पहिलो राज्य पनि हो । मारवाड देशको उज्जैन नगरको प्रसिद्ध तीर्थस्थल क्षिप्रा–शिप्रा–सिप्रा नदीको तटमा वाराह देवता कालिका देवी नराकोटको आचार्यको रुपमा भारद्वाज ऋषिका सन्तानको रुपमा प्रजापति ऋषि स्थापित हुनु भएको हो भन्ने मान्यता पनि छ । भारद्वाज ऋषिका सन्तान प्रजापति र प्रजापति ऋषिका सन्तान पद्मनाम हुन् भनिएको छ ।
प्रा.डा.लक्ष्मीकान्त पन्थीका अनुसार यिनका सन्तान कालान्तरमा भारतको उत्तरी खण्डमा पर्ने गढवाल क्षेत्रको गङ्गोल भन्ने ठाउँबाट नेपालको सुदूरपश्चिमको बझाङको सुबेदावाडामा आई सुवेदी थर बनाएको पाइन्छ । यस्तै वंश विस्तार हुँदै जाँदा यिनै ऋषिका सन्तानले ठाउँ, पेशा, कार्य, सीप आदिका आधारमा विभिन्न थर बनाएको पाइन्छ ।
तिनै सुवेदीहरूको केही पुस्तापछि देवकोटा, भण्डारी, निरौला (डोटीको निरौलीमा) र चौलागाईं (जुम्लाको चौडिल्लामा) जस्ता थर कायम गरी नेपालको पश्चिमबाट पूर्वतिर विस्तार भएको देखिन्छ । भारद्वाज ऋषिका सन्तान वा भारद्वाज गोत्रमा चौलागाई, सुवेदी, थपलिया, वैदवार, क्षेत्री, पन्थी, सिलवाल, बिष्ट (सिजापति), वाग्ले, लोहनी, पन्त, अधिकारी (थामी), पोखरेल (दूध पोखरेल), शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, खड्का (लकाई), राउत, कर्णेल, शेर्पाली, बस्नेत, पाँडे (कुलेटा), जोशी (लटौला) गरी १२७ भन्दा धेरै थर रहेका छन् ।
भारद्वाज गोत्रमा पर्ने विभिन्न थरमध्ये नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने एउटा थर पन्थी हो । खासगरी यी पन्थीहरू नेपालको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, प्युठान, स्याङ्जा, तनहुँ, गोर्खा, चितवन जिल्लामा बसोबास गर्दछन् । यी बाहेक नेपालका अन्य जिल्ला र विदेशमा पनि स्थायी अस्थायी रुपमा पन्थीको बसोबास रहेको छ ।
पन्थी थर कसरी राखियो भन्ने सन्दर्भमा विभिन्न किसिममा जनश्रुतिहरू पाइन्छन् । पथ, पन्थ, पन्था हुँदै पन्थी भएको हो भन्ने धेरैको मान्यता छ । संस्कृतमा पथ भनेको बाटो वा मार्ग भन्ने बुझिन्छ । कुनै एउटा मार्गको प्राप्तिको लागि ध्यान गरिरहने वा हिँडिरहने वा घुमफिर गरिरहने हुनाले पन्थी भनिएको भन्ने पनि छ । भरद्वाज ऋषिका भारद्वाज मानिने सन्ततिहरू क्षिप्रा नदीको किनारबाट बद्रीकाश्रम जाँदा बाटोमा पर्ने गंगौली पन्थवाडा भन्ने ठाउँतर्फ गएकोले त्यहीँबाट पन्थी थर राखेको भन्ने भनाइ पनि छ ।
क्षेत्रीयताका आधारमा उत्तरतिर लागेकालाई उत्तरपन्थी र दक्षिणतिर लागेकालाई दक्षिणपन्थी भनेजस्तै पोम पाध्याका सन्तानलाई पोमपन्थी, पोमथी, पनथी हुँदै पन्थी पनि भनिएको हुनसक्छ । त्यस्तै सुवेदी थरकी एक महिला माइतीबाट घर फर्कदा बाटोमा सुत्केरी भइछन् । बाटोलाई संस्कृतमा पथ भनिन्छ । यसबाट पन्था शब्दको व्युत्पत्ति हुन्छ । यही पन्थामा जन्मेको हुनाले त्यस बालकलाई पन्थी भनियो । पछि उसको कुल परिवारलाई पन्थी भनिएको हो भन्ने जनश्रुति पनि छ ।
पन्थी थर नै राख्ने पहिलो व्यक्ति को हुन भन्ने सम्बन्धमा प्राप्त सामग्रीमा केही मतभेद पाइन्छ । गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजबाट प्रकाशित वंशावलीमा चन्द्रकान्त पन्थीका अनुसार पन्थीको वंश विस्तार निम्नानुसार देखिन्छ –ः
(१) प्रजापति ऋषि (२) पद्मनाभ ऋषि (३) उध्दवदेव + सोहदेव ( सुवेदी थर बनाइएको) (४) भानदेव (५) दत्तदेव (६) रामदेव (७) जयदेव (८)महादेव + ..(दूध पोखरेल) (९) सर्वानन्द (१०) अच्युतानन्द (११) सहजानन्द (१२) रामानन्द (१३) सदानन्द पन्थी । सदानन्दका भाइहरूले देवकोटा, भण्डारी, निरौला, चौलागाईं आदि थर बनाएको र सदानन्दले गङौली–गौलीको पन्थवाडामा आएर पन्थी थर राखेका थिए । उनी नै पन्थी थर राख्ने पहिलोपुस्ता मानिएको पनि छ । त्यस्तै (१४) रुक्माङ्गत पन्थी (१५) श्रीनाथ पन्थी (१६) धवल पन्थी( १७) गौतम पाध्याय पन्थी ।
प्रा.डा. लक्ष्मीकान्त पन्थीले सुवेदीबाट पन्थी बनेको भनेका छन् भने चन्द्रकान्त पन्थीले सुवेदी र पन्थीको अलग्गै वंश देखाएका छन् । गुल्मीको वाग्लामा आएर बसेका गौतम पाध्या हुन् भन्नेमा दुवैको एउटै मत पाइन्छ । यसरी गङौली– गौलीबाट बसाइँसराइ गर्दै हिड्ने क्रममा सदानन्दका ३ पुस्ता पछिका १७ औं पुस्ताका गौतम पाध्याय पन्थी आफ्नो छोरा उद्वव पाध्याय पन्थीसहित १३ औँ शताब्दीको पूर्वार्धमा गुल्मीको वाग्लामा आएर बस्न थालेको देखिन्छ ।
१३ औं शताब्दीमा गुल्मीको धुर्कोटमा आएका गौतम पाध्याय पन्थीको वंशलाई नियाल्दा उनका नाति लक्ष्मणका सन्ततिहरू बसाइँसराइको क्रममा अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोर्खातिर लागेका हुनाले आधिकारिक रूपमा वंश जोडिन सकेको देखिँदैन । त्यस्तै उद्ववका छोरा सदुको पनि वंश विस्तार कतै पाइएको छैन । बसाइँसराइको क्रममा अर्को ठाउँमा गएपछि अर्को अर्को पुस्ताले थर नै परिवर्तन गरेको हुन सक्ने सम्भावना रहेको पाइन्छ ।
भारद्वाज गोत्रीय वाग्लेहरूले आफ्ना पुस्ताहरू गुल्मीको वाग्लाबाट आएको भन्ने आधारहरू पाइन्छन् यी कुराहरू अनुसन्धेय विषय रहेका देखिन्छन् । गौतम पाध्यायका नाति लक्ष्मणका छोरा दुल्लभ पनि गुल्मीबाट पूर्वतिर लागेका हुन् भन्ने भनाइले सदुको वंश खोज्दै गएको सम्भावना देखिन्छ । कतै पन्त र कतै वाग्ले र पन्थी नै लेखिने जेठो बुबा (सदु) र भतिज (दुल्लभ) का सन्तति हुनसक्ने सम्भावना देखिन्छ । खासगरी पाल्पाका पन्थी, लमजुङका पन्थी र गोर्खाका वाग्लेको ऐतिहासिक वंशवृक्ष गुल्मी र अर्घाखाँचीका पन्थीसँग जोडिएको पाइएको छैन ।
यसैगरी वंशावलीको विस्तारका बारेमा माथि दिएको भन्दा केही फरक ढंगले प्रा.डा. लक्ष्मीकान्त पन्थी (हाम्रो पुरुषार्थ, किरण पुस्तकालय, तम्घास गुल्मी) ले प्रस्तुत गरेका छन् । उनका अनुसार सुवेदी वंशबाट जन्मिएका गौतम पाध्या गुल्मीको धुर्कोट वाग्लामा आइ बसेछन् । यिनका सदु, शम्भु, लक्ष्मण र पोम (परमानन्द) पाध्या गरी चार छोरा रहेछन् ।
यीमध्ये तीन भाइ सदु, शम्भु र लक्ष्मण वाग्लाबाट पनि पूर्वतिर लागेर वाग्ले थरले प्रसिद्ध छन् । पोम पाध्याका सन्तानहरू वाग्ला, धुर्कोट, तम्घास, अर्घाखाँचीको माझकोट, हंसपुर, पाल्पाको चिदीपानी, लमजुङ, प्यूठान, दाङ, काठमाडौं आदितिर फैलिएका छन् भने वाग्लेहरू स्याङ्जा, बागलुङ, तनहुँ, गोरखा, काठमाडौं र अझै पूर्वतिर फैलिएका छन् ।
यी माथि प्रस्तुत गरिएका पुस्ताहरूको क्रम र नाममा केही भिन्नताहरू देखिएका छन् । ऐतिहासिक तथ्यांकहरू खोज्दा वा अनुसन्धान गर्दा यस्ता किसिमका भिन्नताहरू आउनु स्वाभाविकै मानिन्छ । ऐतिहासिक कुरालाई खोज्दै खोतल्दै र पुष्टि गर्दै जानुपर्छ । विज्ञानद्वारा प्रस्तुत गरिएको कतिपय सत्य भनिएको कुरा त त्यही विज्ञानले यो अन्तिम सत्य चाहिँ होइन भन्छ भने ऐतिहासिक र सामाजिक विषय त सधैंभरि अनुसन्धेयका विषय बन्छन् । तर पनि सत्य र तथ्य खोज्न लागिरहनु पर्छ । यसको बारेमा अरु कसैको भिन्न विमति छ भने त्यो पनि थप अनुसन्धानको विषय बन्नेछ र यस लेखले अझै पूर्णता पाउनेछ ।
पन्थीहरूको वंशावलीको बारेमा विभिन्न विद्वानहरूले व्यक्तिगत र संस्थागतरुपमा महत्त्वपूर्ण योगदान दिएको पाइन्छ। बुटवलमा केन्द्रीय कार्यालय रहने गरी २०७० सालमा पन्थीहरूको वंशावली, इतिहास र अनुसन्धान गर्ने उद्देश्यले चन्द्रकान्त पन्थीको अध्यक्षतामा गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाज नामको संस्था जिल्ला प्रशासन कार्यालय भैरहवामा दर्ता भएर अध्ययन अनुसन्धानमा निरन्तरता दिएको पाइन्छ। (लेखक अमेरिकाको भर्जिनियामा बस्छन्)