- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली राजनीतिमा दलका नेताहरुले समय समयमा एउटा न एउटा मौसमी खेती लिएर जनतामा भ्रम सिर्जना गरिरहेका हुन्छन् । यिनीहरूलाई जनताको अवस्था कस्तो छ केही मतलब छैन । कुनै दिन पनि देशको विकास र समृद्धिका पक्षमा दलहरूका बीचमा बहस भइरहेको छ भनेर सुन्न पाइएको छैन । कहिले के को नाटक र कहिले के को नौटंकी प्रदर्शन ।
गुटगत र पार्टीगत स्वार्थमा कहाँ र कसरी सत्ता पाइन्छ भन्नेमात्र सोच बोकेर हिँडिरहेका छन् । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्दै उतिखेरै एक अर्कोलाई तथानाम गाली गर्छन् भने उतिखेरै मुख चाटाचाट पनि गर्छन् । कुनै पनि दलमा सिद्धान्त र विचारको राजनीति छैन । यिनीहरूमा स्थिरता र जवाफदेहिता भन्ने छैन जतिबेला जहाँ अवसर पर्छ त्यहीँ मिलिहाल्छन् ।
यिनीहरू जो कोही एकापसमा जुट्दा वा फुट्दा कुनै किसिमको आश्चर्य नै मान्नु पर्दैन । कुनैबेला वामशक्ति एक हुनुपर्छ भनेर एक भएर नाटकीय मञ्चन गरेका एमाले, माओवादी र समाजवादी फेरि वामगठबन्धन गर्ने नाममा चुरिफुरी गरिरहेको देखिन्छ । वामगठबन्धनको विकल्प छैन भनी एकथरी नेता भन्छन् भने एमालेका अध्यक्ष ओलीको समूह चाहिँ यहाँ को वाम छन् र गठबन्धन गर्ने ? भन्दै औंला ठड्याउँछन् ।
ओलीले आफ्नो पार्टीमात्र वाम हो अरु कोही वाम हैनन् भन्दै दम्भ देखाउँदै पनि छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संसदीय चुनावको चहलपहल शुरु हुनलाग्दा नेताहरू आफ्नो ठाउँ सुरक्षित बनाउन पनि वाम तालमेल वा वामगठबन्धनको विकल्प नरहेको भन्दै बाजा बजाउन शुरु गरेका छन् । सैद्धान्तिक दृष्टिकोणले हेर्दा नेपालमा आफूलाई वाम भनिएका यी दलमा कसैमा पनि वाम चिन्तन नै छैन । सबै दाम, पद र सत्ताको पछाडि दौडिरहेका छन् । त्यसकारण वामपन्थीको भजन गाउने यी सबै दामपन्थी हुन् ।
वामपन्थी शब्द व्युत्पादनका दृष्टिले वाम र पन्थीबाट बनेको हो । वाम भनेको बायाँ हो । पन्थी शब्द पथ वा पन्थबाट व्युत्पादन भएको हो । पथ भनेको यात्रा हुनाले यसको राजनीतिक अर्थ धार या विचार भन्ने बुझिन्छ । नेपाली राजनीतिमा वामपन्थी र दक्षिणपन्थी भन्ने शब्दहरूलाई वामपन्थ र दक्षिणपन्थ पनि भनिन्छ ।
खासगरी कम्युनिष्टलाई वामपन्थी र कम्युनिष्ट इतर शक्तिलाई दक्षिणपन्थी भनेर चिनिने गरिन्छ । वामपन्थी र दक्षिणपन्थी शब्दहरू अंग्रेजीका क्रमशः लेफ्टिस्ट र राइटिस्टका नेपाली अनुवाद हुन् । राजनीतिमा लेफ्टिस्ट र राइटिस्ट शब्दको प्रवेश फ्रान्सको व्यवस्थापिकामा राष्ट्रिय सभाबाट शुुरु भएको थियो । फ्रान्समा राज्यक्रान्तिपछि सन् १७८९ मा परिवर्तनका पक्षधर र पुरानै व्यवस्थाका समर्थक दुवैखाले विचारधाराका व्यक्तिहरू राष्ट्रिय सभामा चयन भए ।
राष्ट्रियसभामा नयाँ संविधानको ड्राफ्ट गर्ने काम शुरु हुन थाल्यो । त्यसपछि त्यहाँ राजतन्त्रसहितको पुरानै व्यवस्था कायम राख्नुपर्छ भन्ने पक्षमा रहेका र परिवर्तनको पक्षमा हुनेबीच विभाजन शुरु भयो । यसरी विभाजन हुँदा सभामा पनि उनीहरू छुट्टाछुट्टै बस्न थाले । परिवर्तनको पक्षमा हुने सदस्यहरू सभाहलको बायाँतिर बस्न थाले । पुरानै व्यवस्था कायम राख्नुपर्छ भन्ने पक्षमा रहेका सदस्यहरू दायाँतिर बस्न थाले ।
करिब एक वर्षसम्म यो क्रम चलिरह्यो । राष्ट्रिय सभामा बसेको दिशाका आधारमा पत्रपत्रिकाले उनीहरूलाई लेफ्टिस्ट’ र ‘राइटिस्ट’ का रुपमा स्थापित गराए । बीचमा नेपोलियन बोनापार्टको शासनकालमा दायाँ र बायाँको विभाजन हरायो । जब सन् १८१४ मा फ्रान्समा संवैधानिक राजतन्त्रको शुरुआत भयो, तब प्रगतिशील र परम्परागत राजनीतिक व्यवस्थाका पक्षपातीहरू फेरि दायाँ र बायाँ आआफ्ना ठाउँमा बस्न थाले ।
नेपालका पार्टीका विचार, चरित्र र शैली हेर्दा को वाम हो को दक्षिण हो छुट्याउनै सकिँदैन । वामपन्थीहरूले सिद्धान्तमा अग्रगमन, क्रान्तिकारीता, प्रगतिशीलता जस्ता धेरै राम्रा राम्रा शब्दहरू चयन गरेका छन् तर व्यवहारमा चरम दक्षिणपन्थीको शैली देखाउँछन् ।
१९ औं शताब्दीको मध्यसम्म आइपुग्दा राजनीतिक विचारधाराकै रुपमा फ्रान्समा यो स्थापित भइसकेको थियोे । राजनीतिक धारको चर्चा गर्दा लेफ्टिस्ट र राइटिस्टलाई पनि चरम र मध्यको रुपमा व्याख्या गर्न थालिएको थियो । नेपालमा पनि मध्य वामन्थी, चरम वामपन्थी, उग्र वामपन्थी, चरम दक्षिणपन्थी, मध्यपन्थी भन्ने गरिन्छ ।
फ्रान्समा शुरु भएको केही समयपछि बेलायतको संसद्मा पनि यसको अनुशरण भयो । त्यहाँका दुई ठूला दलले फ्रान्सको सिको गरेर कन्जर्भेटिभ दायाँ र लेबरपार्टी बायाँ बस्ने गर्न थाले । विस्तारै विश्वभर राजनीतिक लाइनका आधारमा प्रगतिशील, क्रान्तिकारी राजनीतिक शक्तिलाई लेफ्टिस्ट र परम्परावादी, यथास्थितिवादी शक्तिलाई राइटिस्ट भन्न थालियो । यहीअनुसार भारत र नेपालमा ‘राइटविङ’ लाई दक्षिणपन्थ वा दक्षिणपन्थी र ‘लेफ्टविङ’ लाई वामपन्थ वा वामपन्थी प्रयोग गर्दै आइरहेकोे हो ।
नेपालका पार्टीका विचार, चरित्र र शैली हेर्दा को वाम हो को दक्षिण हो छुट्याउनै सकिँदैन । वामपन्थीहरूले सिद्धान्तमा अग्रगमन, क्रान्तिकारीता, प्रगतिशीलता जस्ता धेरै राम्रा राम्रा शब्दहरू चयन गरेका छन् तर व्यवहारमा चरम दक्षिणपन्थीको शैली देखाउँछन् । शब्दको प्रवर्तनका दृष्टिले हेर्दा फ्रान्सको राजनीतिमा जेका लागि यी शब्दहरू प्रयोग भएका थिए त्यसको आधारमा आज वर्तमान नेपाली राजनीतिको धार हेर्दा नेपालका पार्टीहरू नेपाली कांग्रेस र कम्युनिष्टहरू वामपन्थी हुनुपर्ने देखिन्छ र राप्रपालगायत राजावादी पार्टीहरू दक्षिणपन्थी धारका हुनुपर्ने देखिन्छ ।
तर अहिले कुनै पार्टीको स्पष्ट कित्ता नै देखिँदैन । कांग्रे्रेसले आफूलाई वामपन्थी भन्न रुचाउँदैन भने कम्युनिष्टहरू आफूहरू वामपन्थी हुँ भनेर गर्व गर्छन् र कम्युनिष्टहरू कांग्रेसलाई दक्षिणपन्थी भन्छन् । तर राप्रपा लगायतले आफूलाई दक्षिणपन्थी हुँ भनेर पूर्ण रुपमा स्वीकार्दैनन् । नेपालका पार्टी जुन धारको अवलम्बन गरेर जस्तोसुकै सिद्धान्त र विचारधारा बोके पनि सबै अवसरवादी र दामवादी नै हुन् ।
कुनै एउटा निश्चित राष्ट्रिय एजेन्डा, जनतालाई दिने सेवा सुविधाको प्रश्नमा र देशको विकास समृद्धिको सवालमा पार्टीहरूको बीचमा तालमेल वा गठबन्धन हुनु अत्यन्तै राम्रो पक्ष हो तर विशेष व्यक्ति, कुनै पद र दलीय स्वार्थको लागि गरिने यस्ता गठबन्धन वा तालमेलको संस्कृति भनेको लोकतन्त्रको विकासको निम्ति अत्यन्तै आघात हो ।
पद, अवसर र सत्ता मिल्छ भने कांग्रेस, कम्युनिष्ट, मधेसवादी, राप्रपा लगायतका सबै दलहरू एउटै बन्छन् ,जुन कुरा हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा स्पष्ट देखिएको हो । कुनै पार्टी फुट्दा होस् वा जुट्दा वा चुनाव तालमेल गर्दा होस् वा सरकार बदल्दा नै किन नहोस् नेपालका पार्टीहरूले वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन आदि नामले शब्दको जालो फाली जनभ्रम सिर्जना गर्न खोज्छन् ।
कुनै एउटा निश्चित राष्ट्रिय एजेन्डा, जनतालाई दिने सेवा सुविधाको प्रश्नमा र देशको विकास समृद्धिको सवालमा पार्टीहरूको बीचमा तालमेल वा गठबन्धन हुनु अत्यन्तै राम्रो पक्ष हो तर विशेष व्यक्ति, कुनै पद र दलीय स्वार्थको लागि गरिने यस्ता गठबन्धन वा तालमेलको संस्कृति भनेको लोकतन्त्रको विकासको निम्ति अत्यन्तै आघात हो ।
जेसुकै भने पनि अन्ततः त्यसमा केवल सत्ता स्वार्थ र लोभ नै लुकेको देखिन्छ । जब कुर्सी र सत्ता पाइन्छ,त्यसबेला वामपन्थी र दक्षिणपन्थी मिलेर एउटा गज्जबको शब्द रोजेर लोकतान्त्रिक गठबन्धन बनाउँछन् ।पार्टीमा निष्ठा र सिद्धान्तको राजनीति नभएपछि जे गर्दा पनि हुन्छ । सत्ता र कुर्सीको लागि जतिबेला जे पनि बन्दिन तयार हुन्छन् । कुनै दल पनि सैद्धान्तिक रुपमा वामपन्थी वा दक्षिणपन्थी छैनन्।सबै दलहरू सत्ता र दाम जताबाट आउँछ त्यतै गठबन्धन वा तालमेल गर्छन् । वाम भनिनेमा दक्षिण र दक्षिण भनिनेमा वामका सबै मान्यता मिल्छन् ।
सबै पार्टीहरू दामवादी वा अवसरवादी धारमा हिँडेको देखिन्छ । यी दामवादी वा अवसरवादीमा आफ्नो नीति आस्था, सिद्धान्त, निष्ठा, विचार एकातिर हुन्छ भने व्यवहार अर्कोतिर हुन्छ । अवसरवादीको मूल ध्येय भनेको कुर्सीमोह र सत्तालिप्सा नै हो । वर्तमान राजनैतिक परिदृश्य हेर्दा नेपालका पार्टीहरू अवसरवादीको बाटो हिँडेका छन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दल भन्दा पनि गठबन्धनका बीचमा प्रतिस्पर्धा देखियो । त्यसबेला पनि कुनै आस्था वा विचारका आधारमा गठबन्धन बनेको थिएन । गठबन्धनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रलाई राम्रै फाइदा भयो भने अरुलाई सोचेजस्तो भएन । पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचनमा एमालेले धेरै क्षति बेहोर्नु पर्यो ।
एमाले यसैको चोटमा रन्थनाएर पाँचदलीय गठबन्धन टुटाउन भित्री वा बाहिरी रुपमा अनेक तरिकाले कार्ड फ्याँकिरहेको छ । सत्ता गठबन्धनको एक शक्ति जसपाले खुट्टो उचाल्न लाएको देखिन्छ । जसपाले स्थानीय निर्वाचनमा गठबन्धनबाट भनेजस्तो सहयोग र उपलब्धि हासिल गर्न नसकेपछि एमालेको शरणमा पुग्ने सम्भावना पनि देखिन्छ ।
कांग्रेससित गठबन्धन गरेर जाँदा आगामी संसदीय निर्वाचनमा शीर्षस्थ नेताले नै पराजय भोगिने हो कि भन्ने डरले माओवादी, नेकपा एस र जसपाका केही नेताहरू वामगठबन्धनको बाजा बजाइरहेका छन् । पाँचदलीय गठबन्धनबाट स्थानीय निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको कांग्रेसलाई आफ्नो पार्टी कसरी चलाउने भन्दा पनि कतै गठबन्धन टुट्ने हो कि भन्ने ठूलो शंका र डर छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन जोगाउन मुस्किल हुँदै गएको देखिन्छ ।
यसले गर्दा लोकतन्त्रमा पार्टीहरूलाई झन कमजोर बनाउँछ । नेपालको लोकतन्त्रले बामे सरिरहेको अवस्थामा पटक पटकका बाधा र अवरोधले यो उठ्न र बलियो हुन सकेको छैन । लोकतन्त्रमाथि विभिन्न बहानामा खेलबाड गरिएको छ । यसको सम्पूर्ण दोष भनेको नेपालका दलहरूको अपरिपक्वता, असक्षमता र उनीहरूको सत्तालिप्सा नै हो ।
दलहरूले राजनीतिलाई सेवा नभइ पेशा र कमाउने धन्दा बनाइरहेका छन् । दलहरूले क्षणिक फाइदा र दलीय स्वार्थका लागि एकापसमा गर्ने यस्ता गलत प्रवृत्तिका गठबन्धन वा तालमेलका संस्कार र संस्कृतिप्रति नेपाली जनता सधैं नै अत्यन्तै सचेत र चनाखो हुनुपर्ने देखिन्छ । (लेखक पन्थीले अमेरिकाको भर्जिनियालाई आफ्नो कर्मभूमि बनाएका छन्)